काठमाडौं । शुक्रबार सिनेमा हलमा तीन नयाँ चलचित्रहरु प्रदर्शनमा आएका छन् । कुनै साता एउटा पनि नेपाली चलचित्र प्रदर्शन नहुने नेपाली सिने बजारमा यो साता एकैपटक तीन चलचित्र प्रदर्शनमा आएका हुन् । यो साता तीन फरक जनराका सिनेमाहरु ‘गोपी’, ‘सय कडा दश’ र ‘रणवीर’ प्रदर्शनमा आएका छन् ।
चलचित्र ‘गोपी’मा नेपालमै कृषि व्यवसायमा सक्रिय युवाको कथालाई समेटिएको छ । चलचित्रमा गाईपाललक किसानले भोग्नुपरेको समस्या किसानका गहन विषयबस्तुलाई चलचित्रको पर्दामा उतारिएको छ । दिपेन्द्र लामाको निर्देशनमा बनेको चलचित्रमा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, प्रकाश घिमिरे लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
कमेडी जनराको चलचित्र ‘सय कडा दश’मा भ्रष्टाचारी पिता र सदाचारी पिताका छोरा छोरीको प्रेमको विषयलाई समेटिएको छ । हास्यकलाकार मनोज गजुरेलको मुख्य भुमिका रहेको चलचित्रमा भ्रष्टाचारजस्तो गहन विषयबस्तुलाई कमेडी शैलीमा प्रस्तुत गर्न खोजिएको छ । चलचित्रमा मनोजको साथमा राजराम पौडेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ लगायतका कलाकारहरुको पनि मुख्य भूमिका छ ।
एक्सन जनरामा निर्माण गरिएको चलचित्र ‘रणवीर’ साउथ इंडियन शैलीको चलचित्र भएको निर्देशक गोविन्दसिंह खड्काको भनाई छ । फिल्ममा एक्सनको साथमा फ्यामिली ड्रामा हेर्न सकिन्छ । ८० लाखको लागतमा बनेको चलचित्रमा सुशील सिटौला, प्रशान्त ताम्राकार, शुभेच्छा खड्का लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
हुन त तीन चलचित्र एकैसाता प्रदर्शनमा आउनु कदापि राम्रो होइन । कुनै साता चलचित्रहरु प्रदर्शनमा नै नआउने अनि कुनैसाता एकैपटक तीनओटा चलचित्र प्रदर्शनमा आउनु चलचित्रको लागि मात्र नभएर समग्र चलचित्र क्षेत्रकै लागि समेत दुखद हो ।