हुमाकान्त पोखरेल
गुल्मी । धुर्कोट गाउँपालिकाले शैक्षिक प्रतिवद्धता पुरा गर्न ७१ लाख ५० हजार विनियोजन गरेको छ । गाउँपालिकाले पौष १३ १४ गते ‘धुर्कोट शैक्षिक गोष्ठी’ को आयोजना गरेको थियो । गाउँपालिकाभित्र शैक्षिक गुणस्तर बृद्धि गर्न २२ गाउँपालिकाले २२ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ ।
त्यसमा बालबिकास केन्द्रलाई थप प्रभावकारी बनाउने, विद्यार्थीहरुको आन्तरिक क्षमता बृद्धिको लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्न सहयोग गर्ने, निरन्तर विद्यार्थी मूल्याकंन गर्ने लगायतका निर्णय गरेको थियो । तिनै प्रतिवद्धतालाई कार्यान्वयन गर्नको लागि विद्यालयलाई बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए । आर्थिक बर्ष २०७५÷७६ को बजेटबाट गाउँकार्यपालिकाको बैठकले विभिन्न विद्यालयहरुलाई फरक–फरक शिर्षकमा उक्त रकम वितरण गर्ने निर्णय गरेको हो ।
आईसिटी ब्यवस्थापनतर्फ वाग्ला माध्यमिक विद्यालय र धुर माध्यमिक विद्यालयलाई प्रति विद्यालय ६ लाख ५० हजारका दरले १३ लाख विनियोजन गरिएको छ । पुस्तकालय ब्यवस्थापनतर्फ तिन विद्यालयलाई छ लाख ५० हजारका दरले १८ लाख ५० हजार विनियोजन गरिएको छ । इन्दिरा माध्यमिक विद्यालय, नवज्योती माध्यमिक विद्यालय, र जनज्योती आधारभूत विद्यालले पुस्तकालय ब्यवस्थापनतर्फको रकम पाएका हुन् ।
विज्ञान प्रयोगशालातर्फ हिमालय माध्यमिक विद्यालय र निन्यूखर्क माध्यमिक विद्यालयलाई ६ लाख ५० हजारका दरले १३ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख ध्रुव पन्थीले जानकारी दिए । गाउँपालिकाका दुईवटा विद्यालयमा शैचालय समेत छैनन । यसै अवस्थालाई मध्यनजर गर्दै धुर्कोट गाउँपालिकाले प्रति विद्यालय सात लाखका दरले दुई विद्यालयलाई शैचालय निर्माणको लागि बजेट विनियोजन गरेको छ । भगभती माध्यमिक विद्यालय र निन्यूखर्क माध्यमिक विद्यालयले शैचालयतर्फको रकम पाएका छन् ।
तिन विद्यालयलाई आधारभूत तहमा अंग्रेजी, गणित र विज्ञानका शैक्षिक सामाग्री निर्माणको लागि बजेट विनियोजन गरिएको छ । ज्ञानोदय माध्यमिक विद्यालय, सोमरभोमर माध्यमिक विद्यालय र गणेश माध्यमिक विद्यालयलाई प्रति विद्यालय ५० हजारका दरले बजेट विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत मधु प्रसाद घिमिरेले जानकारी दिए । पाचँवटा विद्यालयलाई कार्यसम्पादनमा आधारित अनुदान प्रदान गर्ने निर्णय गरिएको छ ।
वाग्ला माध्यमिक विद्यालय, निन्यूखर्क माध्यमिक विद्यालय, सोमरभोमर माध्यमिक विद्यालय, भागभती माध्यमिक विद्याय र नयाँगाउँ माविलाई प्रति विद्यालय ५० हजार राशिको अनुदान प्रदान गरिने भएको छ । भने ज्ञानोदय माविलाई दुई लाख राशिको कार्य सम्पादनमा आधारित अनुदान प्रदान गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले पालिकाभित्रका बालविकास केन्द्रको नयाँ ब्यवस्थापनका लागि पनि बजेट विनियोजन गरेको छ । जसका लागि छ विद्यालयलाई एक÷एक लाखका दरले बजेट विनियोजन गरिएको छ । इन्दिरा मावि, सोमरभोमर मावि, भगवती मावि, ज्ञानोदय मावि, नवन्योती आधारभूत विद्यालय र जनज्योती आधारभूत विद्यालयले बालविकास केन्द्रको बजेट पाएका हुन् ।