मोरङ । ट्रिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि सुन्दरहरैंचा नगरपालिकाकाे वडा नम्बर ९ स्थित विराटचाेक तनावग्रस्त बनेको छ । स्थिति असामान्य बनेपछि प्रशासनले कर्फ्यू लगाएकाे छ ।
बालिकाको मृत्युपछि आक्रोसित बासिन्दाले आधा दर्जन बढी ट्रिपरमा आगजनी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले विराटचोकदेखि बेलेपुरसम्म निषेधाज्ञा जारी गरेको छ ।
घटनाले उग्र रुप लिएपछि विराटचौक–बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान सवा ११ बजेबाट निषेधाज्ञा जारी गरिएको हाे ।
निषेधाज्ञाका बाबजुत बासिन्दाले बालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेका छन् । आधा दर्जन ट्रिपरमा आगजनीको घटनापछि जिल्ला सुरक्षा समितिकाे आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको समितिले जनाएको छ । निषेधाज्ञाको सूचना गराइए पनि बासिन्दाले प्रदर्शन भने जारी राखेका छन् ।
![](https://45.77.241.73/wp-content/uploads/2019/01/tiperma-agjani.jpg)
सोमबार विहान बिराटचौकबाट सुनदर हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको ट्रिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । बाटो कट्दै गरेकी बालिकाको ट्रिपरको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको मृत्यूपछि आक्रोसित बसेका त्यहाका स्थानीयले ठक्कर दिने ट्रिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अन्य ट्रिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन् । आगजनीबाट को १ ख ५८३३ र को१ख ६४६३, को १ ख ६५६३ नम्बरको ट्रिपरको मात्रै नम्बर खुलेको छ ।
ट्रिपरमा लागेको आगो निभाउन गएको दमकललाई स्थानीयले अवरोध गरेपछि ट्रिपरहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।