ट्रिपरको ठक्करबाट वालिकाको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ सिसौघारीमा स्थानीयले ११ वटा ट्रिपरमा आगजनी गरेका छन् ।
सोमबार विहान बिराटचौकबाट हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । आक्रोसित स्थानीयले ठक्कर दिने टिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अरु ट्रिपरलाई रोकेर आगजनी गरेका हुन् ।
बाटो काट्दै गरेकी बालिकालाई टिपरले ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी पोष्ट विराटचौकले जनाएको छ । बालिकालाई ठक्कर दिए लगत्तै आक्रोसित बनेका स्थानीय बासिन्दाले टिपरमा आगजनी गरेका छन् ।
वालिकालाई ठक्कर दिएर भागेको टिपर बेलेपुर चौक नजिकै पुगेर सडक छेउको रुखमा ठोक्किएर दुर्घटनामा परेको थियो । त्यहि मौकामा स्थानीयले टिपरमा पेट्रोल छर्किएर आगो लगाइदिएको इलाका प्रहरी कार्यालय बेलबारी प्रहरीले जनाएको छ । आगजनी पछि निभाउन गएको दमकललाई स्थानीयले अवरोध गरेपछि टिपरहरु जलेर पूर्ण रुपमा क्षति पुगेको हो ।
दुर्घटनापछि स्थानीय बासिन्दाले सडकमा गुडिरहेका अन्य टिपरमा पनि तोडफोड गरेका छन् । आगजनीबाट को१ख ५८३३ र को१ख ६४६३, को१ख ६५६३ नम्बरको टिपरको मात्रै नम्बर खुलेको छ ।
स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरिरहेकोले त्यहाँको स्थिती तनावग्रस्त रहेको छ । उक्त सडक खण्डमा गुड्ने टिपरको ठक्करबाट कैयौं मानिसहरुको मृत्यू भइसकेको छ ।
स्थानीय बासिन्दाले टिपर आतंक रोक्नु पर्ने माग गर्दै प्रदर्शन थालेपछि स्थिती असामान्य बनेको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाले घटनास्थलमा जान खोजेको प्रहरीमाथि समेत ढुंगामुडा गरिरहेका छन् ।
स्थानीयको अवरोधका कारण घटनास्थलमा प्रहरी पुग्न नसक्दा त्यहाँको सडकमा गुडिरहेका सवारी साधनलाई पनि आक्रोसित बनेकाहरुले निशाना बनाइरहेका छन् । लापरवाहीका कारण टिपर आतंक बढेको भन्दै स्थानीय बासिन्दाले प्रहरी र प्रशासन विरुद्ध चर्का नारावाजी गरिरहेका छन् । घटनास्थलमा पुगेका प्रहरीलाई समेत स्थानीय बासिन्दाले अवरोध गरेका छन् ।