बाग्लुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरलाई २० करोड बजेट विनियोजन भएको छ । त्रिदेशीय सिधा सम्र्पकका लागि निर्माण थालिएको लाई १० मिटर कायम गर्ने उद्देश्यले बजेट विनियोजन भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
नेपालका दुई छिमेकी मुलुक उत्तरमा चीन र दक्षिण भारतलाई जोड्ने सबैभन्दा छोटो नाकाका रुपमा विकास गर्ने उद्देश्य राखिएको कालीगण्डकी करिडोरमा बजेट अभावका कारण पछिल्लो समय काम हुन सकेको थिएन । बजेट अभावका कारण बागलुङ खण्डमा काम अगाडि बढ्न नसकेको भन्दै निरन्तर पहल गरेपछि २० करोड रुपैयाँ विनियोजन भएको सांसद डा सूर्य पाठकले बताउनुभयो ।
सांसद पाठकका अनुसार बिनियोजित २० करोडमध्ये १० करोडको काम बागलुङ र १० करोडको काम गुल्मीमा हुनेछ । राष्ट्रिय गौरवका आयोजनालाई छिटो पूरा गर्ने सरकारको प्राथमिकता भएका कारण बजेट पार्न सफल भएको सांसद पाठकले बताउनुभयो ।
चैतदेखि वैशाखसम्म काम सक्नेगरी नेपाली सेनाको निर्माण कार्यदललाई आग्रह गरिएको छ । अहिले तत्कालका लागि बागलुको मालढुङ्गादेखि बलेवा विमानस्थलसम्म १० मिटर सडक चौडा पारिनेछ ।
बजेट नदिएपछि बर्खाको पहिरोसमेत सेनाले आन्तरिक स्रोतबाट खर्च गरेर यातायात सञ्चालन गर्नसक्ने बनाएको थियो । लामो समयसम्म अगाडि बढ्न नसकेको कालीगण्डकी करिडोरको काम नेपाली सेनालाई जिम्मा दिएपछि तीव्रता पाएको थियो । बागलुङ खण्डमा पर्ने ३६ किलोमिटरसहित गुल्मीमा समेत गरी ८० किलोमिटर साधारण बाटो खोल्ने काम नेपाली सेनाले जिम्मा लिएको थियो । बागलुङ खण्डको ट्रयाक मात्रै खोल्नका लागि ३३ करोड बढी खर्च भएको छ । अहिले करिडोरअन्तर्गतको सबैजसो खोलामा बेलिब्रिज हालेको छ ।
बजेटको समस्या नभए दुई वर्षभित्र बागलुङ खण्ड कालोपत्रका लागि तयार हुनेछ । चीनको कोरलादेखि भारतको सुनौली नाका जोड्ने छोटो दूरीको आयोजना त्रिदेशीय व्यापार तथा पारवहनमा महत्वपूर्ण नाका बन्नेछ । चीनको कोरलादेखि भारतको सुनौलीसम्मको ४ सय ३५ किमीको यो छोटो दूरीको सडक आयोजना हो । सडकले कोरलादेखि म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा, नवलपरासी हुँदै भारत जोड्नेछ ।
आयोजनाले त्रिदेशीय व्यापार तथा पारवहनमा महत्व राख्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष युवराज राजभण्डारीले बताउनुभयो । मालढुङ्गामा शनिबार १० मिटर चौडा पार्ने कार्यको शुभारम्भ अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने कार्यक्रम छ ।