बाँके । कर्णाली र प्रदेश ५ का १० आङ्गिक क्याम्पसका प्राध्यापक र कर्मचारीले भदौदेखिको तलब पाएका छैनन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तरगत ती क्याम्पस प्रदेश तथा स्थानीय तह अनुसार समायोजन नहुँदा प्राध्यापक तथा कर्मचारी तलबबाट बञ्चित भएका हुन् ।
क्याम्पसमा कार्यरत २ सय ३ जना प्राध्यापक तथा कर्मचारीले भदौदेखिको तलब पाएका छैनन् । विश्वविद्यालयले साविकको मध्यपश्चिमका १० क्याम्पसलाई भदौ ११ देखि लागू हुनेगरी आङ्गिक क्याम्पसका रुपमा अङ्गीकार गरेको पत्र दिएको थियो ।
पत्रसँगै ती क्याम्पसले त्रिभुवन विश्वविद्यायसँगको सम्बन्धन तोडेका थिए । मविले भने क्याम्पस प्रमुखलाई काम गर्न जिम्मेवारी दिनेबाहेक अरू प्रक्रिया पूरा गर्न नसकेको आङ्गिक क्याम्पसका प्राध्यापकहरुको भनाई छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बाँकेको बागेश्वरी बहुमुखी, सुर्खेतको भेरी, जाजरकोटको भेरी ज्ञानोदय, कालीकोटको तीला कर्णाली, मुगुको रारा, मुसिकोटको अलङ्गा बहुमुखी, दैलेखको नारायण, बर्दियाको बबई बहुमुखी , सुर्खेतको जनता बहुमुखी र रोल्पाको जलजला बहुमुखी क्याम्पसलाई आङ्गिक क्याम्पसको रुपमा घोषणा गरेको छ ।
तलब नपाएपछि प्राध्यापक तथा कर्मचारीहरुले सर्घष समिति नै बनाएका छन् । आङ्गिक क्याम्पस समायोजन सङ्घर्ष समितिका संयोजक शेरबहादुर रायमाझीले मविले समायोजनको प्रक्रिया अगाडि नबढाउँदा यो समस्या आएको बताउनुभयो ।
‘‘हामीले आङ्गिक क्याम्पसलाई समायोजनका लागि सबै प्रक्रिया पूरा गर्दासमेत समायोजन हुनसकेको छैन’ उहाँले भन्नुभयो, ‘हामीले कागजी प्रक्रिया पु¥याउँदा पनि कहिलेसम्म तलब पाउने ? उल्टै समायोजनको प्रक्रिया र कार्यविधि सम्बन्धमा सङ्घर्ष समितिले मविका पदाधिकारीसँग बुझ्न जाँदा कुरा नै गर्न नचाहने ?’ अध्यक्ष रायमाझीले तलब माग्दा सम्बिन्धत पक्षले अपमानजनक र धम्कीपूर्ण व्यवहार गरेको बताउनु भयो ।