उदयपुर । युवा गरीबीका कारण धन कमाउन विदेश जानेक्रम बढ्दो छ । आत्मविश्वास र लगनशीलता भए पैसा कमाउन विदेश जानुपर्दैन, देशमै राम्रो आम्दानी र इज्जतका साथ बस्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्, कृष्ण बास्तोला।
कृष्ण आम्बासीस्थित आफ्नै घरमा बसी केही जग्गा भाडामा लिएर पाते र डल्ले च्याउको खेती गर्छन् र सिन्धुली, बर्दिवास, काठमाडौँ, धरान, बसाहा, गाईघाटसम्म आफूले उत्पादन गरेको च्याउ बिक्रीका लागि पठाउँछन् । उनलाई बजारको कुनै समस्या छैन । यस पेशाबाट उत्साहित भएर उनी त अझै सुनसरी र धनकुटाको भेडेटारमा समेत आफ्नो च्याउखेती विस्तार गर्ने सुरमा छन् ।
आम्बासीमा भाडामा लिएको दुई ठाउँको दश÷दश कट्ठा जग्गामा उनले २२ वटा टहरा बनाएर पाते र डल्ले च्याउको खेती गर्दैआएका छन् । ‘लगानी अहिलेसम्म १ करोड रुपैयाँ पुगिसक्यो र अझ विस्तार हुँदैछ’ उनी भन्छन् ‘डल्ले च्याउ र ४ सय रुपैयँँ प्रतिकिलो र पाते च्याउ प्रतिकिलो १ सय ५० मा बिक्री हुन्छ ।’ पूर्वाञ्चलमा डल्ले च्याउको खेती गर्ने त उनी नै पहिलो किसान हुन् ।
पारिवारिक स्थिति दयनीय र केवल ५ कक्षासम्म मात्र पढेका उनी कोइलाखानीमा काम गर्न भारतको मेघालयस्थित खसिया हिल गइरहन्थे । यसबाट घरको आर्थिक अवस्था खासै सुध्रिएको थिएन ।
२०६८ मा सालमा कतार गए । त्यहाँ नेपालीले भोगेको हेपाइ, कष्ट, अन्याय, अत्याचार सबै देखेका उनी त्यहाँ एक वर्ष पनि टिक्न सकेनन् । यति दुःख गर्दा त आफ्नै देशमा धेरै काम गर्न सकिन्छ भनेर तत्काल नेपाल फर्के । उ
घर फर्कंदा ऊसँग पैसा होइन कतार जाँदाको ऋण मात्र थियो । उनको अनुभव छ, ५ सय रुपैयाँ पनि कसैले ऋण पत्याएनन् । कतारबाट फर्केर उनले कुखुरापालन व्यवसाय पनि गरे तर, धेरै कुखुरा मरेपछि त्यसबाट पनि खासै लाभ भएन । ऋण धेरै लागेकाले त्यो ऋण तिर्न २०७० जेठमा फेरि उनी मेघालय गए । त्यहाँ खानी भित्रै लडे र संयोगले बाँचे । कसैले उद्धार गरेर बाहिर ल्याइदियो । पछि उनका बुबा पनि भारतमै भएकाले आएर उपचार गराइदिए । घर फर्केपछि उनलाई ८० वर्षीय हजुरबुबाले पनि धरानको घोपामा थप उपचारको प्रबन्ध गरिदिए ।
यसैबीच, मलेशियाको प्रवेशाज्ञा नमिलेकामा उड्ने बेलामा ३० जनामध्ये उनको मात्र टिकट रद्द गरियो । टाउकोमा तथा हातमा चोट भएकाले यस्तो मान्छेले काम गर्न सक्दैन, पठाउन मिल्दैन भनेर मेनपावरले उनलाई रोकिदियो । ‘गोजीमा र १० नहुने दिन पनि गुजारे’ उनले स्मरण गराए, ‘साइकल मर्मत गर्न र५० पनि हुँदैनथ्यो, दुःख पर्दा र ५ पनि कसैले पत्याउँदैनथ्यो ।’
उनले २०६९ सालदेखि च्याउखेती शुरु गरे तर शुरुमा खासै राम्रो भएन । पछि २०७१ चैतमा पुनः ऋण गरेर अशक्त हातले र ९ हजार लगानी गरेर २०० पोका च्याउ लगाएपछि भने त्यसबाट पहिलो चोटि र ६५ हजार नाफा भयो ।
एक वर्ष अगाडि सप्तकोशी एफएम सुन्दै गर्दा त्यहाँ च्याउको बीउ चाहिएमा सम्पर्क गर्नू भनी बजाइएको विज्ञापन सुने र बुझ्दै जाँदा काठमाडौँको नागार्जुन नगरपालिकामा ऋषिलाल तामाङको च्याउ फार्ममा पुगे । त्यसपछि भने उनको भाग्य बदलियो । ‘ऋषिलाल तामाङको सहयोगले आज म यो ठाउँमा छु’ उनले सुनाए ‘उहाँ च्याउखेती गरेर उत्कृष्ट किसानको पुरस्कार पाइसक्नु भएको रहेछ । उहाँले मलाई धेरै कुरा सिकाउनुभयो । उहाँले १५÷१६ लाखको त बीउ नै दिनुहुन्छ, उहाँ धेरै हौसला दिनुहुन्छ ।’ उनी तामाङलाई देवता सरह मान्छन् । तामाङले एकजना प्रविधिज्ञ पनि पठाइदिएको उनी सुनाउँछन् ।
‘च्याउ खेती गर्दा जोखिम रहेछ तर, जोखिमसँग कसरी सामना गर्नुृपर्छ भन्ने बुझिसकेँ’ उनले भने । आम्बासीको वगाहा टोलमै हिमाली च्याउ उद्योग खोलेपछि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको लघुउद्यम विकास कार्यक्रममार्फत पनि च्याउ खेतीबारे तालीम प्राप्त गरेको युएनडिपीका प्रदेश १ र २ का संयोजक धनबहादुर चन्दले जानकारी दिए ।भोजपुरको देवन्टारमा जन्मेका ३० बर्षीय बाँस्तोलाको प्रगति अपत्यारिलो छ । उनी अब बोयर जातको बाख्रापालन, भैँसीपालन तथा वर्णशङ्कर घाँस पनि उत्पादन गर्ने योजनामा छन् । उनको खेतीमै उत्पादित च्याउबाट उदयपुरको गाईघाटमा च्याउको मो मो पनि बनाएर वेच्न थालिएको छ र ग्राहकले पनि त्यसलाई रुचाएका छन् ।
‘अब भिसा लागे पनि विदेश जान्न’ उनले भने, ‘मलाई त कोरिया, जापान, अमेरिका यहीँ छ ।’ हुन पनि उनले २२ वटा टहरामा गरेको च्याउ व्यवसायबाट वार्षिक रु ६०÷७० लाख रुपैयाँ बराबरको उत्पादन हुन्छ । सबै खर्च कटाएर पनि वार्षिक १०÷१२ लाख आम्दानी हुन्छ । उनले १५÷१६ जनालाई प्रत्यक्ष र अन्य समेत गरी ३५ जना जतिलाई रोजगारी दिएका छन् ।