हामीले आज यूग सुहाउँदो लोकतन्त्रको परिभाषा खोजिरहेका छौं । सामाजिक आवश्यता, उत्पादनका आधुनिक तरिका, विज्ञानको विकास र मानविय विकाससँगै लोकतन्त्रले आफ्नो स्वरुप र परिभाषालाई फेर्दै आइरहेको छ । तर पनि हामी पुरातनवादी सोचको लोकतन्त्रको परिभाषालाई लोकतन्त्रको परिभाषा ठानिरहेका छौं ।
वास्तविक लोकतन्त्रका लागि बहस र पैरवी गर्नु पर्दा लोकतन्त्र वा जनवाद आफैमा निकै ठूलो र बृहत परिभाषाले बेरिएको छ । यसको विश्लेषण र व्याख्या हरेकले आ–आफ्नै ढंगले गर्न सक्दछन् । आदिम कालमा सामन्तवादी लोकतन्त्र थियो । कतिपय विश्लेषकले उदार लोकतन्त्रलाई मात्र वास्तविक लोकतन्त्र मान्दछन् भने कतिपयले माक्र्सवाद, समाजवाद र साम्यवादका विपरितका क्रियाकलापलाई लोकतन्त्र मान्दछन । त्यसैगरी बुर्जुवा वर्ग (पूँजीपती वर्ग)ले उदार राज्यव्यवस्था, खुला बजार, खुला अर्थतन्त्र र पुँजीपती वर्गको अधिनायकत्वलाई वास्तविक लोकतन्त्र मान्दछ । सबैका आ–आफ्नै विचार विश्लेषण भएतापनि लोकतन्त्र सबैको साझा शासन प्रणाली बनेको छ यो सत्य हो । तर सबैको साझा परिभाषाको लोकतन्त्र किन हुन सकेन त ? सबैको साझा वास्तविक लोकतान्त्रिक प्रणाली कुन हो त ? कस्तो शासन प्रणाली सबैको साझा वास्तविक लोकतान्त्रिक शासन प्रणाली हो ? भन्ने तर्फ कसैले पनि वकालत गरेको पाइएन । माक्र्सवादले लोकतन्त्रलाई वर्गीय राज्यको रुपमा अनुशरण गरेको छ भने वर्गविहीन समाजको स्थापनाका लागि पूँजीवादी र सामन्तवादी अधिनायकत्वको अन्त्य अनिवार्य छ भनि विश्लेषण गर्दछ । साथै निजी स्वामित्वबाट सामाजिक स्वामित्व, एकल निर्णयलाई सामूहिक सहभागितामा आधारित निर्णयमा बदल्नु वास्तविक लोकतन्त्रको आधारभूत जग मान्दछ । पूँजीवादी लोकतन्त्रले सिमित व्यक्ति, धनीमानी र सम्भ्रान्तहरुलाई मात्र यसको जग मान्दछ ।
तसर्थ वास्तविक लोकतन्त्रको विश्लेषण गर्ने शाब्दिक रुपमा कुनै पनि कोण फेला पार्न सकिएको छैन । यहाँ व्यवहारिक रुपमा विश्लेषण गरी वास्तविक लोकतन्त्रको परिभाषा पुष्टि गर्ने प्रयत्न गरिएको छ । शाब्दिक रुपमा लोकतन्त्र भनेको जनताले जनताका लागि जनताद्धारानै गरिने शासन प्रणालीलाई लोकतन्त्र वा प्रजातन्त्र भनिन्छ । यो लोकतन्त्रलाई परिभाषीत गर्ने सरल तरिका पनि हो । तर यति परिभाषाले मात्र लोकतन्त्रको वास्तविकतालाई बोक्न सक्दैन । किनकी हामीले आज यूग सुहाउँदो लोकतन्त्रको परिभाषा खोजिरहेका छौं । सामाजिक आवश्यता, उत्पादनका आधुनिक तरिका, विज्ञानको विकास र मानविय विकाससँगै लोकतन्त्रले आफ्नो स्वरुप र परिभाषालाई फेर्दै आइरहेको छ । तर पनि हामी पुरातनवादी सोचको लोकतन्त्रको परिभाषालाई लोकतन्त्रको परिभाषा ठानिरहेका छौं ।
वास्तविक लोकतन्त्र के हो ?
लोकतन्त्रले आफ्नो परिभाषाको यकिन मापनयन्त्र विकास गर्न नसकेता पनि जनताप्रति उत्तरदायी, जिम्मेवार र जवाफदेहीतालाई यसको मापन मान्न सकिन्छ । देश र समाजका सबै वर्ग, क्षेत्र, समूदाय, तह र तप्कामा भएका विभेद र असमानतालाई हटाउनका लागि समान र सरल रुपमा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरुलाई जडान गर्ने कला वा कौशललाई वास्तविक लोकतन्त्र भनिन्छ । नेतृत्वमा भएको उच्च अनुशासन र कर्तव्यनिष्ट व्यवहारबाट अझ यो वास्तविक बन्दछ । जवाफदेहिता, उत्तरदायित्व, जिम्मेवारी, निष्पक्षता र पारदर्शिता यसका आधारभूत स्तम्भहरु हुन् । लोकतन्त्रले सामूहिकतामा आधारित सामूहिक सहभागिताको वकालत गर्दछ । राष्ट्र र समाजमा भएका तमाम मजदुर र किसान वर्गको हित नै लोकतन्त्रले आफ्नो प्राण मान्दछ । लोकतान्त्रिक प्रणालीका नेतृत्वकर्ताहरुको उच्च नैतिकता र कर्तव्यनिष्ट व्यवहारको अपेक्षा गर्दछ । अझ नेतृत्वकर्तामा उच्च सहनशिलता र धैर्यताको अटुट विम्म हुनुपर्दछ भन्ने कुराको उजागर गर्दछ । साथै उत्पादन प्रणालीको विकास गर्दै आन्तरिक पूँजीमा बृद्धि गरी जनताका लागि स्वरोजगार र राष्ट्रप्रति स्वाभिमानी हुन सिकाउँदछ । वास्तविक लोकतन्त्रले मजदुर र किसानहरुलाई आफ्नो स्वामित्व सम्झन्छ । तसर्थ मजदुर र किसानवर्गसँग यसको सोझो सम्बन्ध हुन्छ । वास्तविक लोकतन्त्रले राज्यमा भएका स्रोत, साधन र अवसरहरुमा हरेक नागरिकको सहज र सरल किसिमले पहुँच पु¥याउँदछ । जातीय, धार्मिक, भाषिक र क्षेत्रीय विभेदको अन्त्य गरी सबै नागरिकमा भातृत्व र आत्मसम्मानको विकास गराउँदछ । स्वार्थ, अहंकार र विलासीतालाई यसले आफ्नो मर्मप्रति प्रहार भएको बुझ्दछ । समाजमा जकडीएर बसेको सामाजिक र सांस्कृतिक विभेदको अन्त्यका लागि सचेतनामुलक सशक्तीकरण अभियान चलाउँदछ । प्रणालीमा भएको लोकतान्त्रिक परिवर्तनलाई व्यवहारिक रुपमा समाज र व्यक्तिमा अनुभूति दिलाउनका लागि यस्ता ठोस कदमहरु चाल्दछ र यस्तो प्रणाली मात्र वास्तविक लोकतन्त्र हुन सक्दछ भन्ने विश्लेषण छ र यही नै सबैको साझा परिभाषा भित्र पर्ने लोकतन्त्र हुनुपर्दछ ।
लोकतान्त्रिक प्रणालीका नेतृत्वकर्ताहरुको उच्च नैतिकता र कर्तव्यनिष्ट व्यवहारको अपेक्षा गर्दछ । अझ नेतृत्वकर्तामा उच्च सहनशिलता र धैर्यताको अटुट विम्म हुनुपर्दछ भन्ने कुराको उजागर गर्दछ । साथै उत्पादन प्रणालीको विकास गर्दै आन्तरिक पूँजीमा बृद्धि गरी जनताका लागि स्वरोजगार र राष्ट्रप्रति स्वाभिमानी हुन सिकाउँदछ । वास्तविक लोकतन्त्रले मजदुर र किसानहरुलाई आफ्नो स्वामित्व सम्झन्छ ।
लोकतान्त्रिक सामन्तवाद के हो ?आफ्नो जिविकोपार्जनका लागि निरिह बनेर अरु कसैको हुकुम र आदेशमा धेरै परिश्रमद्धारा कम प्रतिफल पाउने स्वतन्त्रता, स्वभिमान र अधिकारविहीन अवस्थालाई सामन्तवाद भनिन्छ । यस्तो तरिकाले सञ्चालन भएको शासन प्रणालीलाई सामन्तवादी शासन प्रणाली भनिन्छ । यस्तो प्रणालीमा सामन्तहरुका लागि आज्ञाकारी मजदुर र किसानहरुको आवश्यता पर्दछ । जो उनीहरुको लागि मात्र काम गरुन् र उनीहरुको खटनपटनमा चलुन् । आफूहरु मोजमस्तीमा रमाउने गर्दछन । राज्यको ढुकुटी आफ्नै आसेपासे र सेवा सुविधाका लागि बढी खर्च गर्दछन । राज्यको हित र समाजका तमाम समस्यालाई बेवास्ता गरिन्छ । यस्तो प्रणालीमा दमन, थिचोमिचो, अन्याय र अत्याचारले विकराल रुप लिन पुग्दछ । लोकतान्त्रिक कानून बनाइन्छ तर व्यवहारमा हुकुमीतन्त्र अपनाइन्छ । सोझासाझा जनताका लागि कानून तेर्साइन्छ तर उनीहरुका लागि कानून कालो धब्बा बराबर हुन्छ । जब उनीहरुका आज्ञाकारी मजदुर किसानहरुको अधिनायकत्व बढ्दछ अनि समाजमा भएका आम शोषित पीडितसहितको सहभागीतामा त्यहाँ विद्रोह हुनपुग्दछ । जुन विद्रोहले सामन्ती सत्ताको अन्त्य गर्दछ र नयाँ लोकतान्त्रिक व्यवस्थाको जन्म गराउँदछ । जहाँ जनताको जीवनस्तर उकास्न र विभेदको अन्त्य गर्न सम्पूर्ण वर्ग, समूदाय र समाजको प्रतिनिधित्व गर्दै सद्भाव र समझादारीमा राज्यसत्ता सञ्चालन होस् भन्ने सबैको चाहाना हुनपुग्दछ ।
तर यसका लागि स्थापित लोकतन्त्रमा पनि सामन्तवादकै व्यवहार र आचरण अपनाइन्छ, जनतालाई ढाँट्ने र छल्ने काम गरिन्छ, आर्थिक, सामाजिक र सांस्कृतिक विभेदको अन्त्य गरिदैन, शासन सत्तामा रमाउने र सत्तालाई आय आर्जनको थलो बनाइन्छ, श्रमको शोषण गरिन्छ, जनताका कामहरुलाई ढिलासुस्ति र दुःख दिने गरिन्छ, नेतृत्वको जीवनशैली सामन्तीहरुकै जस्तो बनाइन्छ, स्वेच्छाचारिता अपनाइन्छ, नेतृत्ववर्गमा आएको आर्थिक सुधारलाई समाजको आर्थिक परिवर्तन भयो भनिन्छ, जनताले तिरेको कर आफ्नो सुविधामा लगाईन्छ, भ्रष्टाचार र अनियमिततालाई आर्थिक आर्जनको श्रोत बनाईन्छ, सामन्तीकै जस्तो विलासी र सास्टंग दण्डवतको अपेक्षा गरिन्छ, जनताको अभिमतलाई रोजगारीको अवसरका रुपमा परिणत गरिन्छ, सामन्तीहरुको भन्दा पनि अकुत आर्जन गर्ने अवसर लोकतन्त्रलाई बनाईन्छ, नेतृत्वको निहीत स्वार्थ र हितका लागि कानून बनाईन्छ, आफ्नो सुख र आनन्दलाई जनताको आनन्द मानिन्छ, नातावाद, कृपावाद र भनसुनमा आफूलाई ओजस्वी ठानिन्छ भने त्यस्तो आचरण र व्यवहारले लोकतन्त्रलाई धुमिल बनाउँदछ र त्यहाँ लोकतान्त्रिक सामन्तवादको जन्म हुनपुग्दछ । यसैलाई लोकतान्त्रिक सामन्तवाद भनिन्छ । २०४६ सालको आन्दोलनबाट प्राप्त लोकतन्त्रले २०७५ सालको अन्त्यको उत्तरार्धसम्म आइपुग्दा राष्ट्र र जनताले भोगेको र खेपेको प्रहार यही नै हो । यो वास्तविकता हो ।
नातावाद, कृपावाद र झुटले पार्टीगत हित गराउला तर यसले राष्ट्रिय हित कदापि गर्नेछैन । राष्ट्रको बृहत्तर हितका लागि नेतृत्ववर्गमा उच्च सोच र दृण इच्छा शक्ति हुनु आवश्यक छ । विभिन्न बहानाबाजी र झुटका खेतीले लोकतन्त्रमा हुनुपर्ने बृहत अनुशासन र कर्तव्यलाई मारिँदा समेत जनता चुप लाग्नु विडम्बनाको बिषय हो । नेतृत्ववर्गको जीवन शैलीमा आएको परिवर्तनलाई मात्र लोकतन्त्र मान्ने हो वा समाज र वस्तिमा भएको विभेद र शोषणको परिवर्तनलाई लोकतन्त्र मान्ने हो ? नत्र भने नेतृत्ववर्गमा आएको विलासीताले सामन्तवाद गएको हामी कसरी भनिरहेका छौं ? नेतृत्ववर्गमा भएको आर्थिक विकास, अथाह सम्पत्तीको भण्डारण र चिल्ला गाडीका लाबालस्करले साच्चै हाम्रो शासन प्रणाली, समाज र बस्तीबाट सामन्ती गयो या नयाँ रुपमा भित्रीयो ? बुझ्नु पर्ने बेला भएको छ ।
निष्कर्ष–पुँजीको विकास वा पुँजीवादीहरुको सहयोग बिना वास्तविक लोकतन्त्र वा समाजवादको स्थापना असम्भव नै छ । तसर्थ यस्तो पुँजीवादी अवस्था विकृत पुँजीवादी अवस्था नभएर समाजवादी लोकतन्त्र प्राप्तीको प्यूपा अवस्था हो । असल राजनीतिज्ञले मात्र यस्तो अवस्थाको आंकलन गर्नसक्दछ । साथसाथै त्यहाँ मजदुर किसानहरुको हिस्सा पनि ठूलो पंक्तीमा विकसित भइसकेको हुन्छ । यसरी ठूलो पंक्तीमा बृद्धि भएको मजदुर र किसानवर्गको शक्तिबाट पुँजीवादी अधिनायकत्वका केही हाँगाहरु छिमल्ने काम गरिन्छ र पुँजीवादमा रहेको लोकतन्त्र स्वतः समाजवादी लोकतन्त्रमा रुपान्तरण हुनपुग्दछ । यहीँ नै वास्तविक लोकतन्त्र वा समाजवादी लोकतन्त्रको सुरुको विन्दु बन्दछ ।
उदाहरणका लागि जस्तैः एउटा व्यक्तिबाट ४० लाख लगानी गरी कुनै एउटा व्यवसाय संचालन गर्दछ । सुरुमा उसले आफु सहित २० जना मजदुर राख्दछ । मानौ उसको कम्तीमा मासिक आम्दानी दुई लाख राखियो भने २० महिनामा उसले गरेको लगानी प्राप्त गर्दछ । अब राज्यले २१ औं महिनाको शुरुबाट त्यस्तो उद्योग वा व्यवसायलाई २० जनाको सामूहिक अधिकारमा आउने व्यवस्था मिलाउनु पर्दछ । जसले गर्दा लगानीकर्तालाई पनि अन्याय भएन । उद्योग एकल स्वामित्व र वितरण प्रणालीबाट सामूहिक स्वामित्व र वितरण प्रणालीमा रुपान्तरण हुनपुग्दछ । यो अवस्था नै पूँजीवादबाट समाजवादी रुपान्तरणको शुरु विन्दु हो । पुँजीवादको विकासको चरणको अवधि कति हुने त्यो पुँजीपती वर्गको लगानीको आधारमा राज्यले तय गर्नुपर्ने छ ।
यसरी पुँजीपतिवर्ग र श्रमजिवी वर्गमा भएको वर्गीय विभेद पनि अन्त्य हुन्छ । सहज र समान रुपमा उत्पादनको वितरण हुन पुग्दछ । एकल नेतृत्व र निर्णयहरु सामूहिकतामा परिणत हुनपुग्दछन । वास्तविक लोकतन्त्र वा समाजवादी लोकतन्त्रको यो साझा अवधारणा पनि हो ।