खेम बमबाजुराको बुढीनन्दा नगरपालिका अहिले स्तब्ध बनेको छ । मंगलबार राति छाउगोठमा सुतिरहेको अवस्थामा एक महिला र दुई छोराको मृत्युको खबरले अगाउँपानी गाउँ शोकमा डुबेको हो । साँझको खाना खाएर सुत्न गएकी ३५ वर्षीया अम्बा बोहरा, १२ वर्षीय छोरा सुरेश र ९ वर्षीय रमितको एकै चिहान बन्यो । रातिको चिसो छल्न् गोठमा आगो बालिएको थियो । बलिरहेको आगो मत्थर भएसँगै उनीहरु सुते । आगो कोइला नहुँदै बचेका काठका टुक्रा जलेपछि धुवाँ निस्कियो । खुट्टापट्टी बालेको आगो ओछ्यानमा सल्कियो । बचाउ–बचाउ भन्न नपाउँदै ज्यान गयो ।
अम्बा महिनावारी भएको चौथो दिन भएको थियो । छोराहरुले पनि आमासँग सुत्न ढिपी गरे । नाबालकहरुले आमासँग सुत्न ढिपी गर्नु स्वभाविक हो । सधैँझै उनीहरु सुत्न गएका थिए । अँगेनामा बालेको आगोले यसरी ज्यान लिन्छ भन्ने कसरी सोच्न सक्थिन अम्बाले । महिनावारी भएको बेला यो उनको दैनिकी नै थियो । बिहिबारको दिन, एकाबिहानै उठ्ने बुहारी नआएपछि सासु विसु बोहरा उठाउन गइन् । त्यहाँ गोठभित्र जलेको अवस्थामा फेला परिन् अम्बा र दुई नाबालक नाती । अम्बाका खुट्टा जलेका थिए, ओछ्यान शरीरमा लपेटिएको थियो । जेठा छोरा सुरेशको मुखबाट रगत बगेको थियो । विसु आत्तिइन् र गाउँलेलाई गुहार मागिन् । गाउँले आएर तीनै जनालाई बाहिर निकाले । सबै अस्ताइसकेका थिए ।
गाउँमा रुवाबासी चल्यो । एकै परिवारका तीनजनाको मृत्यु भएपछि सबै स्तब्ध बने । दुई नाबालक नातीको मृत्युले निकै भक्कानिइन् विसु । प्रहरीलाई खबर गरियो । प्रहरी घटनास्थल पुग्यो । शवको पोस्टमार्टमका निम्ति तीनै जनालाई कोल्टी स्वास्थ्य चौकीमा राखिएको छ । घटनास्थल सदरमुकाम मार्तडी र कोल्टीको बीचमा पर्छ । मार्तडीदेखि ३ घण्टाको कच्ची सडक पार गरेपछि घटनास्थल पुगिन्छ । पान्डुसेन लेकाली क्षेत्र हो । त्यहाँ अहिले निकै चिसो छ । गोठमा आगो नबालेर बस्न सकिँदैन । सधैँ आगो बालेर सुत्ने अम्बाले मंगलबारपनि आगो बालेर सुतेकी थिइन् ।
अम्बाका .श्रीमान काँसी बोहरा मजदुरी गर्न भारतको पिथौरागढमा छन् । उहाँ बिहिबार(आज) मात्रै घर पुग्ने बुझिएको छ । उहाँ पुगेपछि मात्रै अन्तिम संस्कार गरिनेछ । घरमा सासु–ससुरामात्रै थिए । तीन भाई अलग भइसकेका छन् । काँसी माइला हुन् । मृतक नाबालक सुरेश नजिकैको हिमाली प्राविमा कक्षा ३ मा अध्ययनरत थिए । उनका भाई रमित कक्षा १ मा पढ्थे । उनीहरुको मृत्युले हिमाली प्राविपनि शोकमग्न बनेको छ । बाजुराका अधिकांश ठाउँमा घरसँगै जोडिएका साना छाउगोठ अझै कायमै छन् । पान्डुसेनसहित साविकका ६ गाविस छाउगोठमुक्त भएतापनि हालत उस्तै छ ।
गोठ भत्किए, मन भत्केनन्ःबाजुरामा धेरै क्रियाशील एनजिओ/आइएनजिओले छोपडी प्रथाको उन्मुलनका क्षेत्रमा काम गरिरहेका छन् । तस्बिर खिचेर डोनर भित्र्याउने संघसंस्थाको समेत कमि छैन । तर हालत उस्तै छ । जब घटना हुन्छ, संघसस्थाले आफ्नो कर्तव्य बिर्सेर त्यहाँको परिवेश र प्रणालीलाई दोष दिन्छन् । त्यहाँका गन्नेमान्ने संघसंस्थाको विरुद्ध खनिन्छन् । त्यहाँ ‘सेटिङ’ मिलाउने बाहेक सर्वसाधारणका दुःख जस्ताको त्यस्तै हुन्छन् । लामो समय काम गरेका संस्थाले अझै छाउपडीप्रथाको उन्मुलन गर्न सकेनन् ।
स्थानीय तह गठन भएको एकवर्ष भन्दा बढी भयो । तर कुप्रथाका रुपमा रहेको छाउपडी उनीहरुको मुख्य एजेन्डा बन्नुपर्ने, बनेन । पहाड फुटाउन सक्रिय बनेको स्थानीय तह मानिसको ज्यानका बिषयमा संवेदनशील नबनेको त्यहाँका स्थानीयको आरोप छ । बृहत्त कार्यक्रमका माध्यमबाट यसको अन्त्य गर्नु गाह्रो बिषय होईन । अर्बौ बगाएर भित्र कोठामा सुत्न बनाउन नसक्ने एनजिओ/आइएनजिओको चौतर्फी आलोचना भएको छ ।