कान्ति न्यौपाने
काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले माघ १५ गतेदेखि मध्यपहाडी लोकमार्गमा ‘जनसंवाद यात्रा’ अभियान संचालन गर्ने भएको छ ।
नयाँ शक्ति पार्टी, नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘असल राजनीति र समावेशी विकास’का लागि भन्दै १५ गते मंगलबारदेखि मध्यपहाडि लोकमार्ग अन्तरगत पूर्वमा पाँचथरको चिवा भञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म एक महिने ‘जनसंवाद यात्रा’ अभियान संचालन गर्ने जानकारी गराएको हो ।
असल राजनीति, विकास र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन जनतासंगै संवाद गरेर सुझाव दिन अभियान संचालन गर्न लागिएको पार्टीका संयोजक डा. बाबुराम भट्टराईले जानकारी दिनुभयो । हिमाल, पहाड र तराईका सबै जिल्लालाई छुने भएकाले सो अभियान मध्य पहाडि लोकमार्ग भित्र संचालन गर्ने योजना तय गरिएको पनि उहाँले स्पष्ट पार्नुभयो ।
लोकतन्त्रलाई अझै समृद्ध बनाउन पनि अभियानले सघाउ पुर्याउने नयाँ शक्ति पार्टी, नेपालको दावी छ । अभियानमा पार्टी संयोजक भट्टराईको नेतृत्वमा पार्टी हेडक्वाटरका नेताहरु, सम्बन्धित प्रदेश, स्थानीय तह, विभाग र आंगिक तथा पेशागत संगठनका नेताहरु सहभागी हुनेछन । पाँचथरको चिवा भञ्ज्याङबाट सुरु हुने ‘जनसंवाद यात्रा’ अभियानका क्रममा पार्टीले स्थानीय स्तरमै जनसभा, जनसंवाद लगायतका कार्यक्रम संचालन गर्नेछ ।
अभियानका क्रममा जनताले दिएको सुझाव संघीय सरकार र प्रदेश सरकारलाई पनि जानकारी गराइने योजना पनि संयोजक भट्टराईले बताउनु भयो । जनताकै सहभागितामा मुलुकको समृद्धिको अभियानलाई अघि बढाउन पनि अभियानले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।