भारत । अभिनेत्री कंगना रनौत सफलताको शिखरमा छिन् । उनलाई ‘बलिउड क्विन’को उपमा दिइएको छ । तर यो सफलता ठूलो संघर्ष र धैर्यतापछि सम्भव भएको हो ।
हिरोको अनुपस्थितिमा पनि चलचित्र सफल हुनसक्ला र ? भन्ने आशंकालाई कंगना अभिनित चलचित्र ‘क्वीन’को अस्वाभाविक सफलताले प्रमाणित गरिदिएको थियो । सामान्य दर्शकले मात्र होइन, फिल्मका समीक्षकहरुले पनि निर्धक्क कंगनाको अभिनयको तारिफ गरे । आज उनको शुभेच्छुकको संख्या ह्वात्तै बढेको छ । तर कंगना बलिउड इन्डस्ट्रीसँग आफ्नो निकट्ता महशुस गर्दिनन् । बेलाबेला उनका यस्ता अभिव्यक्ति आइरहन्छन् । जसका कारण उनी आफैँ दोधारमा देखिन्छिन् ।
हालै एक वेबसाइटसँगको अन्तर्वार्तामा उनले बलिउडका अन्य अभिनेत्रीसँग प्रतिस्पर्धाका सन्दर्भमा खुलेर कुरा गरेकी छन् । भनेकी छन्, ‘म अन्य अभिनेत्रीको सधैँ तारिफ गर्छु, यो कुरा तपाईंलाई पनि थाहा होला कि मैले आलिया भट्ट या अनुश्का शर्माको सधैँ तारिफ गरेँ । म कुनै पनि अभिनेत्रीको तारिफ गर्न कन्ज्युस्याइँ गर्दिनँ ।’
उनले थपेकी छन्, ‘फिल्म ‘पिकु’मा दीपिकाको अभिनयको तारिफ गर्न हिच्किचाइनँ, आफ्नो हैसियतअनुसार सबैको तारिफ गरेकै छु, जब सोनाक्षी सिन्हाको फिल्म ‘लुटेरा’ हेरेँ, वर्षभरि उनको तारिफ गरेर थाकिनँ । तर विडम्वना म अरुबाट त्यस्तो तारिफ पाउँदिनँ । यस्तो लाग्छ कि सबै मलाई बेवास्ता गर्दैछन् । यस्तो किन भैरहेको छ ? मेरो फिल्मलाई धेरै दर्शकले मन पराएका छन् । ‘मणिकर्णिका’ वर्षकै बहुप्रतिक्षित चलचित्रमध्ये एक हो । तर पनि किन यस्तो गरिन्छ कि मेरो कुनै अस्तित्व नै छैन । यहाँ सम्मकी कोही मेरो फिल्मको ट्रेलर अथवा टिजरबारे पनि कुरा गर्दैनन्’।
कंगना आगामी फिल्म ‘मणिकर्णिका’ प्रमोसनमा व्यस्त छिन् । लामो समय छायांकनमा रहेको यो चलचित्र जनवरी १९ मा रिलिज हुँदैछ । महारानी लक्ष्मी बाईको जीवनमा आधारित फिल्ममा कंगनाका अलावा अतुल कुलकर्णी, कुलभुषण खरबन्दा, अंकिता लोखन्डे डेनी डेन्जोङ्पा, सुरेश ओबेरायलागायतका अनुभवी कलाकारको अभिनय छ ।