गणेश आचार्यदाङ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश ५ लेदाङका दशवटै स्थानीय तहमा अध्यक्ष र सचिवको टुंगो लागाएको छ । बुधबार बसेको प्रदेश कार्यालयको बैठकले तीनवटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टुंगो लगाएको हो ।
प्रदेश इन्चार्ज शंकर पोखरेलका अनुसार तुलसीपुर उपमहानगरपालिकामा पूर्व माओवादी केन्द्रका खुशीराम चौधरी अध्यक्ष र पूर्वएमालेका माधव ओली सचिव बन्नुभएको छ । घोराही उपमहानगरपालिकामा पूर्व एमालेका राममणी पाण्डे अध्यक्ष र पूर्वमाओवादी केन्द्रका विश्वराज आचार्य सचिव हुनुभएको छ । लमही नगरपालिकामा पूर्व एमालेका कुलबहादुर केसी अध्यक्ष र पूर्वमाओवादी केन्द्रका बसन्तराज शर्मा ‘विक्रान्त’ सचिव बन्नुभएको छ ।
यस्तै, राप्ती गाउँपालिकामा पूर्व माओवादी केन्द्रका धर्मराज अधिकारी अध्यक्ष र पूर्व एमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ । गढवा गाउँपालिकामा पूर्व एमालेका कालीराम चौधरी अध्यक्ष र पूर्व माओवादी केन्द्रका यमनारायण पोख्रेल ‘विश्वास’ सचिव बन्नुभएको छ ।
त्यसैगरी, राजपुर गाउँपालिकामा पूर्व माओवादी केन्द्रका चक्रबहादुर खड्का ‘शिखर’ अध्यक्ष र पूर्व एमालेका शंकर चौधरी सचिव बन्नुभएको छ । शान्तिनगर गाउँपालिकामा पूर्व एमालेका शेरबहादुर भण्डारी अध्यक्ष र पूर्व माओवादी केन्द्रका गोविन्द भण्डारी सचिव बन्नुभएको छ । दंगीशरण गाउँपालिकामा पूर्व एमालेका भरत अधिकारी अध्यक्ष र पूर्व माओवादी केन्द्रका धनवीर चौधरी सचिव बन्नुभएको छ ।
बंगलाचुली गाउँपालिकामा पूर्व माओवादी केन्द्रका डोमाकान्त कँवर अध्यक्ष र पूर्व एमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ । बबइ गाउँपालिकामा पूर्व एमालेका जीतबहादुर ओली अध्यक्ष र पूर्व माओवादी केन्द्रका डिल्लीबहादुर बुढाथोकी सचिव बन्नुभएको छ । दाङका दश स्थानीय तहमध्ये ६ वटाको अध्यक्ष पूर्वएमालेले पाएको छ भने चार वटा स्थानीय तहको अध्यक्ष पूर्व माओवादी केन्द्रले पाएको छ ।
प्रदेश नम्बर ५ का अन्य ९ जिल्लामा पार्टी नेतृत्वको टुंगो यसअघि नै लागे पनि दाङ, रोल्पा र अर्घाखाँचीका स्थानीय तहका अध्यक्ष र सचिवको टुंगो लाग्न सकेको थिएन ।