जोसेफ शाहीकाठमाडौं । नेपाली समाजमा एउटा प्रचलित थेगो छ ‘गधा भारी बोक्न पाएन भने रुन्छ ।’ गधालाई खुशी पार्न हो या आफ्नो आवश्यकता पूर्ति गर्न हो, हामीले गधालाई भारी बोकाउँदै आएका छौँ । गधाले पनि थाकेँ अब भारी बोक्न सक्दैन भनेको छैन । यातायातको पहुँच नपुगेका ठाउँहरुमा सामान ढुवानीको भरपर्दो विकल्प हो गधा र खच्चड । नेपालका महत्वपूर्ण व्यापारिक नाका नेपालगञ्ज, वीरगञ्ज र भैरहवालगायतका क्षेत्रमा अहिले पनि सामान ढुवानी, टाँगामा गधाको प्रयोग हुँदै आएको छ ।
नेपालमा विशेषगरी सिलौटो, जाँतोलगायतका ढुंगाका सामग्री बनाउने धोबी र बन्जारा फिरन्ते वर्गका व्यक्तिले गधा पाल्ने गर्छन् । डोल्पा, हुम्ला, जुम्ला, जाजरकोटलगायतका विकट जिल्लामा आवश्यक सामग्री ढुवानी गर्न खच्चड प्रयोग भइरहेको छ । पछिल्लो समय सडक सञ्जालको पहुँचसँगै यातायात सुविधाका कारण ढुवानीमा गधा र खच्चड प्रयोग घट्दै गइरहेको छ ।
पाकिस्तानी न्युज च्यानल (एआरआइ)का अनुसार पाकिस्तानले चीनमा गधा निर्यात गर्ने र विदेशी मुद्राआर्जन गर्ने पृथक व्यापार योजना शुरु गरेको छ । ‘दीर्घकालीन गधा विकास कार्यक्रम’ अन्तर्गत चिनियाँ लगानीकर्ता आकर्षित गर्ने उद्देश्यले व्यापार योजना शुरु गरिएको हो । झट्ट हेर्दा आश्चर्य लाग्नसक्छ, कि विश्वकै उदाउँदो शक्तिशाली मुलुक चीन आखिर किन गधा खरिद गर्दैछ ? तर, यो सत्य हो, चीनमा गधाको छाला उल्लेख्य मात्रमा खपत हुने गरेको छ । चीनमा गधाको छाला बहुमूल्य सामग्रीसँगै औषधि बनाउन प्रयोग गरिन्छ ।
विश्वमै सबैभन्दा बढी पाकिस्तानमा गधाको संख्या ५० लाख छ । आगामी ३ वर्षमा करिब ८० हजार गधा चीनमा निर्यात गर्ने योजना अन्तर्गत पाकिस्तानले सम्पूर्ण प्राविधिक तयारी पूरा गरिसकेको छ । पाकिस्तानको एक प्रान्त लाहौरमा मात्रै ४१ हजार गधा पालिएका छन् । एउटा गधाको बिक्रीबाट पाकिस्तानले ४५० डलर अर्थात् नेपाली ५४ हजार रुपैयाँ नाफा कमाउने छ । लाहौर सरकारले गधाको निशुक्ल उपचार गर्न गधा अस्पाताल पनि स्थापना गरेको छ । सम्भावनालाई भजाउन पाकिस्तानले गधा अस्पाताल नै खोलिसकेपछि छिमेकी देश नेपालका किसानहरुले पनि ठण्डा दिमागले सोच्नुपर्ने बेला आएको छ ।
के नेपालले गधा निर्यात गर्न सम्भव छ ?
छिमेकी मुलुक चीन, जुन देशसँग हाम्रा ४ नाकाहरु (कर्णालीको हिल्सा, मुस्ताङको कोरला, रसुवाको रसुवा गढी, सिन्धुपाल्चोकको तातोपानी) बाट आयात–निर्यात हुँदै आएको छ । यतिमात्र होइन, आवश्यकताका आधारमा १ दर्जन भन्दा बढी नाका खोल्न सकिने अवस्था पनि छ ।
नेपाली भूमिमा पनि गधाको अस्तित्व थियो र आजका दिनसम्म पनि छ भने हामीले व्यावसायिक गधा पालन गर्न सक्दैनौँ ? अवश्य पनि सक्छौँ । नेपाली किसानले व्यावसायिकरुपमा गधापालन गरी चीन निर्यात गर्न सके मनग्य आर्थिक लाभ लिन सक्ने सम्भावना देखिएको छ । गधालाई भारी बोकाएर सामान्य आर्थिक लाभ लिने नेपाली किसान गधा बेचेर नै आर्थिक लाभ लिन सक्छन् । यद्यपि, यसका सम्भावना र चुनौतिबारे अध्ययन अनुसन्धान जरुरी छ ।