इलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन एम्बुलेन्समा राखेर झापा पठाइएको छ । झापाको भद्रपुरबाट हेलिकोप्टरमा काठमाडौं ल्याइँदैछ । यसका लागि काठमाडौंबाट हेलिकोप्टर झापा पठाइएको छ भने इलामबाट एम्बुलेन्समा डा. केसीलाई झापा पठाइएको छ ।
यसअघिको समाचार यस्तो थियोः गोविन्द केसी ल्याउन हेलिकोप्टर पठाइयो
काठमाडौं । इलाममा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउन राति नै हेलिकोप्टर पठाइन लागेको छ । मुटुको समस्या देखिएपछि डा. केसीलाई काठमाडौं ल्याइन लागिएको हो ।
स्वास्थ्य मन्त्रालयको पहलमा सेनाको हेलिकोप्टर झापाको भद्रपुर पठाइन लागिएको हो ।
यसअघिको समाचार यस्तो थियोः
गोविन्द केसीलाई काठमाडौं ल्याइँदै
भागीरथ भण्डारीइलाम । २५ पुसदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि काठमाडौं ल्याउने तयारी गरिएको छ ।
डा. केसीको मुटुमा समस्या देखिएर स्वास्थ्य अवस्था बिग्रिएपछि काठमाडौं ल्याउने तयारी भइरहेको हो । स्थानीय टुँडिखेलमा सेनाको हेलिकोप्टर ल्याण्ड गरेर काठमाडौं ल्याउने तयारी भइरहेकामा राति समस्या भएपछि करिब १ सय किलोमिटर पर रहेको झापाको चन्द्रगढीसम्म गाडीमा ल्याएर त्यहाँबाट काठमाडौं ल्याउने तयारी भइरहेको एसपी माधव श्रेष्ठले बताउनु भयो ।
डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेर उपचार जरुरी भएपछि काठमाडौं ल्याउने चाँजोपाँजो मिलाउन सिडिओ सहनकुमार तिमिल्सिनासहितको टोली इलाम अस्पातालमा छ । टुँडिखेलमा हेलिकोप्टर ल्याण्डमा समस्या भएपछि राति नै गाडीबाटै भए पनि झापा ल्याएर काठमाडौं ल्याउन लागिएको हो ।