काठमाडौं । प्रदिप नेपालको उपन्यासमा आधारित नाटक ‘बर्बरिक’ काठमाडौंकाे कुञ्ज थिएटरमा मञ्चन भइरहेकाे छ । मदन भण्डारीलाई ‘बर्बरिक’ पात्रका रुपमा उभ्याएर लेखिएको उपन्यासलाई झोराहाट नाट्य समूह, मोरङले नाट्य रुपान्तरण गरी मञ्चन गरिएको समूहका अध्यक्ष भरत गुरागाईं बताउनुहुन्छ ।
जनता टेलिभिजनको बहसमूलक कार्यक्रम ‘सन्दर्भ’ मा कुराकानी गर्दै गुरागाईंले उपन्यासलाई डेढ वर्षअघि नाट्य रुपान्तरण गरिएको भए पनि हालै मात्र मञ्चन गरिएको बताउनुभयो ।
महाभारतमा घटोत्कचका छोरा हुन् बर्बरिक, जसले महाभारतको युद्ध चाहेर पनि लड्न पाएनन् । नाटकमा बर्बरिकको रुपमा मदन भण्डारीलाई उभ्याइएको छ । पञ्चायतकालमा भूमिगत अवस्थामा भण्डारीका विभिन्न नामहरु (श्वेतशार्दूल, भीष्म, सागर, बर्बरिक) मध्ये उपन्यासकारले बर्बरिकमा आधारित भएर उपन्यास लेखेका थिए ।
यसमा २०४६ सालदेखि २०५० सालसम्मको राजनैतिक घटना, त्यतिबेलाको प्रजातान्त्रिक आन्दोलन र अन्तमा दासढुंगामा रहस्यमय ढंगले दुईजना राजनेताको मृत्युसम्मको परिवेशलाई नाटकमा उतारिएको छ ।
अध्यक्ष गुरागाईं भन्नुहुन्छ, ‘मदन भण्डारी एक पार्टीको नेता मात्र होइन, नेपाली राजनीतिको स्वप्नद्रष्टा पनि हो । आज उहाँकै विचार र दृष्टिकोणअनुसार सत्ता निर्माण भएको छ । साथै उहाँ साँस्कृतिक र साहित्यिक चेत भएको व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँ कविता पनि लेख्नुहुन्थ्यो । नेपाली राजनीति र समाजको स्वप्नद्रष्टालाई उभ्याएर हामीले ठिक काम गरिरहेका छौं जस्तो लागिरहेको छ ।
https://www.youtube.com/watch?v=VIfjGuJd378