प्रमोद कुमार साह
धनुषा । जहाँ एकातर्फ प्रमुख जिल्ला अधिकारी (सिडियो)लाई आवश्यकता भन्दा बढी अधिकार दियो भनेर प्रदेश सरकारले संघीय सरकारलाई चुनौति दिंदै आएको छ । त्यही प्रदेश नं २ कै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले कार्यालयमा सुशासन कसरी आउँछ भनेर उदाहरणीय कार्य गर्दै आउनुभएको छ ।
चरम भ्रष्टाचारको अखाडा रहेको जिल्ला प्रशासन कार्यालय धनुषा अहिले अनुभूति गर्न मिल्नेगरी परिवर्तन भएको छ । परिवर्तनको वाहक बन्नुभएको छ, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेल । उहाँ आएपछि फोहरै फोहरले असरल्ल देखिने जिल्ला प्रशासन कार्यालय धनुषाको प्रांगणलाई सफा र सुन्दर बनाइयो । दैनिक जसो दलालको अखडा बन्दै आएको सिडिओ कार्यालयमा उनीहरुलाई पस्न मनाही गरिएको छ । त्यही अर्को तर्फ सेवाग्राहीलाई छिटो छरितो सेवा दिनका लागि फर्म जम्मा गर्ने र माइकिङद्वारा सेवाग्राहीको काम छिटो छरितो गरिन्छ । काम गर्नका लागि सेवाग्राही झ्यालमा झुण्डिनुपर्ने बाध्यता हटाइएको छ ।
सेवाग्राहीले आफनो फारम जम्मा गरेपछि उनीहरु बस्ने ठाउँको व्यवस्था गरिएको छ । फारम जम्मा गर्नका लागि पनि रेडलाइन बनाइएको छ ,जसलाई पार गर्न मनाहि गरिएको छ । त्यसैगरि फारममा हुलाक टिकट टाँस्दा जिल्ला प्रशासन कार्यालयमा पसल थापेका हुलाक टिकट बिक्रीकर्ताले टिकटको मूल्य भन्दा बढि लिँदै आएकोमा त्यो प्रथा हटाइएको छ । अहिले नागरिक कक्ष नै वनाएर हुलाकका कर्मचारी खटाएर सुपथ मूल्यमा टिकट विक्री गरिदै आएको छ । यतिमात्र होइन सेवाग्राहीहरुको सुविधाका लागि शुद्ध पानीको व्यवस्थाका साथै चियाको समेत व्यवस्था पनि गरिएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालयलाई जिल्लाको प्रत्येक स्थानीय तहको आफ्नै कार्यालय रहेको भान गराउनका लागि सवै स्थानीय तहको नाम लेखिएको फुलको गमला पनि जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । कार्यालयमा दलाल पुनः हाबी हुन नदिन सेवाग्राहीलाई कार्यालयमा पस्न समस्या नहोस् भनि मुख्य गेटबाट प्रहरीलाई समेत हटाइएको छ ।
कार्यालयलाई अनुगमन गर्न आएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले कार्यालयमा भइरहेको काम हेरेर वर्तमान सिडिओको खुलेरै प्रशंसा गर्नुभयो । उहाँले अन्य कार्यालयको तुलनमा सिडिओ कार्यालयमा शुसासनको अनुभुति राम्रो भएको बताउनुभयो ।
यता कार्यालयलाई यसरी कसरी परिवर्तन गर्नुभयो ? भनेर सिडिओ प्रदिपराज कँडेललाई जनताकर्मीले प्रश्न गर्दा उहाँले भन्नुभयो, ‘यस्तो परिर्वतन सबैको सहयोगले सम्भव भएको हो ।’ उहाँले यो शुरुवात भएको र आफनो कार्यकालभित्र जिल्ला प्रशासन कार्यालयको कार्य सम्पादन पद्दति परिवर्तन गरेरै छाड्ने बताउनुभयो ।
सेवाग्राहीहरु पनि नगरपालिकाको कामबाट सन्तुष्ट देखिन्छन् । नागरिकता वनाउनका लागि आएका गणेशमान चारनाथ नगरपालिकाका मनिष लामाले सवै काम छिटो छरितो भईरहेको बताए । काम गराउनका लागि घुस त मागिएको छैन ? जवाफमा उनले भने, घुस मागिएको छैन । त्यसैगरि अर्का सेवाग्राहि इन्द्रदेव साहले पहिलेको तुलनामा अहिले पुर्णरुपमा परिवर्तन आएको र निकै सहज ढंगले काम हुने गरेको बताए । अर्कि एक सेवाग्राहि महिलाले भनिन्, ‘काम ठिक ठाकै हुदै छ ,घुस माग्यो भने हल्लीखल्ली मचाईदिन्छु ।’ उनको यो भनाईले सेवाग्राही सचेत भएको पुष्टि भएको छ ।
सरकारी कार्यालयहरूमा हुने भ्रष्टाचारमध्ये सबैभन्दा बढी चलखेल हुने अड्डाको रुपमा चिनिएको प्रशासन कार्यालयमा कर्मचारीसँगको मिलेमतोमा धेरै पैसा लिएर काम गराउन पल्केका विचौलियाहरु केही दिनयता एकाएक हराएको देखिएको हो । जिल्ला प्रशासन कार्यालयकै संरक्षणमा सर्वसाधरणसँग मनपरी रकम असुलेर काम गर्न पल्केका बिचौलिहरु माथि केहीदिनयता कडाई गरिएपछि सेवागा्रही हर्षित देखिएका छन् । जिल्ला प्रशासन कार्यालय धनुषामा कर्मचारीहरुले मनैदेखी कार्य गरुन भन्ने उलेश्यले सिडिओले प्रत्येक महिना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्ने परिपाटी पनि शुरु गर्नुभएको छ ।
को हुन् प्रदीपराज कँडेल ?
रौतहटको जुडेबेला पुर्ख्यौली घर भएका कँडेल २०४६ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएको हो । सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयको सचिवबाट सरुवा भएर उहाँ धनुषाको प्रमुख जिल्ला अधिकारी बन्नुभएका कँडेलले यसअघि विभिन्न जिल्लामा सिडिओ बनेर काम गरिसक्नुभएको छ । हाल काठमाडौंको घट्टेकुलोका स्थायी बासिन्दा कँडेल पाँचथरमा सिडिओ रहँदा अपांगता, जेष्ठ नागरिक र असहायमैत्री कार्यकक्ष बनाउनुभएको थियो र त्यो कामको मूल्यांकन गर्दै एन्टेना फाउन्डेसनले उहाालाई देशभरकै उत्कृष्ट प्रमुख जिल्ला अधिकारीको रुपमा सम्मान गरेको थियो । उहाँ सन् २०१५ मा देशभरका उत्कृष्ट कर्मचारीको पुरस्कार ‘इन्टिग्रीटी आइडल २०१५’ बाट समेत सम्मानित हुनुभएको थियो ।
कँडेलले सोलुखम्बुमा प्रमुख जिल्ला अधिकारी रहँदा ‘टच टु फाइन्ड’ अर्थात खोजेको कागजात तुरुन्तै भेटिने गरी कार्यालय व्यवस्थापन चुस्त दुरुस्त बनाउने अभियान सुरु गर्नुभएको थियो । उहाँले जुन जिल्लामा गएपनि क्लोथ बैंक (कपडा बैंक) स्थापना गरेर गरिब तथा विपन्नलाई सहयोग गर्दै आउनुभएका कँडेले यो पुनित कार्यलाई धनुषामा पनि निरन्तरता दिनुभएको छ । हालै उहाँले पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटको चाँदी पुल नजिक १५ दिनदेखि सडकमा बेवारिसे अवसथामा लडेकी वृद्धालाई उद्दार गरेर अस्पताल पुर्याएको फोटो र भिडियो सामाजिक सन्जालमा भाइरल भएको थियो ।