आमनागरिकलाई सबैभन्दा चाँडो सूचना र विचार पुर्याउने अनलाइन पत्रकारिताले केही वर्षदेखि नेपालले उल्लेख्य फड्को मारेको छ । आधारभूत रूपमा अनलाइन पत्रकारिताले प्रचलित पत्रकारिताकै मूल्य मान्यता र सिद्धान्तमा आधारित हो । न्यू मिडियोको रुपमा आएको अनलाइन पत्रकारिता नयाँ माध्यम भएकाले यसका लागि चाहिने थप सीप र परिवर्तनका कारण स्थापित मिडिया, पत्रकार र पत्रकारिताकामा समेत यसले केही रुपान्तरण गरेको छ ।
न्यू मिडिया प्रभावका हिसावले शक्तिशाली बन्दै गएपछि कतिपया ठुला भनिएका मिडियाहरु हराउने र केही नयाँ मिडियाको उदय हुनु वा पुराना मिडियाको भूमिका र अवस्था परिवर्तन हुने कुरा नौलो भएन । प्रविधिको विकाससँगै विकसित पत्रकारिताको यो कान्छो रुपले अहिले विश्वभर पत्रकारिताको संस्थापनलाई जीवित रहन पनि अनलाइन संस्करणमा जानै पर्ने बाध्यता बनेको छ ।
अनलाइन पत्रकारितामा संख्यात्मक विकास ठूलो भएको छ । पत्रकारपिच्छे न्यूज पोर्टल हुनेगरी संख्या वृद्धि भइरहेको छ । तर, सबै न्यूज पोर्टलको तथ्यांक सम्बन्धित निकायमा छैन । सामाजिक सञ्जालमा शेयर हुने समाचारबाट कतिपय न्यूज पोर्टलबारे जानकारी हुन्छ । आफू केन्द्रीत समाचार प्रकाशन गरेर सामाजिक सञ्जालमा शेयर हुने गर्छन् । लाइकका लागि फेसबुकको मेसेन्जरमा अनुरोध आउने गर्छन् । त्यही न्यूज पोर्टलको समाचारहरु स्थानीय र राष्ट्रिय पत्रपत्रिकामा प्रकाशित हुन्छन् । तर साभार उदृत गरिदैनन् । प्रिन्टलाइन मिडिया र इलेक्ट्रोनिक मिडियाहरुको अधिकांश न्यूजको आधार त्यही अनलाइन न्यूज पोर्टल बन्छन् र बन्नेगरेका छन् ।
अहिलेको युग सूचना प्रविधिको युग हो । मान्छेको हातहातमा स्क्रीनटच मोबाइल छन् । मोबाइलमै अनलाइन न्यूज पोर्टलका समाचारहरु उपलब्ध छन् । रेडियो एफ.एम. त्यही मोबाइल सेटमा प्रशारण हुन्छन् । छिनछिनमा पाठकले त्यही प्रविधि प्रयोग गरेर आफूलाई अपडेट बनाइरहेको हुन्छ । न्यू मिडियाको प्रयोग बढेसँगै पत्रकारलाई पनि थप जिम्मेवार र संवेदनशील हुन आवश्यक छ । प्रिन्ट मिडियाको समाचारभन्दा बढी पहुँच अनलाइन मिडियामा पाठकको छ । अहिले नेपालमा इन्टरनेटमा प्रत्यक्ष पहुँच हुने नागरिकको संख्या दिनहुँ बढ्दै छ । त्यसैले पनि सही र तथ्यपरक सूचना तथा समाचार पस्किन पत्रकारको ठूलो जिम्मेवारी बनेको छ । ख्यालख्यालमा गरिने पत्रकारिताले समाजलाई ठूलो समस्यामा पार्नसक्छ । न्यू मिडियामार्फत् गरिने पत्रकारिता अहिले परिपक्व भइसकेको छैन । सामाजिक सञ्जाललाई पनि अहिले न्यू मिडियाको कोटीमा राख्ने गरिएको छ । सामाजिक सञ्जालमा जोकोहीले सूचना पोष्ट गरिदिनसक्छ । त्यो सूचना तथ्यपरक होस् कि नहोस् । कसैले आफ्नो लाइक बढाउनका लागि तथ्यहिन सूचना प्रेषित गरिदिने गर्छ । कसैले सेलेव्रेटिका लागि पोष्ट गर्छ । सञ्जालमा आउने सबै सूचनाहरु आधिकारीक हुँदैनन् । त्यसलाई पाठकले त्यही रुपमा बुझ्नुपर्छ । सूचनालाई भेरिफाइ गर्नुपर्छ । सामाजिक सञ्जालमा सूचना सम्प्रेषण गर्ने सबै पत्रकार होइनन् । यो हेक्का पाठकले गर्नुपर्ने आवश्यकता छ ।
अनलाइन मिडियाको संख्यात्मक वृद्धि अनि सूचना प्रवाह र सेयर गर्न सकिने सोसल मिडियामा सबै खालका नागरिकको बढ्दो पँहुचका कारण इन्टरनेटका कतिपय गलत सूचना र हल्लाले स्थान पाइरहेका छन् । त्यसैगरी आम नागरिकमा सूचना साक्षरताको कमी रहेको अवस्थामा अनलाइनमा देखिएका सबैखाले भ्रामक सूचनाका लागि तारो चााही अनलाइन मिडिया बन्न पुगेको छ । अनलाइनले लोकप्रियताकै लागि सनसनिपूर्ण हेडलाईन र फोटोहरु प्रयोग गरेर पत्रकारिताकै विश्वसनीयतामाथि प्रश्न उठ्ने गरेको छ । पत्रकार आचारसंहितामा बिभत्स दृष्य देखाउन नपाइने व्यवस्थता गरिएको छ । तर अनलाइनहरुले समाचार बकिाउनकै लागि आचारसंहिताको अक्षरस पालना गरेका छैनन् । यसको अनुगमनको जिम्मेवारी पाएको निकायले प्रभावाकारी भूमिका निर्वाह नगर्दा अनलाइन पत्रकारितामा विकृति भित्रिएको छ ।
नेपालमा पनि स्थापित छापा र विद्युतीय पत्रकारिताका चुनौतीका रूपमा अनलाइन पत्रकारिताको उदय भएको छ र विश्वका अन्य देशहरूमा जस्तै ढिलोचाँडो अनलाइन पत्रकारिता मूलधारको आमसञ्चारमाध्यम बनेर सबैभन्दा अगाडि आउने कुरामा कसैको बिमति नहोला । हालैको समयमा नेपालमा जुनस्तरमा स्थापित पत्रकारहरूले अनलाइन पत्रकारितामा रुचि देखाउने र जसरी यो क्षेत्रमा अवसर देखेर लगानी आएको छ त्यसले नेपाली पत्रकारिता क्षेत्रमा सकारात्मत परिवर्तनहरू ल्याएको देखिन्छ । बढ्दो प्रतिस्पर्धाका कारण फरक स्वाद र विषयवस्तुका समाचार र विचारहरूसँग नागरिकको पहुँच बन्ने, स्थापित मिडियाले गरिआएको अजेण्डा निर्माणको भूमिकालाई चुनौती दिने मात्रै होइन, श्रमजीवी पत्रकारहरूका लागि पारिश्रमिकलगायतका सुविधाहरूमा समेत सकारात्मक परिवर्तन अनलाइन पत्रकारिताले ल्याएको छ । यसले बहुलवादी समाज र लोकतन्त्रलाई बलियो बनाउनसमेत मद्दत गर्छ ।
यद्यपि नेपालमा अनलाइन पत्रकारिता पछिल्लो समयमा बदनाम बनेको छ । विशुद्ध पत्रकारिता नभई पत्रकारिताका मूल्य–मान्यता विपरितका निश्चित केही स्वार्थ बोकेका केही अनलाइनहरु, नेपाली आमनागरिकमा रहेको मिडिया एवं सूचना सारक्षताको कमी र अनलाइन सञ्चारमाध्यमका सबै पक्षका बारेमा स्पष्ट हुन नसकेका नीति निर्माताहरुका कारण अनलाइन पत्रकारिताका सकारात्मक पक्ष ओझेलमा परेर नकारात्मकताको पक्षपोषण भएको छ । पत्रकारिताको नाममा दलगत वा दल विशेषका गुटगत पक्ष वा निश्चित व्यक्ति वा संस्थाको पोषण गर्न खोलिएका वा इन्टरनेटबाट आम्दानी गर्ने अवसरलाई उपयोग गर्न चोरेका समाचार र बिक्ने शीर्षकका भरमा चलाइएका अनलाइनहरुमा पत्रकारिताका सामान्य मूल्य मान्यतासमेत पालना नगरेको सामग्रीहरू देखिन्छ । सूचना साक्षरता कम भएका हामी धेरै नेपालीहरुमा समाचारलाई आलोचनात्मक रुपमा विश्लेषण गर्ने क्षमता कम छ जसले अरुका गलत कार्यका कारण पत्रकारिता बदनाम भइरहेको छ ।
(अशोक, जनता टेलिभिजनका समाचार सम्पादक हुन्)