–अस्मिता रिजालकाठमाडौं । सडकमा सवारी व्यवस्थापनको जिम्मा हो ट्राफिक प्रहरीको । राज्यका सिपाहीहरु सडकमा धूँवाधूलोमा निसास्सिँदै नागरिकको सुरक्षामा तल्लीन देख्छौँ हामी । यो त सतहमा देखिएको दैनिकी भयो । सडक सुरक्षामा यस्ता पात्रहरु पनि पाउँछौँ हामी कहीँ कतै ।
उनीहरुको पनि ट्राफिक प्रहरीकै जस्तो भूमिका हुन्छ । तर यस्ता पात्र र चरित्रको चर्चा कम हुन्छ । धेरैका नजरबाट उनीहरु ओझेलमा हुन्छन् । यस्तै ओझेलकै एक मनकारी स्वयम्सेवक हुन् कान्छा श्रेष्ठ ।
उपत्यकाको एक जिल्ला ललितपुर र ललितपुरको पनि मुख्य नाका लगनखेल । दक्षिण ललितपुरका विभिन्न पहाडी क्षेत्रका सर्वसाधारणको यातायात गन्तव्यसँगै रिङरोडभित्र चल्ने सवारी साधनका कारण निकै व्यस्त चोक हो लगनखेल । छेवैको बसपार्क नै दैनिक १६ घण्टा जागा देखिन्छ । अभ्यस्तको आवरणभित्र अस्तव्यस्त सडक बीचमा भेटिन्छन् ट्राफिकजस्तै देखिने एक ज्येष्ठ नागरिक कान्छा ।
कान्छाको उमेरले नेटो काटिसकेको छ । ६९ वर्षीय कान्छा सैँबुका हुन् । शारिरीक रुपमा त उनी अपांगता भएका व्यक्ति हुन् । सामान्य नागरिक हुन् । बोल्ने प्रयास गर्छन् तर वाक्य स्पष्ट फुट्दैन । तर सडकमा बसेर निर्देशन अटेर गर्ने सवारी साधनको लिखित उजुरी गर्छन् समितिमा पुगेर ।
उनका जिभ्रो लर्बरिएर के भयो त ? आवाजलाइ संवादका माध्यम बनाउन नसके पनि कान्छा शारिरीकरुपमा कम सक्रिय छैनन् सांग भन्दा । पढ्न लेख्न राम्रै जानेका कान्छाको दैनन्दिनी होः भाले नबास्दैको झिसमिसेमै लगनखेल पुग्नु । आम मान्छे एउटै ठाउँमा काम गर्दा २ वर्षपछि दिक्क मानेर सरुवा, बढुवा मागिरहँदा कान्छा भने नजिकैका सखारै खाजाघरहरुको खान्की पेटमा हुलेर साँझसम्म ट्राफिकझैँ सडकबीचमा खटिन थालेको १३ वसन्त बितेको छ ।
र, यो १३ वर्षमा, ललितपुरको मुख्य व्यापारिक केन्द्र अनि खचाखच सवारी चापबीच ट्राफिक प्रहरीको भरपर्दो सहयोगी बनेका छन् कान्छा । सवारी साधन मात्रै होइन पैदल यात्रुका लागिसमेत कान्छाको स्वयम्सेवी कर्मले सबैलाई अनुशासनको लेनमा बाँधेको छ ।
कान्छा एक्ला अभियन्ता हुन् । नियमित काममा लागे पनि उनको तलब छैन । कुनै संगठनसँग आवद्ध पनि छैनन् । कसैले खटाएको पनि होइन । लगनखेल रुटका सवारी साधनका यात्रुको दया–मायाले आउने केही टिप्स चैँ कान्छाको गोजीमा पर्छ । कतै बुझाउनु पनि पर्दैन । कतै कमिसन पनि काटिदैँन । वस त्यही रकमले चलेको छ कान्छाको दैनिकी । जुन कर्ममा उनी लागेका छन्, त्यसैबाट श्रीमती र दुई छोराछोरी पालेको छु भनेर कान्छाले सुनाउँदा कामका लागि कुनै दासता या परनिर्भरता अस्वीकृत गरेर स्वाभिमानमा बाँचेको कथाले अरुको पनि छाति फुल्छ नै ।
हामी सग्ला–सांग नागरिक सडकमा निर्बाध सवारी चलाउँछौ । कहिँ कतै ट्राफिकको नियमन नभए तँछाडमछाड गर्दै गन्तव्यमा पुग्न कयौँपटक नियम कुल्चन्छौँ । तर एउटा अपांगता भएको व्यक्ति विनाशर्त, विना स्वार्थ, कुनै सेवासुविधाविहीन अवस्थामा पनि निरन्तर ज्यान हत्केलामा राखेर नागरिक बचाउन हरदम खटिइरहेका छन् । कान्छा कर्मले समाज परिवर्तन गरिरहेका छन्, ओझेलमा छन् । अरु समाज परिवर्तनको गफ पस्किरहेका छन् र समाचार सेलिब्रेटी बनिरहेका छन् । यसपटक चैँ कान्छाको कर्मलाई सलाम ।
तस्बिरहरुः राधिका श्रेष्ठ/जनता समाचार डटकमhttps://www.youtube.com/watch?v=a7WsnFtx60Q