स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा विश्वभरजस्तै हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार अर्थात २७ तारिखमा ‘कुष्ठरोग’ कार्यक्रमको गन्तव्य, गलत धारणा र विभेद अन्त्य’ भन्ने नाराकासाथ ६६ औँ विश्व कुष्ठरोग दिवस मनाइएको छ । विश्व कुष्ठरोग दिवस मनाइँदा कुष्ठरोगबारे आवश्यक जानकारी लिनु वाञ्छनीय देखिन्छ । कुष्ठरोगविरुद्ध अन्तर्राष्ट्रिय महासंघको आव्हानमा जनचेतना जगाइ कुष्ठरोग संक्रमण रोकथाम र कुष्ठरोगबाट हुने दोश्रो ग्रेडको अशक्तताबाट बचाउने उद्देश्यले विश्व कुष्ठरोग दिवस मनाइएको हो ।
ऐतिहासिक पृष्ठभूमिःसर्वप्रथम ६०० बिसीतिर इजिप्ट, चीन र भारतको प्राचीन सभ्यतासँगै कुष्ठरोग पहिचान भइसकेको पाइन्छ । सन् २०१५ मा विश्वभरमा २ लाख १२ हजार कुष्ठरोगका बिरामी भेटिइएका थिए, तीमध्ये ६० प्रतिशत भारतमा थिए भने दोश्रोमा ब्राजिल र इन्डोनेसियाका बिरामी पर्थे ।
[caption id="attachment_83568" align="alignright" width="150"]
–गंगाराज अर्याल[/caption]
कुष्ठरोगका नयाँ बिरामीमध्ये झण्डै ९ प्रतिशत बालबालिका पाइएकामा झण्डै ७ प्रतिशत आँखाले देखिने विकृत अथवा अपांगता पाइएका छन् । सन् २०१६ मा झण्डै २ लाख १५ हजार कुष्ठरोगी पाइएका थिए भने सन् २०१७ मा कुष्ठरोगबाट बालबालिकामा हुने विकृति रोकथामसम्बन्धी कार्यक्रम प्रवद्र्धन गरिएको थियो । त्यसवर्ष झण्डै २ लाख ११ हजार कुष्ठरोगी पाइएका थिए भने विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एसियाका १० हजारजति कुष्ठरोगका बिरामी थिए ।
नेपालमा १९ औँ शताब्दीमा खोकनामा स्थापित कुष्ठरोगशाालाबाट उपचार शुरु गरिएको थियो भने सन् १९६० मा कुष्ठरोग सर्वेक्षण गरिएको थियो । सन् १९६२ देखि कुष्ठरोगको उपचार सेवा बहुऔषधि प्रणालीबाट शुरु गरिएको हो भने सन् १९८७ देखि कुष्ठरोगलाई जनस्वास्थ्य कार्यक्रममा एकीकरण गरी सन् १९९६ देखि ७५ जिल्लामा बहुऔषधि उपचार प्रणाली लागु गरिएको थियो ।
सन् २०१७ सम्ममा विश्वका १ सय ५९ मुलुकमा कुष्ठरोगको समस्या देखिएको छ । जहाँ कुष्ठरोगको रोग लाग्ने (प्रिभेलेन्स) दर १० हजार जनसंख्यामा शून्य दशमलव २५ पाइएको छ । यी मुलुकका १ लाख ९२ हजार २ सयजति कुष्ठरोगीको उपचार गरिएको थियो । तीमध्ये १२ हजार ६ सय ७१ (प्रति १० हजारमा) २ दशमलब ८ नयाँ बिरामी थिए भने २ सय ३८ बालबालिकासहित १२ हजार २ सय जति (६ प्रतिशत) मा दोश्रो ग्रेडको अशक्तता भएका पाइएका थिए ।
वर्तमान अवस्था कस्तो छ ?हरेक वर्ष विश्वभर २ लाख २० हजार भन्दा बढी व्यक्ति कुष्ठरोगबाट संक्रमित हुन्छन् । स्वास्थ्य सेवा विभागको २०७३–७४ को वार्षिक प्रतिवेदनअनुसार नेपालमा ३ हजार २ सय १५ कुष्ठरोगका नयाँ बिरामी पाइएका छन् । तीमध्ये २ हजार ६ सय २६ कुष्ठरोगको उपचार गरिरहेका छन् भने ३ हजार ४ सयको पूर्ण उपचार भइसकेको छ । नेपालमा कुष्ठरोगको रोग लाग्ने (प्रिभेलेन्स) दर प्रति १० हजार जनसंख्यामा शून्य दशमलब ९२ छ । स्वास्थ्य मन्त्रालयको प्रतिवेदनअनुसार नेपालमा नयाँ कुष्ठरोग लाग्ने (प्रिभेलेन्स) दर ११.२३ छ भने दोश्रो ग्रेडको अशक्तता हुने दर २.७१ देखिन्छ । नेपालमा २ सय २० बालबालिकामा कुष्ठरोगको संक्रमण भएको प्रतिवेदनमा उल्लेख छ । तर प्रभावकारी सर्वेक्षण भने हुनसकेको छैन ।
कुष्ठरोग के हो ?कुष्ठरोग माइकोब्याक्टेरियम लेप्रे किटाणुद्वारा उत्पन्न गराउने तर ढिलो विकास हुने दीर्घ सरुवा रोग हो । यसले खास गरी छाला, सतही स्नायु र माथिल्लो श्वासप्रश्वास नलीको मांसपेसीलाई असर गर्दछ । वैज्ञानिक ह्यान्सनले पत्ता लगाएकाले यसलाई ‘ह्यानसन्स रोग’ पनि भनिन्छ । कुष्ठरोगले नवजात शिशुदेखि वृद्धावस्थाका मानिसलाई समेत संक्रमण गर्दछ ।
रोग सर्ने अवधि ?कुष्ठरोगका किटाणु स्वस्थ मानिसको शरीरभित्र प्रवेश गरेपछि रोग संक्रमण गराउन सामान्यतया ५ वर्ष र त्यसभन्दा धेरै वर्ष पनि लाग्न सक्छ ।
कुष्ठरोग कसरी सर्छ ?वास्तवमा कुष्ठरोग यसैगरी सर्दछ भनेर ठोकुवा गर्न गाह्रो छ, तर कुष्ठरोगबाट संक्रमित बिरामीसँग स्वस्थ व्यक्तिको संसर्ग भइरहे यो रोग सर्न सक्छ भन्ने आम वैज्ञानिकको विश्वास छ । तथापि कुष्ठरोगीको थुक, सिंगानका छिटा हावाद्वारा स्वस्थ व्यक्तिभित्र प्रवेश गरे संक्रमण हुने सम्भावना बलियो भएको धेरै वैज्ञानिकले विश्वास गर्दछन् । कुष्ठरोगका किटाणु विस्तारै बढ्ने र अधिकांश स्वस्थ मानिसमा यो रोगविरुद्ध प्राकृतिक रुपमै रोगसँग लड्न सक्ने क्षमता (इम्युनिटी) भएकाले रोगीसँगको संसर्ग भए पनि त्यति छिट्टै सर्न सक्दैन ।
चिन्ह र लक्षणहरु के के हुन् ?१. छालामा लाटो, फुस्रो र चेतना नभएका दाग आउनु अथवा औँला तथा खुट्टा झम्झमाउनु ।२. अनुहार, हात र खुट्टाका मांसपेसीको पक्षघात हुनु र घोच्दा, चिमोट्दा थाहा नहुनु ।३. अनुहार, आँखीभौँ र कानको लोती बाक्लो र गिर्खा हुनु ।४. स्नायु बाक्लो हुनु र मांसपेसीलाई क्षति पु¥याई कुरुप तथा अशक्त बनाउनु ।५. छालाको नमूना परीक्षण गर्दा कुष्ठरोग भएको यकिन हुनु ।
रोकथाम के हो ?कुष्ठरोगको रोकथाम शंका लाग्नासाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराई बहुऔषधि सेवन गर्नु हो । औषधि सेवन गरेको एकहप्ताभित्रै कुष्ठरोगका बिरामीबाट स्वस्थ व्यक्तिलाई हुने संक्रमण रोकिन्छ । यसमा खोप नभएकाले हरेक सरकारी स्वास्थ्य संस्थामा निशुल्क पाइने औषधि सेवन शुरु गर्नु नै कुष्ठरोग रोकथाम वा खोप हो ।
उपचार कसरी गर्नेे ?सन् १९८१ देखि बहुऔषधि सेवनबाट कुष्ठरोगको प्रभावकारी उपचार शुरु गरिएको हो । सन् १९८४ मा विश्व स्वास्थ्य संगठनको विज्ञ समितिले बहुऔषधि प्रणालीको सूत्रपात गरेपछि १९९५ देखि विश्व स्वास्थ्य संगठनको सहयोगमा कुष्ठरोगका लागि निशुल्क बहुऔषधि उपलब्ध गराउन थालेको हो भने नेपालमा १९९६ देखि ७५ जिल्लामा नै बहुऔषधिबाट उपचार सेवा शुरु गरिएको हो । कुष्ठरोग संक्रमण गर्ने दुई किसिमका किटाणुमध्ये पौसिबेसिलरीका कारणले लाग्ने कुष्ठरोगमा रिफाम्पिसिन र ड्याप्सोन गरी दुई किसिमका औषधि र मल्टिबेसिलरीका कारण लाग्ने कुष्ठरोगका लागि दिइने बहुऔषधिमा रिफाम्पिसिन, ड्याप्सोन र क्लोफेमाजिन औषधि दिइन्छ । समयमै परीक्षण गरी स्वास्थ्यकर्मीको सल्लाहबमोजिम बहुऔषधि प्रणाली औषधि ६ महिनादेखि १ वर्षसम्म नियमित सेवन गरे कुष्ठरोग निको हुनुका साथै दोस्रो दर्जाको अशक्तता वा विकृति हुन दिँदैन ।
कुष्ठरोग निवारण के हो ?कुष्ठरोग निवारणको परिभाषाअनुसार, हरेक १० हजार जनसंख्यामा १ जनासम्म मात्र कुष्ठरोगको बिरामी भएको अवस्थामा निवारण भएको मानिन्छ । त्यसैले सन् २००५मा विश्व स्वास्थ्य संगठनले कुष्ठरोग जनस्वास्थ्य समस्याका रुपमा नरहेको अर्थात् ‘निवारण’ भएको घोषणा गरेको हो ।
कुष्ठरोगको निवारण गर्दै सन् २०२० सम्ममा विश्वलाई नै कुष्ठरोगलाई शून्य अवस्था अथवा कुष्ठरोगबाट मुक्त गराउन विश्वव्यापी कुष्ठरोग रणनीति सन् २०१६–२०२० पारित गरिएको छ । जसअनुसार सन् २०२० सम्ममा दोश्रो ग्रेडका अशक्तता भएका नयाँ कुष्ठरोग संक्रमित बालबालिका नहुने, प्रति १० हजार जनसंख्यामा दोश्रो ग्रेडका अशक्तता भएका कुष्ठरोगी एकजना भन्दा बढी नहुने र विश्वका कुनै पनि मुलुकमा कुष्ठरोग भएका बिरामीविरुद्ध कुनै किसिमको भेदभाव र अपहेलना नगर्ने निर्णय गरिएको छ ।नेपालमा सन् १९९९–२००० तथा २००१÷२००२ मा दुईपटक राष्ट्रिय कुष्ठरोग निवारण अभियान सञ्चालन गरिएको थियो । सन् २००९ सम्ममा कुष्ठरोग निवारण दिगो र ७७ जिल्लामध्ये ६ जिल्लामा कुष्ठरोगका बिरामी नै पाइएनन् भने ५४ जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जना भन्दा कम र १७ जिल्लामा प्रति १० हजार जनसंख्यामा १ जनाभन्दा बढी संक्रमित भएको प्रतिवेदनले जनाउँछ ।
कुष्ठरोग कार्यक्रमको गन्तव्यमा सरकारको प्रयास के छ ?
- ड्ड कुष्ठरोग नियन्त्रण वा निवारण वा शून्य बिरामीको अवस्थामा पुग्न सरकारले निकै ठूलो प्रयास गर्नु पर्ने हुन्छ । तर यो कार्यक्रमलाई प्राथमिकता नै दिइएको छैन । शंकास्पद कुष्ठरोग संक्रमित बिरामीको खोजी गर्नुपर्ने हुन्छ । तर समुदायस्तरसम्मका र नयाँ नियुक्त स्वास्थ्यकर्मीलाई कुष्ठरोगबारे अभिमुखीकरण–तालिम प्रदान गर्न सकिएको छैन ।
- कुष्ठरोग नियन्त्रण वा निवारण गर्ने धेरै गैरसरकारी निकाय छन् । तर अधिकांश निकायहरु कमाइ खान मात्र व्यस्त देखिन्छन् । किनभने यी संस्थाले सरकारलाई आफ्नो इशारामा नचाउन सकेका छन् ।
- कुष्ठरोगी भएका मुलुकका अधिकांश उच्च र मध्य पहाडी भूभागमा सर्वेक्षण नै पुगेको छैन । यातायात सञ्जाल भएका सकेसम्म तराइका सजिला जिल्लामा सर्वेक्षण गरिन्छ, प्रतिवेदन तयार गरिन्छ ।
- औषधिको प्रतिक्रिया तथा विकृति आएमा समुदायस्तरसम्मका बिरामीको व्यवस्थापन हुन सकेको छैन ।
कुष्ठरोग नियन्त्रणमा चुनौति के छ ?१. कुष्ठरोग संक्रमित बिरामीले पारिवारिक अपहेलना, सामाजिक भेदभाव र सामाजिक बहिष्कार हुने डरले परीक्षण गराउँदैनन् ।२. समुदायस्तरमा कुष्ठरोगको परीक्षण र उपचार हुनसक्ने जानकारी नपाइ कुष्ठरोगबाट विकृत वा अशक्तता भई जीवन बिताउन बाध्य छन् ।३. कुष्ठरोगको सर्वेक्षणमा अत्यन्त फितलो कार्यान्वयनले गर्दा सम्भावित कुष्ठरोगका सबै बिरामीको संक्रमण (केस फाइन्डिङ) दर पाउन सकिएको छैन ।४. शंका लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार हुन सक्छ भन्ने कुराको जानकारी समुदायस्तरसम्म पुग्न सकेको छैन ।५. कुष्ठरोगका बिरामी पत्ता लगाई उपचार सेवाका अत्यन्त फितला कार्यक्रम छन् । यसले गर्दा मुलुकमा भएका सबै कुष्ठरोगीको उपचार गर्न सकिएको छैन ।६. कुष्ठरोगका बिरामीको खोजपडतालमा प्रभावकारी कदम चालिएको पाइँदैन । नियमित र सम्भावित जिल्ला÷क्षेत्रमा बिरामीको पहिचान र उपचार सेवा पुग्न सकेको छैन ।७. समुदायस्तरसम्म स्वास्थ्य सेवा प्रणालीमा कार्यरत स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयम् सेवकलाई कुष्ठरोगका बिरामी पत्ता लगाइ उपचार गर्ने सिलसिलामा अभिमुखीकरण र तालिम पुग्न सकेको छैन ।
कुष्ठरोगमा स्वास्थ्य प्रवद्र्धन कसरी गर्ने ?
कुष्ठरोग निको हुने रोग हो । त्यसर्थ कुष्ठरोगको शंका लाग्नासाथ तुरुन्त नजिकको स्वास्थ्य संस्थामा परीक्षण गराई नियमित र पूर्ण उपचार शुरु गरी हाल्नु पर्दछ ।
- कुष्ठरोगका बिरामीले स्वास्थ्यकर्मीको सल्लाहबमोजिम नियमित ६ महिनादेखि १ वर्षसम्म औषधि खाएमा यो रोग पूर्णरुपमा निको हुन्छ ।
- चेतना नहुँदा कुष्ठरोगलाई सकेसम्म लुकाएर राख्ने गरिन्छ । तर समयमै परीक्षण र उपचार नगरेमा दीर्घरोग भई अशक्तता समेत हुन सक्छ भन्ने जानकारी पु¥याउनु पर्दछ ।
- कुष्ठरोगका बिरामी शहरी क्षेत्रका सडक, पेटीमा मागेर बस्न बिरामीलाई रु.१ वा २ दिनुका साटो कुष्ठरोग क्लिनिकमा पठाउनु पर्दछ । किनभने बिरामीले औषधि प्राप्त गर्दछ र उसका अशक्त र विकृत अंगको स्वस्थ व्यवस्थापन हुन सक्छ ।
- निःशुल्क परीक्षण गरी नियमित औषधि सेवन गरेमा कुष्ठरोग निको हुने र अपांगताबाट बच्न सकिने सन्देश समुदायस्तरसम्म पु¥याउनु पर्दछ ।
- हरेक वर्ष मनाइने विश्व कुष्ठरोग दिवस शहरी क्षेत्रका ठूला होटलका बन्द कोठामा मात्र नभै हरेक स्वास्थ्य संस्था, स्थानीय तह र समुदायस्तरमा मनाइनु पर्दछ ।
- कुष्ठरोगका बिरामीलाई माया, हेरचाह गरी नियमित र पूर्णरुपमा औषधि सेवन गर्न सहयोग गर्नु पर्दछ ।
- कुष्ठरोगका बिरामी पत्ता लगाई उपचार सेवा दिने सिलसिलामा सवै जिल्लामा समुदायस्तरसम्म सेवारत स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम् सेवकलाई अभिमुखीकरण–तालिम प्रदान गरी कुष्ठरोग निवारण कार्यक्रममा परिचालन गरिनु पर्दछ ।पाणिनि –८, पाली, अर्घाखाँची ।(स्वास्थ्य सेवामा ४० वर्ष सेवा गरी सेवा निवृत्त)