प्रिमेश शिवाकोटीरौतहट । आफ्नो काम छाडेर अरुको सेवा गर्ने कमै मनकारी भेटिन्छन् यो समाजमा । आफै गरिब, मजदुरी गरेर परिवार पाल्ने एक रिक्साचालकलाई जाडो शुरु हुनासाथ भ्याईनभ्याई हुन्छ । उहाँलाई रिक्सामा यात्रु राखेर पैसा कमाउने होईन । जाडो मौसममा अरुको सेवा गर्न भ्याईनभ्याई हुने गर्छ ।
समाजसेवाको नाममा ठगेर खानेको कमी नभएको यो समाजमा गरिब, असहायलाई सहयोग गरेर उदाहरणीय पात्र बनेका छन् रौतहटका रिक्साचालक केदार तिमलसिना । उहाँले अरुको सेवा गर्न धन नै चाहिन्छ भन्ने कुरालाई गलत साबित गर्नुभएको छ । ई—रिक्सा चलाएर दिनभरीमा चारदेखि पाँच सय रुपैयाँ कमाएर परिवार पाल्दै आएका तिमलसिना यतिखेर जाडोमा दलित बस्तीमा न्यानो कपडा बाँड्दै हिड्नुभएको छ ।
दिनभरी यात्रु अनि उनीहरुको सामानको भारी बोकेर पसिना बगाएपछि मात्रै आफ्नो घरमा चुल्हो बल्ने स्थितिमा रहेका जिल्लाको चन्द्रपुर नपा ४ कप्तान टोलका ४० वर्षीय तिमिल्सिना अहिले जिल्लाको उत्तरी भेगका अधिकांश दलित बस्तीहरुमा आफ्नै रिक्सामा कपडा राखेर समाज सेवामा लाग्नुभएको छ । मुटु काम्ने जाडोमा न्यानो लुगा लगाउन नपाएर मान्छे कठ्यांग्रिएर मरेको देख्दा र सुन्दा निकै दुःख लागेकाले आफुले न्यानो कपडा बाँडने अभियान सुरु गरेको उहाँ बताउनुहुन्छ ।
तिमिल्सिना भन्नुहुन्छ, ‘राज्यले गरीबलाई हेर्ने कहिले हो कहिले,मरे पछि राहत दिएर के गर्नु त्यसैले लुगा बटुलेर बाड्न शुरु गरेँ ।’ आर्थिक अवस्था कमजोर भएकैले शुरुमा रौटहटकै एक टायल कारखानामा दैनिक ५० रुपैयाँ ज्यालामा मजदुरी गरेका उहाँले केही समय ज्यामी काम पनि गरेको बताउँदै अहिले रिक्सा चलाएर जिविकोपार्जन गर्दै आएको सुनाउनुभयो । उहाँ रिक्सा चलाएरै बरु आफूले नखाएरै अरुको दुखमा सहयोग गर्न अगाडि बढेका एक सामाजिक पात्र हुन् । शुक्रबार उहाँले चन्द्रपुर ९ को मुसहर बस्तीमा गएर ८० जना भन्दा बढीलाई न्यानो कपडा बितरण गर्नुभयो । अघिल्लो साता चन्द्रपुर–३ गैंडाटारमा समेत उहाँले ३० जना बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको थियो । जाडो बढ्दै गएकाले न्यानो कपडाका लागि दाताहरुसँग कुराकानी समेत गरिरहेको र थप कपडा आएपछि बाँड्दै जाने उहाँको भनाइ छ ।
यसअघिका वर्षहरुमा पनि शितलहर पीडित, बाढीपीडितहरुलाई उहाँले न्यानो कपडा, खाद्यान्न वितरण गर्नुभएको थियो । अघिल्लो बर्ष मात्रै चिसोका कारण रौतहटमा २३ जनाले ज्यान गुमाउनुपरेकाले यो बर्ष अझ बढी न्यानो कपडा बाँडने लक्ष्य राखेको रिक्साचालक तिमल्सिना बताउनुहुन्छ । आफैं गरिबी र दुःखको भूमरीमा जीविकोपार्जन गर्दै आएका रिक्साचालक तिमल्सिनाको मन भने कुनै अर्बपतिको भन्दा पनि विशाल छ । राज्यले पनि यस्ता मनकारी समाजसेवीको कदर गर्नुपर्छ, समाजले प्रोत्साहन गर्नुपर्छ ।