काठमाडौं । धेरै मानिसहरूले हिजोआज मासु कम खानेछुु वा अब खाँदै खान्न भनेको सुन्नुभएको होला । स्वस्थ्य रहन र यसले वातावरणलाई पार्ने प्रभाव वा जनावरको कल्याण गर्ने जस्ता कारण देखाउँदै त्यसो भन्ने गरिन्छ । ब्रिटेनका एक तिहाइ भन्दा बढी मानिसहरुले कि मासु खान छोडेको वा आफ्नो खानामा यसको मात्र कम गरेको दाबी गरेका छन् । यस्तै अमेरिकाका दुई तिहाइ नागरिकले कम्तीमा दुई मध्ये एक थरि मासु कम खान थालेको बताएका छन् । मासुरहित सोमवार र भेगनवरी जस्ता प्रयासहरु तथा थुप्रै डक्युमेन्ट्रिहरू र शाकाहारी भोजनबारे वकालत गर्ने ठूला व्यक्तित्वहरूले मासु कम सेवन गर्नुका सम्भावित फाइदाबारे जोड दिएका कारण यस्तो प्रवृत्ति बढेको हो ।
तर के यस्ता भावनाहरूले प्रभाव पारेका छन् ?पचास वर्ष यता मासु खपत धेरै बढेको छ । मासु उत्पादन सन् १९६० को ७ करोड टनको तुलनामा सन् २०१७ मा पाँच गुणा बढी ३३ करोड टन पुगेको छ । संसारमा जनसङ्ख्या धेरै बढेको कारण मासु खपत पनि बढेको छ । सन् १९६० को सुरुतिर यहाँ तीन अर्ब मानिस थिए।
अहिले ७.६ अर्ब छन्। जनसङ्ख्या एउटा कारक भएपनि मान्छेहरू धनी बन्दै गइरहेका छन् र गएको आधा शताब्दीमा आय तीनगुणा बढेको छ। र मुलुकहरूबीच मासु खपतको तुलना गर्दा धनी मुलुकले धेरै मासु खाने र कम आयवाला मुलुकले थोरै खाने देखिएको छ।
कसले सबैभन्दा बढी मासु खान्छन् ?संसारभर मासु खाने प्रवृत्ति हेर्दा त्यो सम्पत्तिसँग प्रत्यक्ष जोडिएको देखिन्छ। सन् २०१३ मा अमेरिका र अष्ट्रेलिया सबभन्दा धेरै मासु खाने राष्ट्रहरू थिए । उनीहरूसँगै न्यूजील्याण्ड र अर्जे्न्टिना थिए । त्यहाँ प्रतिव्यक्ति प्रतिवर्ष मासु खपत १०० किलोभन्दा बढी थियो। यति मासु भनेको पचासवटा कुखुरा वा आधा गाई बराबर हुन्छ । मासुको उच्च खपत पश्चिमा मुलुकहरूमा प्रष्ट देखिन्छ । पश्चिम युरोपेली मुलुकहरूमा प्रतिव्यक्ति खपत ८० देखि ९० किलो प्रतिवर्ष छ । संसारका गरिब मुलुकहरूले असाध्यै कम मासु खान्छन् ।
इथियोपियामा प्रतिव्यक्ति खपत सात किलो प्रतिवर्ष छ, रवाण्डामा आठ किलो, नाइजेरियामा नौ किलो छ जुन युरोपेली मुलुकको खपतको तुलनामा दश गुणासम्म कम हो । न्यून आय भएका मुलुकहरूमा मासु अहिले पनि विलासिता हो । यी तथ्याङ्कहरूले प्रतिव्यक्ति मासु खपत देखाएपनि घरहरूमा वा पसलमा फ्याँकिने खाद्यवस्तुको मात्रा यसमा समेटिएको छैन। मान्छेहरू यसमा देखाइएभन्दा केही कम मासु खान्छन् तर यी चित्रहरू लगभग मिल्ने अनुमान हुन् ।
मध्य आयभएका मुलुकमा मासुको बढ्दो मागधनी मुलुकहरूले असाध्यै धेरै मासु खान्छन् र कम आय भएका मुलुकले कम । पचास वर्षदेखि यस्तै देखिएको छ । हामी सबै मिलेर किन यति धेरै मासु खाइरहेका छौं त ? खासगरी मध्य आयभएका मुलुकहरूमा यो प्रवृत्ति बढ्ता देखिएको छ । चीन र ब्राजिल जस्ता पछिल्ला दशकमा उच्च आर्थिक बृद्धिदर भएका मुलुकहरूमा मासुको खपत ह्वात्तै बढेको छ ।
केन्यामा सन् १९६० यता मासु खपतमा धेरै परिवर्तन आएको छैन। सन १९६० मा चीनमा सामान्यतस् एकजनाले एक वर्षमा औसतमा ५ किलोभन्दा कम मासु खान्थेँ। तर १९८० पुग्दा त्यो मात्रा २० किलोमा पुग्यो र पछिल्लो दशकमा त त्यो ह्वात्तै बढेर ६० किलोसम्म पुगेको छ । ब्राजिलमा पनि त्यस्तै भएको छ । सन् १९९० यता ब्राजिलमा मासु खानेको संख्या पश्चिमा मुलुकहरूमा भन्दा बढी हुन थालेको देखिन्छ । भारत एउटा उल्लेख्य अपवाद हो । सन् १९९० यता औसत आय तेब्बर बढेको भएपनि भारतमा मासु खानेको सङ्ख्या त्यसरी बढेको छैन् ।
भारतका बहुमत मानिसहरू शाकाहारी भन्ने धारणा भने गलत छ । दुई तिहाइ भारतीयहरूले केही मासु खाने गरेको एउटा देशव्यापी सर्वेक्षणले देखाएको छ । जे भएपनि भारतमा मासुको खपत भने अहिलेसम्म थोरै नै छ । भारतमा त्यसो हुनुको केही कारण सांस्कृतिक पनि हुन सक्छ। त्यसमध्ये धार्मिक कारणवश मानिसहरू कुनै जनावरको मासु खान्छन् र कुनैको खाँदैनन् ।
पश्चिममा मासु खपत घटेको छ ?युरोप र उत्तर अमेरिकाका धेरैले आफूले खाने मासुको मात्रा घटाउन प्रयत्न गरिरहेको बताउँछन्। के त्यसै भइरहेको छ त ? तथ्याङ्कहरूले त्यसो भइरहेको देखाउँदैनन् । अमेरिकाको कृषि मन्त्रालयको तथ्याङ्कले पछिल्ला केही वर्षमा प्रतिव्यक्ति मासुको खपत बढेको देखाएको छ । सन् २०१८ को अमेरिकी मासु खपत केही दशक यताको सबभन्दा उच्चतम थियो। युरोपेली सङ्घमा पनि त्यस्तै खपत देखिन्छ । पश्चिममा मासुको खपत बढेको बढ्यै गरेको या केही बढेको देखिएपनि खाने मासुको प्रकारमा भने परिवर्तन भएको छ । रातो मासु अर्थात गाईको र सुँगुरको मासु कम र कुखुराको मासु धेरै खाने गरिएको छ ।
अमेरिकामा खाइने मासुको आधा अंश कुखुराको मासु छ, जुन सन् १९७० को तुलनामा एक चौथाइ बढी छ । यो खपत स्वास्थ्य र वातावरणका दृष्टिले राम्रो खबर हुनसक्छ। मासु खानु फाइदाकारी पनि हुन सक्छ। थरी थरीका खानेकुरा खान नपाउने कम आय भएका मुलुकमा मासु र दुग्ध पदार्थ धेरै खाने मान्छेको स्वास्थ्य राम्रो हुनसक्छ। तर कैयौं मुलुकमा आधारभूत पोषणका लागि आवश्यक भन्दा धेरै मासु खाने गरिएको छ ।
त्यो स्वास्थ्यका लागि खतराजन्य हुनसक्छ। अध्ययनहरूले धेरै रातो मासु र प्रशोधित मासु खानेहरूमा मुटुको रोगको खतरा बढ्ने, मस्तिष्कघात हुन सक्ने र केही प्रकारका क्यान्सर पनि हुनसक्ने देखाएको छ । गाईको मासु वा सुँगुरको मासुको बदला कुखुराको मासु खानु सकारात्मक कदम हुन सक्छ । यो वातावरणका लागि पनि राम्रो हुनेछ। कुखुराको तुलनामा गाईहरूले दश गुणा जमीन, पानी र हरितगृह ग्यास उत्सर्जन गर्छन्। सुँगुर भने दोब्बर खपत गर्नेमा पर्छ । भविष्यमा मासु खपत दिगो वा सन्तुलित बनाउन ठूलै परिवर्तन गर्नुपर्ने देखिन्छ । यसमा हामीले खाने मासुको प्रकार मात्र नभएर कति खान्छौं भन्ने पनि परिवर्तन हुनुपर्ने देखिन्छ। खासमा मासु कहिलेकाहीँ खाइने विलासी वस्तु बन्नुपर्छ ।बीबीसीको सहयोगमा