भिम चौधरीकैलाली । सुदूरपश्चिम प्रदेश सभामा दुई विधेयक सम्बन्धी प्रतिवेदन पेश भएको छ । संसदको हिउँदे अधिवेशन अन्तरगत शुक्रबार बसेको दोस्रो बैठकमा ‘प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ र सुदूरपश्चिम प्रदेशको ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को प्रतिवेदन पेश भएको हो ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले विधेयक पेश गर्नुभयो । सामाजिक विकास समितिकी संयोजक कुन्ती जोशीले प्रतिवेदन पेश गर्नुभयो । संसदमा पेश भएको प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धी विधेयकमा सचिवालय र सचिवका काम, कर्तव्य, अधिकार र पारिश्रमिक, सेवा, सुविधा, विदा तथा उपचार खर्च सम्बन्धी व्यवस्था गरिएको छ । सहकारी विधेयक सम्बन्धी प्रतिवेदनमा सामाजिक विकास समितिले दफावार छलफल गरी सुझाव समेत उल्लेख गरिएको छ ।
बैठकमा विशेष समय लिएर सांसद्हरुले वर्तमानको मौसमका कारण पीडित नागरिकहरुलाई राहत दिनुपर्ने, बजेट खर्चका अवस्थाबारे सरकारले संसदलाई जानकारी दिनुपर्ने, अबैध रुपमा भएको रुख कटानी, ढुंगा, गिट्टी, बालुवा संकलनलगायतको प्राकृतिक स्रोत दोहन रोकिनु पर्ने माग गरेका छन् । नेकपाका सांसद अक्कलबहादुर रावलले चट्याङ परेर मृत्यु भएका व्यक्तिका सदस्य, घाइते तथा क्षतिको विवरण लिएर उपचार खर्च लगायतको राहत तथा क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । उहाँले राहत प्रदेश सभाको आकस्मिक कोषबाट दिनुपर्ने बताउनुभयो ।
नेकपाकी सांसद पूर्णा जोशीले हिमपातबाट पीडित परिवारलाई क्षतिपूर्ति दिन र हिमपातका कारण सडक अवरुद्ध, पहिरोलगायत हुन सक्ने खतराबाट सजग रहन आग्रह गर्नुभयो । उहाले हिउँका कारण अवरुद्ध हुने सडक खुलाउन ठाउँ ठाउँमा डोजर तयारी अवस्थामा राख्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले भने कञ्चनपुरकी १३ बर्षिया किशोरी निर्मला पन्तलाई न्याय खोई ? भन्ने प्रश्नको जवाफसहित सुदूरपश्चिम आउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । विशेष समयमा बोल्दै कांग्रेसबाट विजयी प्रदेश सभा सदस्य डिल्लीराज पन्तले यस्तो माग गर्नुभएको हो ।
पन्तले लामो समयसम्म निर्मला हत्या प्रकरणको वास्तविकता गर्भमै रहेकाले त्यसको जवाफ बोकेर सुदूरपश्चिम आउँन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओली सुदूरपश्चिम महोत्सवको उद्धघाटनका लागि माघ २१ गते सुदूरपश्चिम आउने कार्यक्रम रहेको छ । राजपाका सांसद् कृष्णबहादुर चौधरी, नेपाली कांग्रेसकी सांसद् कुमारी नन्दा बमले सरकारले काम गर्न नसकेको बताउनुभयो ।