-निरुपा प्रसून
महान् नेता नेल्सन मन्डेला कर्म र पेसाले लेखक होईनन् तर उनको आत्मजीवनी ‘लङ वाक टु फ्रिडम’ विश्वको करोडौंको संख्यामा बिक्ने पुस्तकको सुचीमा पर्छ । ‘लङ वाक टु फ्रिडम’ मन्डेलाको आदर्श जीवनमा संघर्ष झल्काउने पुस्तक हो ।
ब्राजिनियन उपन्यासकार पाउलो कोएलोलाई लिन सकिन्छ । उनका किताब प्रकाशित हुनुअगाडि बजारले अग्रिम बुकिङ गरिसकेको हुन्छ । जापानी लेखक हारुकी मुराकामी अचेल त्यस्तै बिकाउ लेखकमा दरिएका छन् । उनको किताब प्रकाशनअगाडि हजारौं पाठक पुस्तक किन्न पुस्तक पसलअगाडि लाइनमा बसिसकेका हुन्छन् । बेलायती लेखिका जेके रोलिङले त पुस्तक बिक्रीबाट कति धेरै धन कमाइन् भने उनले सम्पतिमा बेलायतकी महारानीलाई समेत उछिनिन् ।
अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनको ‘माई लाइफ’ धेरै बिक्ने किताबहरुको नामावलीमा दर्ता छ । यो किताब बिक्नुमा क्लिन्टनको लेखकीय सामथ्र्यभन्दा पनि उनको नाम प्रमुख छ । त्यसमाथि उनले राष्ट्रपति हुँदा आफ्नी सहायक मोनिका लेवेन्स्कीसँगको सम्बन्धले उत्पन्न भएको विवादप्रति सबैको चाख हुनु अस्वाभाविक होइन ।
हाम्रो देशमा पनि अहिले लेखक बिक्छ कि पुस्तक भन्ने प्रश्नमा धेरै पाठकको मनमा कौतुहल सिर्जना गरेको छ । तर , यो प्रश्नको सरलीकृत उत्तर पाउन सम्भव छैन । कहिले पुस्तक बिकेको देखिन्छ त कहिले लेखक । यी दुई घटकको लुकामारी चलेको देखिन्छ ।
नेपालमा धेरै बिक्री भएका पुस्तकमा भानुभक्त आचार्यको रामायण, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, माधव घिमिरेको गौरीलगायतका छन् । कृष्ण अबिरलको ‘रक्तकुण्ड’, नारायण बाग्लेको ‘पल्पसा क्याफे’, नयनराज पाण्डेको ‘उलार’, बुद्धिसागरको कर्नाली ब्लुज, हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ र पछिल्लो समय सुविन भट्टराईको ‘समर लभ’, विजय कुमारको खुशी, डा.विजयकुमार पौडेलको ‘मार्क्सवादी अर्थशास्त्र’ र डा.युवराज संग्रौलाको ‘निःसङ्कोच अभिव्यक्ति’ पनि धेरै बिक्रीका लागि चर्चित छन् । उसो त नेपालमा अहिले गैरसाहित्यिक कृतिहरुको वर्चश्व बढिरहेको अवस्था छ ।
पत्रकार तथा साहित्यकार जयदेव भट्टराई भन्छन्, 'जो मिडियासँग जोडिएका छन् उनीहरु पर्दाअगाडि छन् प्रसार नहुने राम्रा लेखकहरु पर्दापछाडि नै' तर कवि विप्लव ढकाल प्रसारप्रचारमा विश्वास राख्दैनन् । 'ती क्षणिक पानिका फोकाहरु हुन् । क्षणिक रमाइलोमात्र, आँउछ जान्छ । इतिहास पढ्ने भनेको त राम्रैको हो ।'
पुस्तक बिक्छ कि लेखक ? साझा प्रकाशनका भुुतपूर्व बजार ब्यवस्थापन विभागका प्रमुख रुद्र न्यौपाने भन्छन् , 'दीर्घकालीन रुपमा बिक्री हुने भनेको कृति हो, लेखक होइन ।' प्रसारप्रचारले क्षणिक प्रभाव पारे पनि अन्ततःकृतिकै गुणस्तरका कारण पुस्तक बिक्ने उनको दाबी छ । जनता प्रसारण तथा प्रकाशन लिमिडेटका प्रमुख कार्यकारी निर्देशक डा.रमेश पौडेललाई भने लाग्छ, 'बिक्नुपर्ने पुस्तक हो तर यहाँ लेखक बिकिरहेको छ ।' र प्रसारप्रचार भने जरुरी छ हुने कुरा गर्छन उनी ।
फाइनप्रिन्टका प्रकाशनगृहका अजित बराल पुस्तक र लेखक दुबै बिक्रि हुने कुरा गर्छन् । उनको भनाइमा राम्रो लेखेर स्थापित भइसकेका लेखक बिक्री हुन्छन् र राम्रो लेख्ने पुस्तक पनि बिक्री हुन्छ । प्रसारले आमपाठकलाई जानकारी हुने र पुस्तक बिक्रि बढ्नेमा उनी विश्वस्त छन् । तर सांग्रिला प्रकाशनगृहका मणि शर्माको अलग धारणा छ । 'पुस्तक बिक्ने हो । पुस्तकले पछि लेखकलाई बिकाउछ ।' उनलाई लाग्छ पुस्तकको प्रचारप्रसार जरुरी छैन । त्यसैगरी छोटो समयमै राम्रो प्रकाशनगृह भनेर पाठकको मनमष्तिस्कमा अटाउन सफल भएको बुकहिल प्रकाशनगृहका भुपेन्द्र खड्का भन्छन्, 'लेखक होइन पुस्तक नै बिक्रि हुने हो ।'
लेखक बिक्छ कि पुस्तक भन्ने प्रश्नमा जतिसुकै विवाद भए पनि एउटा सत्यचाँहि के हो भने व्यक्तित्वले रचना र रचनाले व्यक्तित्वलाई प्रभाव पार्नेमा खासै विचार बुझाउनुपर्ने ठाँउ छैन् । यी दुई पक्ष एकअर्कोमा अन्तरसम्बन्धित हुन् ।