जोसेफ शाही
काठमाडौं । विश्वमै सुरक्षा संयन्त्रको प्रसंग उठ्दा गोर्खाली सेना अग्रस्थानमा आउँछ । गोर्खाली सेनाको नाम अग्रस्थानमा त्यसै आएको होइन । अटल साहस, ईमान्दारिता, धैर्यता, जुझारुपन र फराकिलो आत्मविश्वासले गोर्खाली सेना दुनियाँको विश्वास बटुल्न सफल भएको हो ।
यूद्ध, भिडन्त, मृत्यू अप्रिय शब्दहरु सुन्दा नै अधिकांश मानिसको मन डर, त्रासले पिरोलिन्छ । तर गोर्खाली सेना रणभूमिमा त्यतिखेरसम्म टिकिरहन्छन् जबसम्म अन्तिम सास चलिरहन्छ । गोर्खाली सेनाको बारेमा भारतीय पूर्व सेनाध्यक्ष सैम मानेकशांले भनेका थिए, ‘यदि कोही व्यक्ति उसलाई मर्न डर लाग्दैन भन्छ भने, कि त्यो झुठ हो या गोरखा ।’ गोर्खाली सेनाप्रतिको यति ठुलो विश्वास पहिलो, दोस्रो विश्वयूद्धदेखि आजका दिनसम्म पनि कायमै छ ।
पछिल्लो समय विश्वमा आतंककारीको जालो यसरी फैलिएको छ की त्यहाँबाट उम्किन पक्कैपनि सजिलो छैन, तर पनि हरेक देशका सैनिक, प्रहरी लगायतका सुरक्षा निकाय आफ्नो ज्यानलाई मृत्यूको धारमा राखेर देश जनताको सुरक्षार्थ खटिरहेका छन् । अकस्मात हुने आतंककारी हमलाको केन्द्रमा कहिलेकाहीँ सेना एक्लै पर्दा आत्मबलको जग कति कमजोर हुन्छ होला ? यस्तो भोगाईका साक्षिमात्र होईन बिजेता पनि वीर गोर्खाली सेना नै हुन् । गोर्खाली सेना दिपप्रसाद पुन एक्लै चौकीमा ड्यूटीमा हुँदा ३० आतंककारीको झुण्डले सशस्त्र आक्रमण गर्यो । तैपनि दिपप्रसादको आत्मबलको जग ढलेन । बरु ३० आतंककारीको एउटै चिहान भयो ।
हमला कहाँ र कसरी भएको थियो ?सन् २०१० को ऐतिहासीक घटना हो । अफगानस्तानको एक सुरक्षा क्याम्पमा दिपप्रसाद पुन एक्लै ड्यूटिमा थिए । ३० आतंककारीको समुहले चारैतिरबाट चौकी घेर्यो । आफू चारैतिरबाट आतंककारीको निशानामा परेको चाल पाएपछि दिपप्रसादले हार खाएनन् बरु एक्लै आतंककारी झुण्डसँग प्रत्याक्रमण गर्ने निधो गरे । दोहोरो गोली चल्न थाल्यो, बम पड्किन थाले । दिपप्रसादले आतंकारीलाई एकोहोरो १७ बम प्रहार गरे । जब बम सकियो उनले राईफल समाएर चारैतिर गोली बर्षा गरे ।
जब उनलाई बचाउन अरु सैनिकहरु घटनास्थल आईपुगे, तबसम्म दिपप्रसादले ३० आतंककारीको एउटै चिहान बनाइसकेका थिए । बचाउन पुगेका सुरक्षाकर्मीले छट्पटाईरहेका शवको रमिता हेर्ने बाहेक दोस्रो गोली खर्च गर्नै परेन । घटनाको स्मरण गर्दै दिपप्रसादले भनेका थिए, ‘दाहोरो भिडन्त चलिरहेका बेला एक तालीवानी आतंककारी गार्ड हाउसण्सँगै जोडिएको टावरमा चढ्न लागेको देखेँ । मलाई थाहा थियो कि कुनै पनि हालतमा मैले आतंककारीलाई जमीनमा खसाल्नुपर्छ । मैले उसलाई जमिनमा त खसाले तर त्यती नै खेर मेरो राईफलले धोका दियो, गोली पनि सकिएछ । अनि नजिकै भएको मेसिनगनको ट्राईपड उठाएर तालीबानीको कञ्चटमा बजाईदिए अनि उ जमिनमा लड्यो ।’
उनले यो पनि भनेका छन्, ‘जती गोली चलाउदै गएँ उति नै साहस बढ्दै गयो ।’ दिपप्रसादले यो आक्रमणको दौरानमा ४०० राउन्ड गोली र १७ हातेबम खर्च गरेका थिए । उनले यो घटनामा तालीबानी आतंककारीलाई सखाप मात्रै पारेनन्, आफ्ना ३ जना सहयोद्धाको ज्यान बचाउन पनि सफल भए । दिपप्रसादको बहादुरीको कदर गर्दै बेलायतकी महारानी एलिजाबेथ द्वितीयले ‘बकिंघम प्यालेस’मा एकभव्य समारोहको आयोजना गरी ‘काँन्सपीक्यूअस गेलेंट्री अवार्ड’ हस्तान्तरण गरिन् ।
यसरी जोखिमको पहाडमा थिचिँदा पनि दुश्मनको अस्तित्व समाप्त पार्नसक्ने गोर्खाली सेनाको ईतिहास सगरमाथाझै उँचो छ । गार्खाली सेनाको ठाँउ आजका दिनसम्म दुनीयाँका विकसित राष्ट्रका सैनिकहरुले पनि लिन सकेका छैनन् । बहादुरीको उपमा केही छ भने त्यो गाेर्खाली सेना हो ।