काठमाडौं । ३ दशक लामो सांगितिक यात्रा पश्चात् संगीतकार मनराजा नकर्मी जीवनको पहिलो एकल साँझ गर्दैछन् । माघ ५ गते शनिबार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने एकल साँझका लागि तयारी भैरहेको छ । एकल साँझलाई भव्य बनाउनका लागि उक्त कार्यक्रमसंग जोडिएका हरेक स्रष्टाहरु क्रियाशीलताका साथ लागिरहेका छन् । सांगितिक क्षेत्रमा समर्पित श्रष्टाहरुको सहयोगार्थ उक्त एकल साँझको शुक्रबारसम्म जोडतोडले रिहर्सल चलिरहेको छ । तयारीको शीलशीलामा खिचिएको भिडियो हेर्नुहोस् :
https://www.youtube.com/watch?v=gzhdXuPehmE&feature=youtu.be&fbclid=IwAR3RY6XJEEHj32z8Wd8xJSb3WN-KlUCjQO6-68BaDTAaCPqENhv7yuthpMs
कार्यक्रममा दिनेशराज रेग्मीको संयोजकत्वमा २१ जना वाद्यवादकहरुका साथमा करिब डेढ दर्जन प्रस्तुति हुनेछन्। दुर्गालाल श्रेष्ठ, भीमबहादुर नकर्मी, डा. रामविक्रम सिँजापति, डा. कृष्णहरि बराल, नातिबज्र, केशवराज राजभण्डारी, सुरेन्द्र राना, सुरेशकुमार कार्की, डा. दीर्घसिंह बम, आनन्दरत्न बज्राचार्य, डा. सुनलाल थापा, हेमन्त विवश, राजकुमार श्रेष्ठ, निर्मलरत्न शाक्य, रमेश गाउँले, देवदत्त भट्ट, तुलसी महर्जनका रचनाहरु मदनकृष्ण श्रेष्ठ, संगीता प्रधान, कुन्ती मोक्तान, धनबहादुर गोपाली, जुजुकाजी रन्जित, स्वयम्भूराज शाक्य, निशा देसार, टीका प्रसाइँ, संगीता थापा शाक्य, यम बराल, आनन्द कार्की, विश्व नेपाली, दीपक लिम्बू, सन्तोष लामा, रमना श्रेष्ठ, रत्नशोभा महर्जन, रामचन्द्र काफ्ले, सरीता शाही, मेनुका पौडेल र प्रकाश तिमल्सिनाले प्रस्तुत गर्नेछन् । साथमा संगीतकार नकर्मीका चर्चित गीतहरुमा कलाकारहरुले नृत्य समेत प्रस्तुत गर्नेछन् । संगीतकार नकर्मीकी सुपुत्री नायिका आशिष्मा नकर्मीले समेत कार्यक्रममा नृत्य प्रस्तुत गर्नेछिन् ।
रेडियो नेपालमा मुख्य संगीत संयोजक पदमा सेवारत नकर्मीका हालसम्म १३ आधुनिक, ९ नेपाल भाषा, २ भजन तथा २ धूनका एकल एल्बमहरु सार्वजनिक भैसकेका छन् भने हजारौं गीतमा उनले तबला बजाएका छन् । उनले ८ वटा चलचित्रमा संगीत सिर्जना समेत गरिसकेका छन् । तबलावादनका ‘गोल्ड मेडलिस्ट’ नकर्मी संगीत महर्षी नातिकाजी सम्मान २०७५ लगायतका पुरस्कार तथा सम्मानहरुबाट सम्मानित भइसकेका छन् ।