जोसेफ शाहीकाठमाडौं । यी बालक देख्नेबित्तिकै ‘मानिस परिस्थितिको दास हो’ भन्ने सम्झन पटक्कै समय लागेन । के यिनलाई स्कुल ड्रेस र टाइ लगाएर विद्यालय जाने रहर छैन होला ? के यिनलाई न्यानो लुगा लगाएर सिरकमा गुटुमुटिँदै ‘मोटु पत्लु’ हेर्ने रहर छैन होला ? तर, विडम्बना पुसको कठ्यांग्रिने जाडोमा यी बालक दैनिक ४ घण्टा चिया पकाउन अभ्यस्त हुन्छन् । काठमाडौंकै रिङरोडभित्र प्रसुतिगृहको छेउैमा बेलुकी ७ बजेदेखि ११ बजेसम्म चिया पकाउँछन् । भारतको बिहार राज्यस्थित मोतिहारी स्थायी घर भएका करिमन कुमार मुस्किलले १४ वर्ष पुगे होलान् ।
त्यति सजिलो कहाँ छ र ! पुसको जाडो त छदैँछ, त्यसमाथि ग्राहकको दुव्र्यवहार र प्रहरीको डरले पनि उस्तै बाघझाप्पु बनेर उनलाई सताइरहन्छ । राति ११ बज्ने बित्तिकै हतारमा पसल बन्द गरेर सुत्ने थातथलो पुग्नु पर्छ ।
भौगोलिक दृष्टिले नेपाल र भारत छिमेकी देश हुन् । तर यी बालकका लागि त परदेश नै हो नेपाल । आमाबुबा र भाइबहिनी छाडेर चिया उमाल्नु यिनको रहर मिस्रित बाध्यता हो । यति ठूलो आत्मविश्वासका साथ चिया पकाउने यी बालक निर्बाधरुपमा पढ्न पाए अझ कति फराकिलो बन्थ्यो होला यिनको आत्मविश्वास । अनि यति छिटो चम्चा चलाउने यी बालकको हातमा चिनी र चियापत्तीको साटो कापी कलम हुनुपर्ने होइन र ?
राति ९ बजेतिर हामी प्रसुति गृहको बाटो हुँदै घर जाँदै थियौँ । अत्यधिक जाडो भएकाले चिया खान मन लागिरहेको थियो तर अधिकांश पसल बन्द भइसकेका थिए । प्रसुति गृह अगाडि केही मान्छे चिया पिइरहेको देखेपछि हामी पनि पुग्यौँ । करिमनलाई शुरुमै सोधेँ, ‘बाबु चिया कपको कसरी हो ?’ भने, ‘२० रुपैयाँ ।’ साथी र मैले २ कप चिया र एउटा डोनट खायौँ । अनि पैसा कति भयो बाबु भन्दा जवाफमा उनले भने ३० रुपैयाँ । जबकि हामीले ६० रुपैयाँ तिर्नुपर्ने थियो । हुुन त पढ्नु पर्ने बेलामा चिया उमाल्न बिबस यी करिमन नसिकेको हिसाब निकालुन् कसरी ? यस्तो लाग्यो, करिमन चियासँगै आफ्ना सपना पनि उमाल्दैछन् ।
‘चिया पकाएबापत कति पैसा कमाउँछौ ?’ प्रश्नमा उनले भने, ‘५ हजार ।’ अनि कमाएको पैसा के गर्छौ भन्दा उनले घरमा पठाउँछु भने । हामीले उनीसँग कुरा गर्न धेरै प्रयास गर्यौँ तर उनी लजाए या क्यामरा देख्दा डराए । हामीसँग खुलेर कुरा गरेनन् करिमनले ।
प्रसुति गृहको छेउमा मात्र होइन, नयाँ बसपार्क, कोटेश्वर र कलंकीलगायत राजधानीका विभिन्न ठाउँमा करिमन जस्ता दर्जनौँ बालबालिका बालश्रम शोषणको शिकार बनेका छन् । बालश्रम गर्ने–गराउने जोकोही कानुनको नजरमा दोषी हुन् । यस्ता निकृष्ट कार्य गराउनेलाई कानुनी कठ्घरामा उभ्याउन राज्य र प्रशासन जिम्मेवार बन्न जरुरी छ ।
आफूलाई उदाउँदो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ठान्ने देश भारत अनि चिया पकाउँदाको पीडा मजैले अनुभूत गरेका प्रधानमन्त्री नरेन्द्र मोदी भोलिका राष्ट्रका कर्णाधार भनिने यस्ता बालबालिकाको सवालमा कहिले जिम्मेवार बन्लान् ? जन्मेर पोलियो थोपा पिउँदै कुद्न सक्ने भएपछि चिया पकाउन र बेच्न श्रमशिविर आउने यस्ता भारतीय बालकको सपाट नियति हेर्दा उदाउँदो अर्थतन्त्रमा मोदी र भारतको प्रवेश सहजै होला र ?
https://www.youtube.com/watch?v=Of7eci3UxOs