‘मान्छेहरुको आफ्नै चाहना खराब छ...भन्न त भन्दछन् यहाँ जमाना खराब छ..’ निशा देशारले गाएको यो गीत एकताका खुब बज्थ्यो । कृष्णहरि बरालले लेख्नुभएको यी शब्दहरु भाव साँच्चै घतलाग्दो छ । हामी चिसो मौसमले च्यालेन्ज गर्यो भन्दै ह्विस्की, खसीको मासु, सुकुटी खाने भन्छौँ । यसै प्रसंगमा एक कार्यक्रममा कुरा उठ्दा साथीको तर्क थियो, ‘त्यो त मान्छेको चाहनाको हुटहुटी होइन र भन्या मौसमको के दोष...? । यस्तै यस्तै असीमित चाहना बढ्दै गएपछि गल्ती गर्दै जाने अनि दोष अरुलाई थुपार्दै जाने प्रवित्ति मान्छेहरुसँग स्वयम्र मान्छेहरु नै अनविज्ञ हुँदा तिनका अनेकन गल्तीहरुले प्रश्रय पाइरहेका छन् ।
अर्को सानैदेखि सुन्दै आएको प्रचलित भनाई समाजमा खुब हिट छ ...नाच्न नजान्ने आँगन टेढो...। एकपटक एकजना मेरो साथी मेरै स्कुटर लिएर बाहिर गएको थियो । एकछिनपछि कालै अलकत्रा पूरै लुगाभरी लिएर आयो । साथीको घुँडा, हात पनि धसारिएको... यसो हेरेँ स्कुटरको देब्रे भाग पनि धसारिएको देखेँ । ‘हेत्तरिका ! अलिकति अगाडि बाटो पिच गर्दै रहेछ, बाटोभरि अलकत्रा पोख्या रहेछ, त्यही भएर लडेँ नि नत्र कहाँ यस्तो हुन्थ्यो र ...’ भन्दै बाटो पिच गर्नेहरूलाई भयंकर गाली गर्यो । त्यतिबेला त साथीलाई लडेर दुखेको थियो केही भनिनँ । नजिकै मेडिकल लगेर घाउ सफा गरेर ब्यान्डेज गरियो । अर्को पटक भेट्दा भने किन बाँकी राख्थेँ र ‘पिच बनाउँदै गरेको बाटोमा प्रवेश निषेध लेखेको बोर्ड देख्दादेख्दै अगाडि जाने अनि तिमी नचिप्लिए म चिप्लिन्छु त ? नजिकै वैकल्पिक बाटो हुँदाहुँदै खुब हुँइकेको होइन तिमी...बेकारमा किन गाली गर्नु पिच बनाउनेलाई यस्तैलाई भन्छ नाच्न नजान्ने आँगन टेढो...।’ उसलाई आफ्नो गल्ती महशुस भएछ, मुसुक्क मुस्कुरायो । त्यो दिन साथी रिसाउला भनेर तातो मसला चिया बनाएर पिलाएँ ।
‘अल्पज्ञान सबैका लागि घातक हुन्छ ।’ हाम्रो समाजमा धरै समस्या अल्पज्ञानले गर्दा भएको हो भन्ने गरिन्छ । लोककथाअनुसार बाघलाई बिरालोले रुख चढ्न सिकायो रे, तर झर्न सिकाएनछ । झर्न नजानेर बाघ रुखबाट खुरमुरिँदै खसेछ । क्रुद्ध बाघले तलाई जहाँ भेटे पनि छोड्दिन भनेछ । बिरालोले मलाई त के भेट्छस् र मेरो दिसा पनि भेट्दैनस् भनेछ । यस्ता उदाहरणले अल्पज्ञानले मान्छे स्वयमलाई आवेश, रिस र भ्रम सिर्जना गरी मान्छेलाई दिग्भ्रमित गराउँछ । जुन अन्ततः घातकसिद्ध हुन्छ ।
आजकल उखान, टुक्का, भनाइसँग हरेक नेपाली अभ्यस्त नभएको को नै होला र । कति त त्यसैमा रमाइरहेको पनि नदेखिएको होइन । लोक उखान छ निः मेरो गोरुको बारै टक्का । अरुको कुरै नसुन्ने, आफूले भनेको कुनैपनि हालतमा हुनैपर्ने नभए जस्तोसुकै निचतामा पनि प्रस्तुत हुनसक्ने । कुनै बिषयमा सबैको एकमत हुनैपर्छ भन्ने हुँदैन तर सबै विचार मन्थनपछि आएको निचोडलाई स्वीकार्न सक्ने को छ र यहाँ ? त्यहीँ मन्थन र निचोडलाई स्वीकार्न नसक्दा अरु त के नेपालका राजनीतिक पार्टीहरु टुक्रिएर कुन हविगत छ त्यो त स्पष्ट नै छ । यहाँ त नीतिको भन्दा पनि मान्छे मान्छेबीचको लडाइँ छ, परिवर्तनमा बिचार संघर्षको अपिरिहार्यता छ । तर हाल समाजमा चलिरहेकोे संघर्षले राम्रोको लागि होइन नराम्रो परिणामको संकेत गरिरहँदा पनि समृद्ध नेपालको नारा लोकप्रिय छ यहाँ ।