गणेश आचार्यदाङ । जिल्लामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को एकता टुंगिएको छ । नेकपाले भागवण्डाको आधारमा जिल्लादेखि स्थानीय तहसम्मको एकता छिनोफानो गरेको हो । १० स्थानीय तह मध्ये ६ वटामा तहको नेतृत्व विघटित एमालेको भागमा परेको छ । माओवादी केन्द्रले ४ तहमा नेतृत्व गर्ने अवसर पाएको छ ।
प्रदेश ५ का अन्य नौ जिल्लाको टुङ्गो लागे पनि दाङ, रोल्पा र अर्घाखाँचीका स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लाग्न सकेको थिएन । प्रदेशको बुधबारको बैठकले तीन वटै जिल्लाका स्थानीय तहमा अध्यक्ष र सचिव टु्ङ्गो लगाएको हो ।
घोराही उपमहानगरपालिकामा एमालेका राममणि पाण्डे अध्यक्ष र माओवादीका विश्वराज आचार्य सचिव हुनुभएको छ । तुलसीपुर उपमहानगरपालिकामा माओवादीका खुशीराम चौधरी अध्यक्ष र एमालेका माधव ओलीले सचिवकाे जिम्मेवारी समाल्नु भएको छ । लमही नगरपालिकामा एमालेका कुलबहादुर केसी अध्यक्ष र माओवादीका वसन्तराज शर्मा सचिव बन्नुभएको छ ।
राप्ती गाउँपालिकामा माओवादीका धर्मराज अधिकारी अध्यक्ष र एमालेका टोपबहादुर झाँक्री सचिव बन्नुभएको छ । गढवा गाउँपालिकामा एमालेका कालीराम चौधरी अध्यक्ष र माओवादीका यमनारायण पोख्रेल सचिव बन्नुभएको छ । राजपुर गाउँपालिकामा माओवादीका चक्रबहादुर खड्का अध्यक्ष र एमालेका शङ्कर चौधरी सचिव बन्नुभएको छ ।
बङ्गलाचुली गाउँपालिकामा माओवादीका डोमाकान्त कुँवर अध्यक्ष र एमालेका पुष्प भण्डारी सचिव बन्नुभएको छ । बबई गाउँपालिकामा एमालेका जीतबहादुर ओली अध्यक्ष र माओवादीका डिल्लीबहादुर बुढाथोकी सचिवकाे जिम्मेवारी समाल्नु भएकाे छ । शान्तिनगर गाउँपालिकामा एमालेका शेरबहादुर भण्डारी अध्यक्ष र माओवादीका गोविन्द भण्डारी सचिव बन्नुभएको छ । दंगीशरण गाउँपालिकामा एमालेका भरत अधिकारी अध्यक्ष र माओवादीका धनवीर चौधरी सचिव बन्नुभएको छ ।
बैठकले फागुनको पहिलो साता प्रदेशको बैठक र प्रशिक्षण गर्ने निर्णय गरेको छ । फागुन १ गतेको जनयुद्ध दिवस र फागुन १४ देखि २१ गतेसम्म मनाइने शहीद सप्ताह जिल्लाको सापेक्षतामा आयोजना गर्ने निर्णय भएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिनुभयो ।