भूमिराज पराजुली
दमक । जति साँझ ढल्कदै गयो, त्यति नै सांगितिक माहोल बढिरहेको थियो । कलाकारसहित ग्रिस्मा ब्रोडकास्टिङले आयोजना गरेको ‘सप्तरङ्ग सात प्रदेश सात हामी’ सांगीतिक कार्यक्रमको औपचारिक समुद्घाटन साँझ करिब ४ बजे भयो ।
दमक बहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रम समुद्घाटनको समयमा क्याम्पसका केही विद्यार्थी, आगन्तुक पाहुनाबाहेक छिटफुट मात्र दर्शक थिए । तर जब कार्यक्रममा सांगितिक प्रस्तुति शुरु भयो, त्यस बेलादेखि भने कार्यक्रमस्थलमा दर्शकको संख्या एकपछि अर्को गर्दै थपिँदै भिड बढ्यो । कार्यक्रमका प्रमुख अतिथि रहेका एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले यसप्रकारको सांगितिक कार्यक्रमले देश र देशवासीबीचको एकतालाई जोड्ने बताइरँहदा कार्यक्रममा उपस्थित दर्शकहरुको उत्साह बढिरहेको थियो ।
![](https://45.77.241.73/wp-content/uploads/2019/02/IMG_7040.jpg)
मुख्यमन्त्रीले बोलिसक्ने बित्तिकै स्टेजमा बोलाइएकी नायिका तथा नृत्याङ्गना अञ्जली अधिकारीले विभिन्न गीतमा नृत्य प्रस्तुत गरिन् । कार्यक्रमको पहिलो सांगितिक प्रस्तुति रहेको अधिकारीको नृत्यले कार्यक्रमको माहोल नै तताइदियो । उनैको नृत्यपछि कार्यक्रमस्थलमा दर्शक हुलका हुल गर्दै बढ्दै गए ।
![](https://45.77.241.73/wp-content/uploads/2019/02/IMG_6995.jpg)
कार्यक्रममा दास्रो प्रस्तुतिका लागि आएका सन्दीप क्षेत्रीले दर्शकलाई पेट मिचीमिची हसाँए । उनको प्रस्तुति देखेर कार्यक्रम हेर्न आएका दर्शक मात्र हैन मुख्य मन्त्री समेत दंग पर्नुभयो । कार्यक्रममा प्रस्तुति दिने क्रममा उनले मुख्यमन्त्रीलाई इङ्गित गर्दै भने ‘यो प्रदेश को विकास नहुने त कुरै भएन किनकी यहाँ त शेर नै मुख्य मन्त्री छ, त्यो पनि धन सहितको । जंगलको राजा शेर बिनाधनको हुन्थ्यो, यस प्रदेशका मुख्यमन्त्री त धनसहितको शेर भएपछि विकास हुँदैन त !’
![](https://45.77.241.73/wp-content/uploads/2019/02/IMG_7075.jpg)
क्षेत्रीले यो डाइलग बोल्दा मुख्यमन्त्री राई मुसुमुसु हाँस्नुभयो । सायद उहाँलाई दिल खोलेर आवाज निकालेरै हाँस्न मन लागेको थियो तर आफ्नो मर्यादाको सम्मानका लागि सार्वजनिक स्थानमा उहाँले आवाज ननिकाले पनि मुखमुद्रा निकै रोमाञ्चक देखिएको थियो ।
![](https://45.77.241.73/wp-content/uploads/2019/02/IMG_7072.jpg)
यसपछि कार्यक्रममा पूर्व तेक्वान्दो खेलाडी दिपक विस्टलाई सम्मान गरियो । प्रदेश १ का मुख्यमन्त्रीसहित कार्यक्रमका विभिन्न अतिथिहरुले उहाँलाई सम्मान गर्नुभयो ।
‘मलाई अमेरिका यही, मलाई मलाई अष्ट्रेलिया यही’ का गायक पशुपति शर्माले गाएको गीतमा कम्मर मर्काईमर्काई नाचे झापाली दर्शक । अझ क्याम्पसको प्राङ्गणमा प्रायः युवावर्ग अनि विद्यार्थी नै दर्शक पाएपछि उनले माहोललाई मज्जैले सदुपयाग गरे पनि । गाइहाले ‘क्याम्पस पढ्न आउने, सरले उता पढाउने हाम्ले आँखा जुधाउने चित्त बुझाउने ।’
![](https://45.77.241.73/wp-content/uploads/2019/02/IMG_7064.jpg)
गायक रामकृष्ण ढकाल कार्यक्रमको स्टेज नपुग्दै गीत गाउन थाले, ‘बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्’ । दर्शकले पनि पररर ताली बजाएर उनलाई स्टेजमा स्वागत गरे । यसपछि उनले अन्य विभिन्न गीत गाएर दर्शकलाई थप मनोरञ्जन दिलाए ।
![](https://45.77.241.73/wp-content/uploads/2019/02/IMG_7125.jpg)
मञ्चमा बोलाउन नपाउँदै दर्शकको हुटिङमार्फत् नै बोलाइन् गायिका इन्दिरा जोशी । उनले आफ्नो प्रस्तुतिमा दर्शकलाई आनन्द मात्र दिलाइनन्, छमछम नचाइन् पनि । उनको प्रस्तुतिमा झापाली दर्शक आनन्द मान्दै नाचे ।
‘झापाका शान’ प्रदेश नं १ को प्रतिनिधित्व गर्ने गायक प्रमोद खरेल स्टेज चढ्ने बित्तिकै दर्शकहरु आफ्नो भुइँ छोडेर उफ्रिए । सबैभन्दा धेरै दर्शकलाई प्रमोदले उफारे । उनी आफूपनि स्टेजमा उफ्रे र दर्शकलाई धुलो उड्नेगरी उफारे ।
![](https://45.77.241.73/wp-content/uploads/2019/02/IMG_6987.jpg)