काठमाडौं । झापाका सांसद तथा पूर्वमन्त्री राम कार्की पार्थले प्राकृतिक दोहनले दुई जिल्ला मरुभूमि हुने अवस्थामा पुगेकाले प्राकृतिक दोहन रोक्न अपिल गर्नु भएको छ ।
कार्कीले अघिल्लो सात महिनाअघि पुग्दा पनि त्यहाँ भइरहेको बदमासी रोक्न राज्यका सबै सरोकार निकायमा जानकारी गराएको तर केही उपलब्धी नभएको गुनासो गर्नु भएको छ । कार्कीले बदमासहरुको झुण्डविरुद्ध उभिन र झापा-इलामलाई मरुभूमि बनाउन रोक्न अपिल गर्नु भएको छ ।
उहाँले यो विषयमा सरकार प्रमुखदेखि सबै निकायलाई अपिल गरे पनि सुनुवाई नभएको र आफ्नै पार्टी र कम्युनिष्टको सरकारमा समेत बदमासहरुका कारण दुई जिल्ला मरुभूमि बन्ने अवस्थामा पुगेको भन्दै यस्तो मार्मिक स्ट्याटस लेख्नु भएको छः
हिजो पुनः सिध्दी मेची संगम र यसको माथि तल घुमेँ । सात महिना पहिला यसरी नै आउँदा खोला र वातावरणको निर्मम दोहन देखेको थिएँ । देशमा कम्युनिस्टहरुको सरकार बनेको उत्साहमा मलाइ लागेको थियो सम्बन्धित अधिकारीहरुलाई भनेपछि प्रकृतिमाथिको यो लुट रोकिनेछ। वन, पुलिस तथा प्रशासन अधिकारीहरुलाई भनेँ । भनेर केही नभएकाले गृहमन्त्री र अख़्तियारका अधिकारीहरु पनि गुहारेको थिएँ । फिराद त सरकारप्रमुखसमक्ष पनि गरियो ।
परिणाम बेरोकटोक ढुंगा, गिट्टी र बालुवाको उत्खनन । यो पालि हेर्दा लुट बढेर बलात्कारमा परिणत भएको पाइयो । सयकडौँ ट्रयाक्टर, डोजर, एक्साभेटरमार्फत रातदिनको उत्खनन् । लाग्छ धरती कल्लाइरहेकि छिन् निर्दयीहरू लुटन ब्यस्त । याद आयो.....पञ्चायतकाल वैँशमा थियो । पञ्चायती व्यवस्था ढाल्ने नाद उराल्दै स्नातक प्रतिनिधित्व गरेर भारी लोकप्रिय मत प्राप्त गरी राष्ट्रिय पञ्चायत पुगेका रामराजा प्रसाद सिंहले भनेका थिए, ‘तपाईं मतदाताहरूको मतको बलमा म यहाँ त आईपुगेँ तर त्यति मात्र बलले मलाइ यहाँ अड्याई राख्न सक्तैन ।’
नेपाललाई माया गर्नेहरु, विशेषतः झापा–इलाम निवासी मेरो आदरणीय र प्रियजनहरु,नदी र वातावरण अहिले मौन रहे पनि मान्छेको यो ज्यदतिको परिणाम प्रतिक्रिया भयानक हुनेछ । इलाम र झापाको पूर्वी भागमा विपत्ति आउनेछ । पर्यावरण विनासको यो लिला रोक्न पहिलो चरणमा आवाज़ बुलन्द गरौँ। त्यतिले सम्बन्धित निकाय जागेन भने (जाग्नेवाला पनि छैन) थप आन्दोलनको तयारी गरौँ । तपाईंहरुको सक्रियता र साथबिना एउटा सांसद निरीह साक्षी मात्र बन्नु पर्ने पञ्चायतकालको परिपाटीमा अझै परिवर्तन भएको छैन है । ‘थाहा’ चाहियो ।