विनु तिम्सिनाविराटनगर । माघ १४ गते बिहान । मोरङको सुन्दर हरैँचामा ११ वर्षीया लक्ष्मी ढकाल विद्यालय जान टिफिन जोहो गर्दैथिइन् । टिफिन किन्न घरपारिको पसल हिँडेकी लक्ष्मी ढकाल न घर फर्किइन्, न विद्यालय पुगिन् । उनको जिन्दगीकै नै अन्तिम क्षण बन्यो । ट्रिपरको ठक्करले घाइते लक्ष्मीलाई अस्पताल पु¥याउनु पर्ने थियो । तर ‘ब्याक गियर’मा ट्रिपरले आयोयो । च्याप्यो लक्ष्मीलाई भन्छन् स्थानीय । अर्थात् बस्तीमा ट्रिपर ज्यानमारा बन्दैछ ।
अत्यधिक गतिमा हुइँकिने ट्रिपरका कारण सर्वसाधारणको जीवन क्षति भइरहेको छ । घरबाट बजार निस्कँदा अनि किनमेलमा जाँदा, बालबालिका विद्यालय जाँदा पनि सडकमा ट्रिपर देख्दा जनमानस उकुसमुकुस बन्छ । कारण हो, बढ्दो दुर्घटना, दुर्घटनामा जोडिएको ट्रिपर र मानवीय क्षति । ट्रिपर दुर्घटना बढेपछि गाउँबस्तीमा आक्रोश बढ्दो छ । यसको पछिल्लो घटना पटाक्षेप भएको छ सुन्दर हरैँचामा । जहाँ जनताले भेटेजति ट्रिपरमा आगो झोसेका छन् ।
सडकमा शव तेस्र्याएर आक्रोशित भिडले शासन व्यवस्थानै हात लिनु उचित होइन । तर हूलले शासन गरेका ठाउँमा रुलको कुरा कसले गर्ने ? क्षणिक आवेगमा सिंगो समाज अधैर्य बन्दा भोगिएको यो नियतिको क्षतिपूर्ति र राहत के होला ?
साँघुरा सडक । बाक्लो बस्ती । सडक छेउमा विद्यालय । अनि बढ्दो ट्रिपरको संख्या । ट्रिपरजस्तो बढी भारबहन क्षमताको सवारी साधन हाँक्ने चालकका लागि उही सामान्य कानुन । कम उमेरका युवा चालक । सामान्य क्षतिपूर्तिमा कसैको जीवन लिँदा पनि उन्मुक्ति । किन अब हत्या करार हुने यस्ता घटनामा संलग्न चालकलाई लाइसेन्स दिँदा कडाइ नगर्ने ? यस्ता घटनामा संलग्नको लाइसेन्स नखोस्ने ? के अब लाइसेन्स र चालकबारे सोच्ने बेला भएन र ?
हाम्रो देशमा ट्रिपर उत्पादन हुँदैन । नागरिकले करोडौँका ट्रिपर जलाए पनि वीमा कम्पनीले व्यवसायीलाई क्षतिपूर्ति दिन्छ । व्यवसायीले नयाँ ट्रिपर पाउँछन् । वीमा कम्पनी टाट पल्टिन्छ । नयाँ ट्रिपर किन्दा पैसा विदेशिन्छ । अर्थात् हामीले क्षणिक आवेगमा झोसेको आगोले हामी नै गरिब भइरहेका छौँ । हाम्रो नारा सुखी नेपाली समृद्ध नेपाल पनि धरापमा पर्छ । न त मरेको जीवन नै फर्किन्छ फेरि । त्यसैले आवेग होइन विवेकमा काम गरौँ । सडकमा शव तेस्र्याएर अराजक गतिविधि घटाउँदै जाउँ ।
जनता टेलिभिजनको कार्यक्रम बाइलाइनको २०७५ माघ १५ गतेको एपिसोड हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=slPAvbMDRHE