जपमाला घाँटीमा लगाउन भन्दा पनि मन्त्रहरू पढ्नका लागि ज्यादा महत्वपूर्ण छन् । जपमाला धर्म तथा सम्प्रदाय अनुसार अलगअलग संख्याका दानायुक्त हुन्छन् । जस्तो हिन्दूहरूले १०८ दानायुक्त जपमाला मन्त्र उच्चारणका लागि प्रयोग गर्ने गर्दछन् भने एङ्लिकन रोजरीमा ३३ दाना, स्विडिस लुथरन चर्चमा १८ दाना, क्याथोलिक रोजरीमा ५८ दाना, महायानी विड्समा २७ दाना र तिब्बती लामा बौद्ध धर्ममा १११ वटासम्म दानायुक्त जपमाला प्रयोग गर्ने चलन छ ।
घाँटी मानव शरीरको महत्वपूर्ण अङ्ग हो, जसले मानवको शरीर र शीरलाई छुट्टयाएको हुन्छ र मानवले आफूलाई सुन्दर बनाउनका लागि घाँटीभन्दा माथ्लो भागमा नै ज्यादा सृंगारण गर्दछ भने घाँटीलाई पनि सुन्दर बनाउने उसको सोच रहन्छ । तसर्थ मानवले घाँटीमा पनि गरगहना लगाउने चलन चलाएको हो । सूत्रमा उनेर घाँटीमा लगाउने फूल या दानाका गोलाकार बस्तुलाई शब्दकोशहरूमा माला भनिएको पाइन्छ (शर्मा, २०५७ः ८३६) । ज्यादाजसो मालाहरू फूलबाट नै बनाइने भए पनि अन्य विभिन्न प्रकारका बस्तुबाट पनि माला बनाउने चलन छ । मालाको इतिहास खोजी गर्दा प्रागैतिहासिक कालसम्म पुग्न सकिन्छ । तत्कालको मानवले प्रस्तर, सिपी र जनावरका हाडहड्डीबाट माला बुनेर लगाउने गर्दथ्यो भन्ने प्रमाणहरू पाइएका छन् । सभ्यताको युगमा समेत मानिसहले सृङ्गारणका रूपमा गलामा माला लगाउने पुरानो कार्यलाई निरन्तरता दिन पुग्यो । त्यस युगमा माटाका प्वाँला बनाएर समेत लगाउन लागियो । धातुको आविस्कार भएपछि भने मालाहरू बहुमूल्य धातुका पनि बनाउन लागिए ।
हिन्दूहरूले वैदिक कालमा नै निक्ख नामक चाँदीका टुक्राको प्रयोग मालाका रूपमा गरेको देखिन्छ । तिनीहरू माला र विनिमयका माध्यम दुवै रूपमा प्रयोग हुने गर्दथे । यसबाट हिन्दूहरूमा वैदिक कालदेखि नै धातुका माला लगाउने चलन रहेको बुझ्न सकिन्छ । समयको अन्तरालमा माला देवकार्य, पितृकार्य, उत्सव, पर्व र समारोहका साथमा स्वागत तथा विदाईका क्रममा समेत लगाउन लागियो । इशापूर्व कालतिर नै फूलका मालाहरू उनेर शौखिन मानिसहरूलाई बेच्ने एउटा समूहनै भारतवर्षमा अस्तित्वमा थियो (सिंह, १९७२ः ८०) । यसबाट तत्काल मालालाई शौखिन व्यक्तिले लगाउने गहना या सृंगारका साधनका रूपमा लिने गरिएको कुरा बुझ्न सकिन्छ । बौद्ध धर्ममा भने भिक्षुभिक्षुणीले बोधिमालाका साथसाथै पुष्पमालासमेत लगाउने चलन चलेको देखिन्छ । यसरी इशापूर्व कालतिर मालालाई उच्च वर्गका मानिस र देवीदेवताले लगाउने अलंकरणको माध्यमका रूपमा लिइन्थ्यो ।
प्राचीन कालमा नेपाली समाजमा कस्तो प्रकारको माला लगाउने चलन थियो भनी जानकारी दिने प्रमाणहरूको अभाव छ । तत्काल राजामहाराजा र पुजारी लगायतका व्यक्तिमा पुष्पमाला लगाउने चलन रहेको हुन सक्तछ । त्यसैबेला बहुमूल्य पत्थर र धातुका पनि माला लगाइन्थे । तर त्यस समयमा अहिलेका जस्ता ठूलाठूला माला लगाउने चलन भने थिएन । घाँटीमा कण्ठहार तथा पुष्पमाला लगाइन्थे भने पुष्पमाला पनि कण्ठहारकै सरहका छोटाछोटा हुने गर्दथे । नेपालमा ईशाको नवौं-दशौं शताब्दीसम्म पनि घाँटीमा कण्ठहारका रूपका छोटा र दानायुक्त माला लगाउने चलन थियो । हौगलबहालकी मातृका (इशाको दोस्रोतेस्रो शताब्दी) र गणेशमन्दिर कीर्तिपुरका वैष्णवी, ब्रह्मायणी र माहेश्वरी (इ. तेस्रो शताब्दी) का मूर्तिमा त्यस्ता माला देखिन्छन् । यसबाट तत्काल जनमानसमा पनि त्यस्तै स्वरूपका मालाको प्रचलन रहेको बुझ्न सकिन्छ । मालाजस्तै गरी लगाइने यज्ञोपवित भने शरीरको नाभी र कहिलेकाहीं तिघ्रासम्म आइपुग्ने आकारको लगाइन्थ्यो । तत्काल माला दोहोरो नभएर एकल लगाइन्थ्यो (खतिवडा, २०४७) । सम्भवतः नियमित रूपमा लगाइने माला सुन, चाँदी, मुगा र हिरालगायतका बहुमूल्य धातुका र पत्थरका हुन्थे । सम्भवतः प्राचीन कालमा राजामहाराजा तथा उच्च ओहदाका मानिसहरू जस्तो अमात्य (मन्त्री) र प्रतिहार आदिले पुष्पमाला र अन्य प्रकारका मालाहरू लगाउँथे । तर सामान्य मानिसहरूलाई भने सुनचाँदी लगायतका बहुमूल्य बस्तुका माला लगाउने छुट थिएन ।
मानिसको खप्परबाट बनेको मालालाई मुण्डमाला भनिन्छ । नेपाली समाजमा मुण्डमाला लगाउने चलन रहेको कुरा इतिहासमा कतै पनि पाइँदैन । तर पनि उग्र रूपका हिन्दू देवीदेवताहरू जस्तो भैरब र भैरवीलाई नरमुण्डमाला लगाएको अवस्थामा कलामा प्रस्तुत गर्ने चलन भने धेरै पहिलेदेखि नेपाली समाजमा चलिआएको छ ।
मध्यकालताका नेपाली जनमानसमा यज्ञोपवित, नरमुण्डमाला, बोधिमाला, रूद्राक्षमाला र धातुका माला प्रचलनमा थिए । नरमुण्डमाला शाक्त देवी या भैरवीले लगाएको अवस्थामा कलामा प्रस्तुत गर्न लागियो भने बोधिमाला बौद्ध र रूद्राक्ष या जपमाला शैव, तुलसीमाला वैष्णव तथा अन्य प्रकारका मालाहरू सामान्य मानिसहरूले लगाउन लागे । यसमा पनि पुष्पमाला भने विशेष उत्सवमा लगाउन लागियो । धातु र अन्य प्रकारका बस्तुबाट निर्मित मालाहरू स्थायी रूपमा उच्च वर्गका मानिसहरूले लगाउने कार्य गरे । मध्यकालमा एकपटक जयस्थितिमल्लले समाज सुधार गर्ने क्रममा तल्लो जातका मानिसहरूलाई बहुमुल्य धातुका गरगहना लगाउन बन्देज लगाएको देखिन्छ । तर कालान्तरमा यस नियमले दिगो रूप लिन सकेन र जुनसुकै जात या वर्णको भए पनि धनिमानि मानिसहरूले बहुमुल्य धातुका मालाहरू लगाउन लागेको देखिन्छ । आज आएर माला नेपाली संस्कृतिको अभिन्न अंग भएको छ । यसको प्रयोग जस्तोसुकै पर्व, उत्सव, धार्मिक र संस्कारगत कार्य, विदाई र स्वागत जस्ता कार्यमा पनि गरिन्छ । धातु, पत्थर या अन्य बहुमूल्य बस्तुले बनेका माला मानिसहरूले नियमित रूपमा लगाउँछन् भने पुष्पमाला क्षणिक समयका लागि लगाइन्छन् ।
मालाहरू विभिन्न आकार र प्रकारका हुन सक्तछन् । तिनीहरू सामान्य विभेद अनुसार पुष्पमाला र हार गरी मुख्य दुई भागमा वर्गिकृत हुन्छन् । हारभित्र पनि अन्य विभेदहरू हुन सक्तछन् भने मालाभित्रै पनि पुष्पमाला र जपमालाजस्ता थप भेद पनि छन् । सामान्यतया मालालाई निम्नानुसारले विभिन्न भागमा वर्गीकरण गर्न सकिन्छ ।
१) पुष्पमालाः फूलका मालालाई पुष्पमाला भनिन्छ । पुष्पमाला स्थायी रूपमा भन्दा पनि अस्थायी प्रयोजनले मात्र लगाइन्छ । पुष्पमाला नेपाली समाजमा जुनसुकै धर्म, वर्ण, जात र समूहका मानिसहरूले पनि लगाउने हुनाले यसलाई नेपाली संस्कृतिको परिचायक मानिन्छ । जुनसुकै पर्व, उत्सव, संस्कार, भेटघाट र विदाईमा समेत पुष्पमाला लगाउने चलन छ । विवाह, मृत्यु र जन्मजस्ता संस्कार, देवकार्य र पितृकार्य सबै अवसरमा यस्तो माला अनिवार्य ठानिन्छ । देवप्रतिमामा लगाउने मात्र नभएर मानिसहरूले समेत पुष्पमाला लगाउने गर्दछन् । यो अस्थायी प्रकारको हुनेहुँदा यसलाई सम्बन्धित कार्य समाप्त हुनासाथ फुकाल्ने गरिन्छ ।
पुष्पमालाका लागि ज्यादा मात्रामा सयपत्री फूलको प्रयोग गर्ने चलन छ । किनकी यो फूल जुनसुकै ऋतुमा पनि फुल्ने गर्दछ । पुष्पमालाका लागि ऋतुअनुसार फुल्ने आकर्षक जुनसुकै फूलहरूको प्रयोग गर्नु उचित मानिन्छ । यस्तो मालामा सांस्कृतिक महत्वका साथमा अलंकरण र सुन्दरतालाई पनि ख्याल गरिन्छ । तसर्थ हाल आएर दुबो र फूलका पातहरूलाई समेत माला बनाउन प्रयोग गर्ने चलन चलेको छ । विशेष गरी विवाह र व्रतवन्धजस्ता शुखदायी उत्सवमा फूल, पात र अन्य बस्तुहरू प्रयोग गरी आकर्षक माला निर्माण गर्ने परम्परा रहेको देखिन्छ । भाईटीका जस्तो पर्वमा अन्य पुष्पका साथमा मखमलीजस्तो नओइलाउने फूलको माला लगाउनु राम्रो मानिन्छ । यता मृत्युसंस्कारमा भने फूललाई नै मालाका रूपमा प्रयोग गर्ने चलन छ । हाल आएर कसैको स्वागतका लागि अति ठूलो (मोटो) माला बनाउने पनि चलन छ । तसर्थ पुष्पमालाका आकार र माला निर्माणमा प्रयोग गरिने फूलमा विविधता रहेको पाइन्छ ।
२) तुलसीमालाः तुलसी विष्णुसँग सम्बन्धित भएकाले विष्णु र उनका भक्तले तुलसी मालालाई महत्व दिने गर्दछन् । विष्णुको सम्पूर्ण शरीर तुलसीले ढाकिएको हुन्छ भन्ने मान्यतामा (श्रीमद्भागवत, ३.२६.१०) यसलाई वैष्णवहरूले ज्यादा प्रयोग गर्ने गरेका हुन् ।
वैष्णवहरूमा तुलसी स्पर्श र ग्रहण मोक्षदायी मानिने हुँदा (गर्गसंहिता, १६।३०।३३) उनीहरूले यसलाई मालाका रूपमा प्रयोग गर्ने गरेका हुन् । गर्गसंहिताको सोह्रौँ अध्याय पूर्ण रूपमा तुलसीको महिमासँग सम्बन्धित छ । वैष्णवहरूले तुलसी मालालाई जपमालाका रूपमा समेत प्रयोग गर्दछन् । नेपाली संस्कृतिमा तुलसी मालालाई ठूलो महत्व दिने गरिन्छ । हुन त तुलसीमाला वैष्णव सम्प्रदायीहरूले लगाउँछन् ।
यस्तो माला तुलसीको काठ या डाँठलाई टुक्रा बनाएर निर्माण गरिन्छ । वैष्णवहरूले यसलाई धागो या तारमा उनेर घाँटीमा लगाउने गर्दछन् । तर अवैष्णव जस्तो स्मार्त र सनातनिले पनि यसलाई विष्णुको प्रतिक मान्दछन् ।
३) कौस्तुभमणि मालाः कौस्तुभ मणि र अन्य रत्नहरू जडित मालालाई कौस्तुभमणिमाला भनिन्छ । धार्मिक रूपमा विष्णुले कौस्तुभ मणिमाला लगाउने मान्यता राखिन्छ । पद्म रजमाला र वैजयन्ति माला पनि यसै वर्गका मानिन्छन् । श्रीमद्भागवतले कौस्तुभमणि समुद्र मन्थनबाट उत्पन्न भएको बताएको छ र यस्ता महँगा मालाहरू घाँटीमा हारका रूपमा लगाउने चलन पाइन्छ । सम्पन्न व्यक्तिहरूले शौखका लागि यस्ता रत्नजडित मालाहरू लगाउने चलन नेपाली समाजमा धेरै पहिलेदेखि चलिआएको हो ।
४) रूद्राक्षमालाः रूद्राक्षमाला रूद्राक्षका दानाहरू धागोमा उनेर बनाउने गरिन्छ । यस्तो माला शिव र ब्रह्माले लगाउने मान्यतामा शिवभक्तले यसको अत्यधिक प्रयोग गर्दछन् । एक पौराणिक कथाअनुसार एक पटक शिवजी रीसले रून लाग्दा उनको आँशु भुइँमा झरेकाले यसबाट रूद्राक्षका दाना उत्पन्न भएका रहेछन् (कुमार, १९८०ः ६९) । यसै मान्यतामा शैवमार्गीले रूद्राक्ष माला लगाउने गरेका हुन् । रूद्राक्षमाला लगाउँदा शिवतत्व प्राप्त हुने विश्बास शैवहरूमा पाइन्छ ।
५) सर्पमालाः सर्पबाट बनेको मालालाई सर्पमाला भनिन्छ । मृत्युको प्रतीक मानिने सर्पमाला नेपाली जनमानसमा प्रचलित छैन । तर पनि शिव, भैरव र गरूडले भने सर्पमाला लगाउने मान्यता राखिन्छ र कलामा तिनीहरूलाई सर्पमाला धारण गरेको स्वरूपमा प्रस्तुत गर्ने चलन छ । नागलाई बृष्टिका देवताका रूपमा पूजाआजा गर्ने चलन पनि नेपाली समाजमा रहेको पाइन्छ ।
६) मुण्डमालाः मानिसको खप्परबाट बनेको मालालाई मुण्डमाला भनिन्छ । नेपाली समाजमा मुण्डमाला लगाउने चलन रहेको कुरा इतिहासमा कतै पनि पाइँदैन । तर पनि उग्र रूपका हिन्दू देवीदेवताहरू जस्तो भैरब र भैरवीलाई नरमुण्डमाला लगाएको अवस्थामा कलामा प्रस्तुत गर्ने चलन भने धेरै पहिलेदेखि नेपाली समाजमा चलिआएको छ ।
७) जपमालाः जपमाला त्यस्तो माला हो, जुन जप गर्ने या मन्त्र उच्चारण गर्दा मन्त्र गन्ने मनसायले प्रयोग गरिन्छ । विशेष गरी सयौं हजारौंपटक पढिने मन्त्रका लागि जपमालाको प्रयोग गर्ने चलन छ । धार्मिक दृष्टिले उच्चारण गरिएका मन्त्रको संख्या गणना गर्न मात्र नभएर जपमाला मन्त्रलाई महत्व दिनका लागि समेत प्रयोग गर्ने चलन छ । सबै प्रकारका बौद्ध, हिन्दू, इशाई र ईस्लाम धर्ममा जपमालाको प्रयोग गर्ने गरिन्छ । जपमालाका रूपमा रूद्राक्ष, तुलसी, बोधि, कमलको बिउ, चन्दन, जनावरका हाडहड्डी, अन्नका दाना र बहुमूल्य पत्थर पनि प्रयोग गरिन्छन् ।
जपमाला घाँटीमा लगाउन भन्दा पनि मन्त्रहरू पढ्नका लागि ज्यादा महत्वपूर्ण छन् । जपमाला धर्म तथा सम्प्रदाय अनुसार अलगअलग संख्याका दानायुक्त हुन्छन् । जस्तो हिन्दूहरूले १०८ दानायुक्त जपमाला मन्त्र उच्चारणका लागि प्रयोग गर्ने गर्दछन् भने एङ्लिकन रोजरीमा ३३ दाना, स्विडिस लुथरन चर्चमा १८ दाना, क्याथोलिक रोजरीमा ५८ दाना, महायानी विड्समा २७ दाना र तिब्बती लामा बौद्ध धर्ममा १११ वटासम्म दानायुक्त जपमाला प्रयोग गर्ने चलन छ ।
८) अन्य मालाहरूः धर्मिक र सांस्कृतिक तथा शृङ्गारिक मालाका अन्य थुप्रै प्रकारहरू पनि छन् । विशेष गरी नेपाली संस्कृतिमा विवाहित महिलाहरूले पोते, तिलहरी, प्वाँलाका माला र विभिन्न प्रकारका नेकलेसहरू लगाउने गर्दछन् । पोते, नौगेडी र तिलहरी नेपाली विवाहिता महिलाका माला हुन् भने नेकलेस र प्वाँला तथा अन्य प्रकारका माला विवाहिता र अविवाहिता दुवैले लगाउने गर्दछन् । कपडा, डोरो र अन्य पदार्थका माला समेत नेपाली समाजमा प्रचलित छन् । नेपाली संस्कृतिमा मालाको विशिष्ट महिमा छ ।
जुनसुकै उत्सव, पर्व र संस्कारका अवसरमा पनि माला लगाउनु सौभाग्य मानिन्छ । पुष्पमाला लगाउने नेपालीहरूको मुख्य पर्व या उत्सव तिहार हो, जुन अवसरमा दिदीबहिनीले दाजुभाईलाई टीकाका साथमा माला लगाई दिन्छन् । धार्मिक, संस्कारगत र देव तथा पितृ कार्यमा समेत माला लगाउने गरिन्छ । विशेषगरी कर्ता, पुरोहित र संस्कार गरिने व्यक्तिलाई माला लगाउने चलन छ । विवाह र व्रतवन्ध जस्ता उत्सवमा माला लगाउनु अनिवार्य ठानिन्छ । विवाहका अवसरमा वर र वधु दुवैलाई माला लगाउनु अनिवार्य ठानिन्छ, जुन धार्मिक र शृङ्गारिक दुवै दृष्टिले महत्वपूर्ण हुने गर्दछ । स्वागत र विदाइका अवसरमा आगन्तुक तथा बिदा वारी हुनेलाई पुष्पमाला लगाई दिने कुरा नेपाली समाजको पुरानो परम्परा हो ।
नियमित रूपमा लगाइने माला सुन, चाँदी, मुगा र हिरालगायतका बहुमूल्य धातुका र पत्थरका हुन्थे । सम्भवतः प्राचीन कालमा राजामहाराजा तथा उच्च ओहदाका मानिसहरू जस्तो अमात्य (मन्त्री) र प्रतिहार आदिले पुष्पमाला र अन्य प्रकारका मालाहरू लगाउँथे । तर सामान्य मानिसहरूलाई भने सुनचाँदी लगायतका बहुमूल्य बस्तुका माला लगाउने छुट थिएन ।
(जनता प्रसारण तथा प्रकाशन लिमिटेडद्वारा प्रकाशित पुस्तक ‘नेपाली संस्कृति विश्वकोष’बाट)