घटना पनि अनौठा हुन्छन् । जीवनको कालखण्डमा हरेक बेला समस्याले पिरोली रहेको हुन्छ । सबैमा लागू नहुनपनि सक्छन् यी समस्या तर अधिकांशको जीवनमा पक्कै जोडिएका छन् । मान्छे विभिन्न परिस्थितिले बेचैन हुन्छ । कहिले केही, कहिले केही । सुन्दा सामान्य लाग्ने समस्या अविस्मरणीय क्षण बनिदिन्छ । सानोमा निम्न परिस्थितिमा हुर्केको म । धेरै ठूला सोच र सपना कहिल्यै आएनन् । त्यो बाबाको एक चक्लेट साँझ घर आउँदा ल्याउनु हुन्छकी बिर्सनुहुन्छ त्यतिमै सिमित थियो दैनिकी ।
नितान्त व्यक्तिगत जीवनको कुरालाई उतार्न खोजेको छु । मेल खाए संयोग हुनेछ । सानो थिए म । बाल्यकालको जीवन ठिकै चलिरहेको थियो । निम्न भन्नाले खान लाउन नै नपुग्ने थिएन जीन्दगी । बुवाको मेहनतले जसोतसो गाउँमा राम्रै कहलिएका पनि थियौँ । बाहिरी आवरणमा आनन्दित देखिएका हामी भित्रि समस्या सबैको आ–आफ्नै हुन्छ । एकसरो राम्रैसँग धोएर लाउन सक्ने भइसकेको थिएँ म । धुदाँपनि पाइन्टको पछाडिको भाग च्याँतिएको मेरो स्मरणमा अझै ताजै छ । फेरि टालेर पहिरिँदा नयाँ कपडा थपिन्थ्यो त्यहीँ टालो । खुसीले लगाउँथे । हाम्रै गाउँका एक नेपाली दाई खुबै सिपालु थिए सिउनमा । जस्तो बनाइदिनु भन्यो त्यस्तै उतार्न सक्थे । सामान्य जीवनशैली भएका मानिसको बसोबास गर्ने मेरो त्यो गाउँ अझै धेरै परिवर्तन भइसकेको छैन ।
स–साना स्मरण शनिबारको अंकमा उतार्न खोज्दैछुँ । रमाइलो त के भने सानोमा गाईगोरु हेर्न जान्थ्यौँ । छोराहरु मात्रै भएको मेरो घर आमालाई सघाउनु मेरो दैनिकी पनि थियो । पालुवा पलाउने चैत बैशाखको महिना ती कलिला मुना काटेर पिठ्यूमा बोकेको ताजै छ । कति रमाइला हुन्थे ती दिन अहिले सम्झिँदा पनि आफै देखि अचम्म लाग्छ । दिन बित्दै थिए ठूलो हुँदै गइयो । एसएलसी पास गरियो । त्यतिबेलाको आफ्नो विद्यालयको राम्रै बिद्यार्थी थिए ।
एसएलसी पास गरिसकेपछि कसैलाई क्याम्पसको हावा लाग्छ भन्छन् आफूलाई कहिल्यै त्यो हावा लागेन । हावा चिसो तातो के थियो थाहा नै छैन । म जिम्मेवार भइसकेको थिए । जीवनमा भुल्नै नसकिने दिनको बारेमा अब भन्दैछु । ११ कक्षामा पढ्दै गर्दा ‘सेभ प्यासेज’ भन्ने कार्यक्रम गाउँमा आएको थियो । हामी सिमित बिद्यार्थी एसएलसी पास भएका थियौँ । मेरो ब्याजमा ६ जना नियमित पास भएका थियौँ । अब जागिर खानुपर्ने दिन आयो भनेर खुसीको सीमा रहेन । काम अलि गाह्रो नै थियो । गाउँमा बसेको हुर्केको म । त्यो कार्यक्रम विदेशमा गएका घरपरिवारलाई लक्षित गरेर सञ्चालित रहेछ । एचआईभीबाट कसरी बच्ने भन्ने बिषयमा समुदायमा गएर जानकारी गराउनुपर्ने । महिला पुरुषको सामू कण्डमको प्रयोग कसरी गर्ने भनेर सिकाउनु पर्ने । मेरो बसमा यो काम थिएन । तैपनि जागिर गर्नु छ । ‘एक्सपेरियन्स’ बटुल्नु छ । अनुभव नै छैन भने पछि काम पाउन गाह्रो हुने । यो काम मेरा लागि निल्नु न उकेल्नु थियो । जबरजस्त भएपनि गर्ने निधो गरेँ ।
परिक्षा लिइयो । ‘सेभ प्यासेज’ कार्यक्रममा छनोट भएँ । तालिम लिँदा कति लाज लाग्थ्यो । लाज पचाएरै भएपनि तालिममा सहभागी भएँ । तालिमका लागि डोटीको सदरमुकाम सिलगढी आएको थिएँ । त्यतिबेला पहिलो पटक गाडी देख्दा धेरै खुसी भएर रमाएको स्मरण ताजै छ । तालिम सकियो । दुईचार पोका कण्डम, प्रयोग गर्न सिकाउने काठको डण्डी बोकेर घर फर्किँए । काम गर्न सकिनेस्थिति थिएन । महिनामा रिपोर्ट बुझाउनुपर्ने । कति जनालाई बाँडियो उल्लेख गरेर फारम भर्नुपर्ने । जेनतेन मिलाएर भरेर पठाउँथे । ती कण्डम र काठको डण्डी घरको कसैले देख्छ की भनेर यस्तो ठाउँमा लुकाएँ कसैले पत्तो पाएनन् । गाउँमा बाड्नु त परै जाओस् ।
अर्को एक अविस्मरणीय क्षणपनि छ जीवनमा घटेको । दोस्रो पटक सिलगढी तालिमका निम्ति आएको थिएँ । कस्तो बेकुफी बुद्धि मेरो । कार्यक्रममा कण्डमलाई प्रयोग गर्ने तरिकाका बिषयमा क्लास लिनुपर्ने । त्यहाँका सरहरुले कत्तिको परिपक्व भएछ भनेर बुझ्न खोजेछन् । क्लास लिए तर होस् ठेगानमा थिएनन् । के गरे थाहै छैन । क्लास सकियो बाँचियो भन्ने सोचेँ । तालिमको दोस्रो दिन । मान्छेको दिमाग त हो । हतार हतार क्लासमा गएँ । आफ्नै पाइन्टको चेन लगाउन बिर्सेछु । सर ढोका खुल्ला छ भनेको सुन्दा ढोका लगाउन गएको म कति सोझो । मेरो आफ्नै पाइन्टको चेन लगाउन बिर्सेछु ।