भरत अधिकारी
काठमाडौं । पछिल्लो समय सरकारी तवरबाट गरिने केही एक्सनहरु विवादित बन्दै गएका छन् । विभिन्न प्रकरण भोग्दै जाँदा फेरि त्यसैमा थपिएको छ टुटल प्रकरण । ट्राफिक प्रहरीले काठमाडौं सहरमा व्यवसायिक रुपमा चल्दै आएको टुटल सेवालाई ऐनविपरित भन्दै सञ्चालनमा रोक लगाएपछि त्यसको व्यापक आलोचना शुरु भएको छ । विभिन्न विषयले स्थान पाउने सामाजिक सञ्जालका भित्ताहरु यतिबेला टुटल क्रेजले गरमागरम भएका छन् ।
के हो टुटल ?
टुटल यातायात सेवामा भित्रिएको एक नौलो प्रविधि हो । मोबाइल एप्लिकेसनको प्रयोग गरी यात्रुलाई निश्चित गन्तव्यसम्म मोटरसाइकलमा ओसारपसार गर्नका लागि नेपालमा करिब दुई वर्षअघिदेखि टुटलको प्रयोग गरिँदै आएको पाइन्छ । यसमा यात्रुले टुटल एप चलाएर आफू जाने गन्तव्यको सूचना दिएपछि नजिक रहेका कोही मोटरसाइकल चालकले यात्रुलाई भनेको ठाउँसम्म पुर्याइदिन्छ ।निश्चित भाडादर पहिल्यै तोकिने भएकाले टुटलमा यात्रा गर्दा ठगिने सम्भावना हुँदैन । साथै प्रविधिको प्रयोगले गर्दा मोटरसाइकल कुन बाटो कुदिरहेको छ र कति बेरमा गन्तव्य पुग्यो भन्नेसम्म एपबाटै हेर्न सकिने भएकाले यात्रु सुरक्षित हुन सक्दछन् । हालसम्म करिब १० हजार राइडर टुटलमा दर्ता भैसकेका छन् ।
सरकारले किन रोक्यो ?
‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा निजी गाडीमा भाडाका यात्रु बोक्न अनुमति छैन । यातायात व्यवस्था विभागसँग समन्वय नगरी बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ ले निजी नम्बर प्लेट भएका मोटरसाइकलमा भाडाका यात्रु बोक्दै आएका छन् । यसकारण वैधानिकता नभएको भन्दै कानुनविपरित निजी नम्बरका मोटरसाइकल भाडामा प्रयोग भएको गुनासो आएकाले उनीहरुलाई यात्रु बोक्न रोक लगाइएको जनाइएको छ ।
सामाजिक सञ्जालमा बहस
टुटल र पठाओ मा प्रतिबन्ध लगाइएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भएको छ । आलोचकहरुले सरकारी ऐन निकै पुरानो भएकोले त्यसैको आडमा आधुनिक समाजमा भित्रिएको प्रविधिले ल्याएको सुविधालाई प्रोत्साहन गर्नुको साटो प्रतिबन्ध लगाइनु उचित नभएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ट्वीटरमा लेख्दै टुटल सेवा आम नागरिकका निम्ति सुलभ, सुपथ र भरपर्दाे सेवा रहेको बताउँदै सरकारले यसमा प्रतिबन्ध लगाउनुमा यातायात सिन्डिकेटको दबाबमा सरकार परेको आशंका व्यक्त गर्नुभयो ।
राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले टुटलसेवाले काठमाडौंको यातायात व्यवस्थामा योगदान दिनुका साथै ठूलो संख्यामा आंशिक रोजगारी पनि दिइरहेका सन्दर्भमा यसको नियमन तथा व्यवस्थापन गर्नुपर्नेमा सरकारको ध्यान जानुपर्ने धारणा राख्नुभएको छ ।
सामाजिक सञ्जालमा देखिएको केही थप क्रेज यस्तो पनि छ :
सामाजिक सञ्जालमा देखिएको टुटल क्रेजलाई हेर्दा अब सरकारले पक्कै पनि यस विषयमा केही सोच्नैपर्ने देखिएको छ । यस सेवालाई नियमन र व्यवस्थापन गर्नु जरुरी भैसकेको छ ।