काठमाडौं । गायिका मिलन अमात्यको चौथो एल्बम ‘मिलन यात्रा’ बिमोचन भएको छ । शुक्रवार राजधानीको सुन्धारास्थित सिटीसी मलको सिडिसी सिनेमा हलमा एक बिमोचन कार्यक्रमको आयोजना गरि एल्बम विमोचन गरिएको हो । ‘मिलन यात्रा’ एल्बमलाई गृहमन्त्री राम बहादुर थापा(बादल), प्रदेश नं १ का योजना आयोगका सदस्य पूर्ण लोप्चन, गायक दीप श्रेठ, गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभ, गायिका अमात्यको बुवा गणेश श्रेष्ठ नेवार साथै आमा अम्बिका श्रेष्ठ नेवार र गायिका मिलन अमात्य (नेवार)ले उक्त एल्बमको बिमोचन गरेका थिए ।
अमात्यको एल्बममा राष्ट्रभक्ति एवं सामाजिक सन्देशमुलक विभिन्न विधाका गीतहरु संग्रहित छन् । एल्बममा ‘बिहानीपख बाँसुरी’, ‘खुसी दिन सकिन भने’, ‘लगाई दियो दाग तिमीले’, ‘नेपाल नरहे नेपाली’, ‘जसलाई मैले चाहेको छु’, ‘हिजोका मेरा अधिकार’, र ‘तिमीसँग दौडिन खोजें’ गरी कूल सात गीतहरु समावेश छन् ।मिलन यात्रामा रहेका सबै गीतहरुलाई गीतकार योगेन्द्रमणि दाहालले रचना गरेका हुन् भने संगीतकार राजु सिंहले एकल संगीत सिर्जना गरेका छन् ।
कार्यक्रममा गायिका अमात्यले उक्त एल्बमको ‘नेपाल नरहे नेपाली’ बोलको राष्ट्रिय गीत प्रत्यक्ष गाएर सुनाएकी थिइन् भने सोही गीतमा कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । सोही कार्यक्रममा गायिका मिलन ‘मिलन च्यारेटी फाउन्डेसन’ नामक सामाजिक संस्था खोली सामाजिक अभियानमा सकृय हुने जानकारी पनि गराईएको थियो । उनले आगामी थप सांगीतिक यात्रा एवं सामाजिक अभियानको यात्रा ‘मिलन नेवार’ नामबाट अगाडी बढाउने कुरा पनि बताएकी छिन् ।
सोही कार्यक्रममा मिलनले पाँचौ एल्बम मिलन–२ मा समावेश गरिने गीतको भिडियो पनि सार्वजनिक गरेकी थिईन् । मिलनको आफ्नै शब्द रहेको गीतमा कमल खत्रीले संगीत भरेका छन् भने कमल र मिलनले गीत गाउनुका साथै भिडियोमा समेत जोडीका रुपमा फिचरिङ भएका छन् । हरि हुमागाईको छायाँकन तथा विकास दहालको सम्पादन रहेको भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् ।
https://www.youtube.com/watch?v=lNADnaq_zOY
गृहमन्त्री थापाले गायिका मिलनलाई शुभकामना व्यक्त गर्दै मिलनको सामाजिक यात्रा अनुकरणीय कामको थालनी भएको बताए । थापाले देशलाई आर्थिक उन्नतिमा मात्र नभई सांस्कृतिक रुपमा पनि विकसित बनाउनुपर्ने धारणा राखे । प्रदेश नं १ का योजना आयोगका सदस्य लोप्चनले गीत संगीतले समाज परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै मिलनको गीतले पनि विकासको थप आवाज उठाउन मद्दत पुर्याउने विश्वास राखे ।