पाँचथर । उत्तर–पूर्वी क्षेत्र च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगिको भरमा चलेको छ । नेपाल–सिक्किम सीमा नाका च्याङ्थापुमा रहेको कार्यालय वर्षांदेखि कार्यालय सहयोगीले मात्र हेर्दै आएका छन् । अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर, सहायक लेखापाल, खरिदार र कार्यालय सहयोगी गरी सातको दरबन्दी रहेको कार्यालयमा कार्यालय सहयोगी मात्रै कर्मचारी छन् ।
कार्यालयमा आएका कार्यालय प्रमुख एक साता पनि नबसी काजमा अन्तै जाने गरेका छन् । कोही भने कार्यालयमा हाजिर पनि नभई सरुवा लिएर जाने गरेका छन् । तेह्रथुम घर भई हाल कार्यालय हेर्दै आउनुभएका लक्ष्मीप्रसाद खवासले कार्यालय सहयोगीका रुपमा काम गरेको १३ वर्ष भयो । यसबीचमा उहाँले कार्यालयमा सरुवा भएर आएका अधिकृतलाई साता दिनभन्दा बढी बसेको थाहा नभएको बताउनुभयो ।
‘सरहरुलाई सात दिन जति देखेँ, केहीको भने सदरमुकाम हुनुहुन्छ भन्ने नाम मात्र सुने’ उहाँले भन्नुभयो, ‘अधिकृत गणेश ओझा हिँडेर आउनुपर्ने भएकाले फिदिमदेखि नै कहिलेकाहीँ आउनुहुन्थ्यो । त्यसपछि आएका अधिकृत आउनु भएको छैन ।’ कार्यालयमा आफूले राष्ट्रिय झण्डा बिहान अफिसमा आएर राख्ने गरेको र बेलुकी थन्क्याउने गरेको उहाँले जानकारी गराउनुभयो । उहाँले केन्द्रदेखि आएका चिट्ठीपत्र जिल्ला पठाउने मात्र काम गर्दै आउनुभएको छ ।
याङ्वरक गाउँपालिकाको उत्तर–पूर्वी क्षेत्रका वडा नं १, २ र ३ का च्याङथापु, फलैचा र ओयामका नागरिकलाई प्रशासनिक सेवासुविधा प्रवाह गर्न सीमा प्रशासन कार्यालय स्थापना गरिएको हो । सदरमुकाम फिदिमदेखि टाढा पर्ने सो क्षेत्रका नागरिकको मागअनुसार नै स्थापना गरिएको कार्यालयमा कर्मचारी नै नबस्दा यहाँका नागरिक मारमा परेका छन् । स्थानीयवासी बलराम शिवाकोटी सीमा प्रशासन जतिको महत्वपूर्ण कार्यालयमा कर्मचारी नहुँदा आफूहरुले सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको बताउनुभयो ।
नागरिकता, राहदानीसँगै नाबालक परिचयपत्र, आदिवासी जनजाति प्रमाणपत्र, बजार अनुगमन र एक नं पिलर फालोटदेखि कालीझारसम्म निरीक्षण गर्ने काम, कर्तव्य र अधिकार सीमा प्रशासन कार्यालयलाई छ । सीमा क्षेत्रमा हुँदै आएका जडीबुटीदेखि वन्यजन्तु चोरी–तस्करी नियन्त्रण र सीमा नाका पास पनि सीमा प्रशासनले नै दिने अधिकार छ । तर कर्मचारी कार्यालयमै नबस्दा वर्षौंदेखि यी काम सीमा प्रशासनबाट प्रभावित हुँदै आएका छन् ।
प्रशासनमा कर्मचारी नहुँदा सीमा प्रहरी कार्यालयले सीमा नाका पास दिने अख्तियारी पाएको छ । अन्य सबै कामका लागि त्यस क्षेत्रका नागरिकहरू सदरमुकाम धाउने गरेका छन् । गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले प्रजिअ प्रकाशचन्द्र अधिकारीसँग कर्मचारी पठाउन बारम्बार आग्रह गरिएको बताउनुभयो । तत्काल कर्मचारी ल्याएर जनतालाई सेवासुविधा दिलाउन आफू लागिपरेको उहाँले जानकारी दिनुभयो ।