काठमाडौं । नव वर्ष २०१९ सालको पहिलो पूर्णिमा जनवरी २१ सोमवार परेको थियो । यो पूर्णिमाका दिन ‘सुपर फूलमून’ पनि थियो । पृथ्वीको परिक्रमा गर्दा जुनबेला चन्द्रमा र पृथ्वीको औसत दूरी ३ लाख ८४ हजार ४ सय किमी भन्दा कम्ती हुन्छ र यसै समयमा पूर्णिमा हुन्छ । यस्तो अवस्थामा पूर्णिमाको चन्द्र अन्य अन्य पूर्णिमा भन्दा ठुलो र बढी चम्कीलो देखिन्छ । यस स्थितिलाई ‘सुपर फूलमून’ भनिन्छ । खगोलीय भाषामा यसलाई ‘पेरीगी मून’ (PERIGEE MOON) भनिन्छ ।
‘सुपर फूलमून’को स्थितिमा अन्य पूर्णिमाहरू भन्दा (खगोलीय भाषामा ‘माइक्रोमून’ अथवा ‘अपोगी मून’) चन्द्रमाको आकार झन्डै १४ प्रतिशत ठुलो एवं ३० प्रतिशत सम्म बढी चम्कीलो हुन्छ । चन्द्रमा र पृथ्वीको दूरी ३ लाख ६० हजार किमी. भन्दा कम हुँदाको पूर्णिमालाई ‘सुपर फूलमून’ एवं यो दूरी ४ लाख किमी. भन्दा बढी हुँदाको अवस्थाको पूर्णिमालाई ‘माइक्रोमून’ परिभाषित गर्छ खगोल विज्ञानले । र यो बिचको दूरी (३ लाख ६०हजार देखि ४ लाख किमी सम्म) मा हुने पूर्णिमालाई ‘एभरेज फूलमून’ भनिन्छ ।
गएको २१ जनवरी (माघ ७ गते) को पूर्णिमा हुँदा पृथ्वी र चन्द्रमा बिचको दूरी घटेर ३ लाख ५७ हजार ३ सय ४२ किमी. सम्म आई पुगेको थियो । यदि कुनै कारणवश तपाईँले यो पूर्णिमा हेर्न चुक्नु भएको थियो भने यो अवसर फेरी १९ फेब्रुअरीमा उपलब्ध हुँदैछ । १९ फेब्रुअरी २०१९का दिन हुने ‘सुपर फूलमून’को अवस्थामा चन्द्रमा २१ जनवरी भन्दा झन् नजिक हुनेछ । त्यो दिन पृथ्वी र चन्द्रमाको दूरी ३ लाख ५६ हजार ७ सय ६१ किमी. मा आइपुग्छ ।
यसै गरी २० मार्च २०१९ को पूर्णिमा पनि ‘सुपर फूलमून’ नै हुनेछ । यस दिन चन्द्रमा पृथ्वीबाट ३ लाख ५९ हजार ३ सय ७७ किमी टाढा हुनेछ । २०१९ वर्ष भरीको अवधिमा ५ फेब्रुअरी अर्थात् आजको दिन पृथ्वी र चन्द्रमाको दूरी सर्वा्धिक हुनेछ । आजको दिन यो दूरी ४ लाख ६ हजार ५ सय ५५ किमी. पुग्नेछ । तर आजको दिन पूर्णिमा नभएकाले पूर्ण चन्द्र हेर्न पाउने छैनौँ । अहिले म यो लेख लेखिरहँदा अर्थात् २५ जनवरी रात्रिको दश बजेर दश मिनेट जाँदा चन्द्रमा पृथ्वीबाट ३ लाख ६९ हजार ६ सय ५३ किमी. टाढा रहेको छ । गएको २१ जनवरीको ‘सुपर फूलमून’को बेला चन्द्र ग्रहण (LUNAR ECLIPSE) पनि घटित भएको थियो । तर यो ग्रहण नेपाल र भारतबाट देखिएको थिएन ।
यस चन्द्र ग्रहणको अवधिमा चन्द्रमाको सतहमा छोटो समयका लागि ‘लाइट्निङ्ग’ (चमक) देखा र्पयो । वैज्ञानिकहरूले यो कस्तो ‘लाइट्निङ्ग’ हो भन्नेबारे अनुसंधान गरे । वैज्ञानिकहरूका अनुसार चन्द्रमाको सतहमा एउटा उल्का खस्नाले यो ‘लाइट्निङ्ग’ भएको थियो । चन्द्रमामा वातावरण नभएका कारणले अत्यधिक उल्का खस्ने गर्छन् । उल्का हाम्रो पृथ्वीमा पनि खस्छन तर पृथ्वीको माथिल्लो वातावरणमा पस्नासाथ अधिकांश उल्का जलेर खरानी हुन्छन् । चन्द्रमाको हकमा भने वातावरण नभएकाले सबै उल्का चन्द्रमाको सतहमा ठोक्किन पुग्छन् । यस कारण चन्द्रमाको सतहमा अत्यधिक ‘क्रेटर’ छन् ।
चन्द्रग्रहणको अवधिमा उल्का खसेका कारणले २१ जनवरीका दिन ‘लाइट्निङ्ग’ देखिएको थियो । अरू बेला भने चन्द्रमाबाट आउने तीव्र प्रकाशका कारण यस्ता ‘लाइट्निङ्ग’ देखिँदैनन् । यस्तो दुर्लभ संयोग सदा सर्वदा देख्न पाइन्न ।