काठमाडौं । स्वर्गीय गायक तथा संगीतकार पन्नाकाजी शाक्यको दोस्रो वार्षिक स्मृतिमा एक भव्य सांगितिक कार्यक्रमको आयोजना गरी उनको सम्झना गरियो । शनिवार सांस्कृतिक संस्थानको आयोजनामा पन्नाकाजीको दोस्रो वार्षिक पुण्यतिथिमा जमलस्थित राष्ट्रिय नाचघरमा शाक्यद्वारा स्वरवद्ध तथा संगीतवद्ध चर्चित गीतहरु गुञ्जिए ।
स्रष्टा सम्झना नाम दिईएको उक्त कार्यक्रममा स्वर्गीय गायक तथा संगीतकार पन्नाकाजी शाक्यद्वारा स्वरवद्ध तथा संगीतवद्ध चर्चित गीतहरुलाई प्रवेशमान शाक्य, बि. बि. अनुरागी, आकाश थापा, मेनुका पौडेल, शिला बिष्ट अलि, तीर्थ पोखरेल, विपिन घिमिरे, दिपेन्द्र बज्राचार्य लगायतका गायक गायिकाहरुले प्रस्तुत गरेका थिए । कार्यक्रममा पन्नाकाजीको इतिहास, योगदान र सांगितिक यात्राका बारेमा चर्चा समेत गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि चलचित्र निर्देशक एवं साहित्यकार यादव खरेलले शाक्य सबैसंग मिल्ने एक कुशल कलाकार भएको बताए । सांस्कृतिक संस्थानले स्रष्टाहरुको सम्झनामा कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गरे ।
वि. सं. १९८८ साल पुस २४ गते काठमाडौंको ओमबहालमा जन्मिएका पन्नाकाजी २००७ सालमै रेडियो नेपालमा प्रवेश गरेका थिए । उनले २००८ सालदेखि रेडियोमा स्थायी नियुक्ति पाएर २०४० सालसम्म काम गरेका थिए । रेडियो नेपालले २०२३ सालमा आयोजना गरेको आधुनिक गीत प्रतियोगीतामा नारायणगोपाल संगीतमा प्रथम भएका थिए भने पन्नाकाजी गायनतर्फ प्रथम भएका थिए । उनले ‘किन–किन तिम्रो तस्बिर‘ र ‘लोलाएका ती तिम्रा आँखा‘ को पुरानो मेलोडी, नौलाखे तारा, एकानी दुवानी, रात यो नबित्ला, लालीगुराँस फुल्यो है लगायत सिर्जना दिएका छन् । आधुनिक, भजन, स्वदेशगान, लोकगीत र नेपाल भाषाका गरी उनका करिब चार सय गीत रेकर्ड भएका छन् ।
‘तिरिरी मुरली बज्यो वनैमा’, ‘सिरानीमा जुन फुल्यो’ लगायतका चर्चित गीतका स्रष्टा पन्नाकाजीको ८५ वर्षको उमेरमा २०७३ माघ १२ गते ताहाचलस्थित उनकै निवासमा निधन भएको थियो ।