लोकेन्द्रप्रसाद जोशीदार्चुला । एक सातादेखि भएको वर्षा र हिमपातका कारण दार्चुलासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । भारी वर्षासँगै विभिन्न क्षेत्रमा भएको बाक्लो हिमपातका कारण सडक हिलाम्मे र पहाड सेताम्मे भएका छन् । स्थानीयको दैनिकी कष्टकर बनेको छ ।
जिल्ला सदरमुकामस्थित विभिन्न सडक र बाटोमा पानी भरिएर हिलैहिलो भएको छ । निरन्तरको बाक्लो हिमपातका कारण हिमाली गाउँबस्ती हिउँले भरिएका छन् । सबैजसो स्थानीय तहका पहाडी गाउँसम्म हिउँ पुगेपछि चिसो ह्वात्तै बढेको छ । जिल्लाको अपी हिमाल गाउँपालिका, व्यास गाउँपालिकाको अधिकांश भुभागका साथै दुहुँ, मार्मा, नौगाढ, लेकम र मालिकार्जुन गाउँपालिका, शैल्यसिखर र महाकाली नगरपालिकाका उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
पहाडी बस्तीमा वर्षकै बढी हिमपात भएसंगै बाली सप्रने भन्दै किसान खुसी भएका छन् । जनजीवन प्रभावित हुनेगरी बढेको चिसोका कारण आगोको साहरा लिनुपरेको छ, अपी हिमालका स्थानीय योगेन्द्र धामीले भन्नुभयो, ‘लामो समयदेखि पानी नपर्दा खेतमा लगाएको बाली सुक्नै लागेको बेला पानी परेपछि राहत महशुस भएको भन्दै कृषक खुसी भएका हुन् । शनिबार बिहानदेखि मौसममा सुधार भएर घाम लागेपछि गाउँबस्तीसम्म पुगेको हिउँ बिस्तारै पग्लिन थालेको मालिकार्जुनका स्थानीय मानसिंह धामीले बताउनुभयो ।
दुई दिनपछि सञ्चार सेवा सूचारुसोमबार रातीदेखि निरन्तर भएको वर्षा र हिमपातका कारण दुई दिनदेखि बन्द रहेको सञ्चार सेवा मौसममा सुधार भएसँगै सुचारु भएको छ । टेलिफोन र इन्टरनेट सेवा शुक्रबारदेखि ठप्प भएको थियो । जिल्लामा सेवा दिँदै आएको नेपाल टेलिकमका ल्यान्डलाइन, जिएसएम, सिडिएमए, एडिसिएल इन्टरनेटका साथै निजि कम्पनी एनसेलको समेत फोन र इन्टरनेटलगायत सञ्चारका सबै सेवा बन्द भएपछि सेवाग्राही समस्यामा परेका थिए । मौसममा सुधार भएपश्चात शनिबारदेखि नेपाल टेलिकमका सबै सेवा सुचारु भएका छन् । एनसेलको भने एकसाता देखि सेवा बन्द रहेको छ ।
बिहिबार बेलुकीदेखि शनिबार बिहानसम्म घाम नलागेका कारण ब्याट्री चार्ज नभएर दुई दिन देखि फोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका टावरहरुसम्म विद्युतीकरण नहुँदा सौर्य उर्जाको भरमा सञ्चालित इन्टरनेट र फोन सेवामा प्राविधिक समस्या नभएपनि मौसमको प्रतिकुलताका कारण बेलाबेला अवरोध हुँदै आएको छ ।घाम नपरेकै कारण नौगाड, मार्मा, अपी हिमाललगायत विभिन्न गाउँपालिका क्षेत्रमा एक साता यता सञ्चार सेवा बन्द भएको स्थानीय प्रेमसिंह ठगुन्नाले बताउनुभयो ।
टेलिकमका टावरहरुसम्म विद्युतीकरण नहुनु, भौगोलिक विकटता र मौसमको प्रतिकुलताका कारण सञ्चार सेवाबाट बेलाबेला बञ्चीत हुनुपरेको ठगुन्नाले बताउनुभयो । अहिलेसम्म जिल्लाका दुई दर्जन टावरहरुमध्ये आधादर्जन टावरमा मात्रै बिद्युत पुगेको छ । बालशिखरस्थित मेन रिपिटर टावरसम्म समेत विद्युतीकरण नहुँदा जिल्लाभरीको सञ्चार सेवा बेलाबेला प्रभावित बन्ने गरेको टेलिकमले जनाएको छ । मार्मा क्षेत्रमा अहिलेसम्म घामकै भरमा सञ्चार चल्ने र रातिको समयमा सञ्चारविहीन हुनुपर्ने अवस्था छ, स्थानीय खेमराज जोशीले भन्नुभयो, ‘टेलिफोन पहुँच पुगेपनि विद्युतीकरण नहुँदा घाम नपरेको बेला सञ्चार सेवाबाट बञ्चित हुनुपरेको छ । शुक्रबारदेखि टेलिफोनसँगै इन्टरनेट सेवा समेत सञ्चालन नहुँदा सेवाग्राहीले समस्या भोग्नुपरेको छ । मौसममा सुधार भइ पारिलो घाम लागेपछि शनिबारदिउँसोदेखि सञ्चार सेवा सुचारु भइसकेको टेलिकमले जनाएको छ ।
चिसो बढेपछि दर्जनौ बिद्यालय बन्दहिमपात र बर्षाका कारण हिमाली क्षेत्रका विद्यालयमा एक महिनाकालागि हिउँदे बिदा दिइएको छ । अपी हिमाल, व्यास गाउँपालिका लगायत हिमाली र उच्च पहाडी क्षेत्रका दर्जनौ विद्यालयले एक महिनाको लामो बिदा दिएका छन् । हिमपात नहुने क्षेत्रका केही विद्यालयले समेत चिसोका कारण केही दिनका लागि विद्यालय बन्द गरेको जनाएका छन् । पठनपाठन सञ्चालन भएका विद्यालयमा समेत चिसोका कारण शिक्षक विद्यार्थीले समूहमा आगो तापेर बस्नुपरेको छ ।
अनियमित विद्युत सेवाकेही दिनयता दार्चुलाको सदरमुकासहित विभिन्न क्षेत्रमा भारतबाट आयात गरिएको विद्युत समयसमयमा आउने जाने भइरहेको छ । छिनछिनमा विद्युत अवरुद्ध हुदा दैनिक कामकाज प्रभावित भइरहेको जय जगन्नाथ फोटो स्टुडियोका सञ्चालक सुरेशसिंह ठगुन्नाले गुनासो गर्नुभयो ।
अनियमित र कम क्षमताको विद्युतका कारण मोबाइल चार्ज गर्न, बत्ती बाल्न, खाना पकाउनलगायत विभिन्न दैनिक र व्यवसायिक कामकाज गर्न समस्या भइरहेको खलंगामा कोठा गरी बस्दै आएका मालीकार्जुनका स्थानीय लोकेन्द्र धामीले गुनासो गर्नुभयो । नेपालतर्फ विद्युत लाइनमा समस्या नभएपनि भारतबाट नै विद्युतमा बेलाबेला अवरोध भइरहेको विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ ।