खुसरो रैन सुहागकीचुम्बन पी के सँगतन मोरा मन पिया कीदोनो एक ही रङ्ग
मधुर मिलनको रात प्रियात्मासँग आलिङ्गनको क्षण, ‘प्रियको तन र मेरो मन’ सरिता झैँ बगोस्– एउटै रङ्गमा एउटै लयमा । ११ औँ शताब्दीका कवि तथा सुफी फकिर अमीर खुसरोको प्रस्तुत पंक्ति सुफी गायन शैलीभित्र चर्चित गीतमा पर्दछ । चर्चित गायनका हस्तीले सुफी महफिलमा यो गीत गाउन छुटाउँदैनन् । खुसरोका यी पंक्तिमा ईश्वरलाई प्रेमीको दर्जा दिइएको छ । परमात्मासँगको मिलन र समागमको अनुभूति एउटै हुने खुसरोको अभिप्राय छ ।११ औँ शताब्दीकै इरानका महान गणितज्ञ तथा फारसी कवि उमर खैय्याम यस्ता कवि थिए जसले ईश्वरलाई प्रेमी मान्दथे र आफूलाई प्रेमिका । उनका रचनामा ईश्वरसँगको समागमको आकांक्षा झल्किन्थ्यो । उमर खैय्यामले चार पंक्तिमा लेखिने ‘रुवाइयाँ’ लेखेका छन् ।
ज्ञानको बाँध ठूलो, गर्धनमा गुरुघण्ट रछानमा मिल्काऊ र उठाऊ प्याला आजको रात अंकमाल गरेर तिमीलाई नयाँ क्रीडा देखाउँछु –हुन्छौ तिमी मतवाला
२१ औँ शताब्दीका महान दार्शनिक ओशो भन्छन्, प्रेमको माध्यमबाट नै मनुष्यले ईश्वरीय अस्तित्वको अनुभूति गरेका हुन् । प्रेमकै कारण ईश्वरको खोजी सम्भव भयो । तर मानव हृदयमा प्रेमको फूल फुल्नै छाड्यो । धर्तीमा प्रेमको सुभाष फैलिनै छाड्यो । धर्ती प्रेमका लागि मरुभूमि भयो । मानव चित्त विषादले भरियो । ओशो भन्छन्, हाम्रो संस्कृतिले प्रेमलाई पाप भनिदियो । सामाजिक मूल्यमान्यताको जग बसाल्नेक्रममा आधारभूत भूल भयो ।
मानव हृदय विषादको प्रलयकारी महासागर बनेको छ । समुच्च मानवता सामूहिक हाराकिरी गर्न आतुर छ । दुई मनुष्य एकापसमा प्रेमील हुनु सामान्य घटना होइन । ईश्वरलाई धर्तीमा अवतरित हुने आह्वान हो । ईश्वर त्यहीँ अवतरित हुन्छन् जहाँ प्रेममा ओतप्रोत आत्माहरु आनन्दको अतिरेकमा बगिरेहका हुन्छन् । यो धर्ती स्वर्ग हुनसक्छ । धर्ती स्वर्गबाट मात्र एक कदम टाढा छ । किनकी एउटा तगारो छ । तगारो हो प्रेम तत्व अभाव । हरेक कदममा प्रेमालिङ्गनमा लीन जोडीहरु भेट्टिने दिन पृथ्वी प्रेमको सरोवर बन्नेछ । स्नेहको बाहुपासमा जोडीहरुलाई बाँधिन दिउँ । हरेक दिन दीपावली र हरेक दिन होलीको उमंग हुनेछ । हरेक दिन प्रेमको ‘महारास’ हुनेछ । हरेक दिन मधुमास हुनेछ । पूरा धर्ती वृन्दावनमा रुपान्तरित हुनेछ । जोडीहरुले प्रेमापान गर्न पृथ्वीले एक फन्को मारिसक्ने दिन पर्खिन नपरोस् । प्रतिपल प्रणय उत्सव होस् ।
ओशो भन्छन्, हिंसा खुला र प्रेम बर्जित गरिएको हाम्रो सामाजिक संस्कृति र मूल्यमान्यताले सिंगो मानवसमाज रुग्ण बन्यो । विक्षिप्ततातिरको यात्रा उन्मुख भयो । घृणा, द्वेष र हिंसातर्फ प्रवृत्त भयो । यस्तो परिवेशमा मानवता बचाउने एउटै मात्र उपाय छः एक ‘महारास’को आयोजन । प्रणय दिवस महारासको दिन हो । युद्धको विजय उत्सव मनाउँछौँ । हिंसा र विध्वंशलाई ऐतिहासिक महत्वको वीरगाथा बनाउँछौँ । खानपिनकै लागि पर्व मनाउँछौँ । महत्वहीन दिनमा सरकारी बिदा गरिन्छ । यो प्रेम पथिकको शुभेच्छा छ । प्रणय दिवसमा सार्वजनिक बिदा होस् र जोडीहरु यत्रतत्र महारासमा लीन हुने अवसर मिलोस् । प्रेमको सप्तरङ्गी गुलाल उडोस् ।
अन्त्यमा, खैय्यामको चार पंक्तिः
कसैको मुखमा अनायास फु¥यो कति सुन्दर भूलोककसैले भने – मनै हर्ने स्वर्गलोकको भोग वर्तमानलाई भोग भविष्यको सपना झूठ टाढा बजेको मादलको धुन मिठो मधुर ।
यो पनि पढ्नुहोस्ः
प्रणय दिवसः बहुप्रेमतर्फ समाजको यात्रा