काठमाडौं । बारम्बार एकै प्रश्न गरिरहँदा र त्यसै बिषयमा अनविज्ञता प्रकट भइरहँदा झर्को लाग्नु स्वभाविक नै हुन्छ । एकपटक उत्तेजित बनेको भिड अहिले आएर मत्थर बन्दै गयो । न्यायको आभाष कतिको मनमा भयो र कतिले न्यायका लागि लडेका थिए प्रश्न मौन छ । एकोहोरो रुपमा न्यायका नाममा गलफत्ती गरिरहँदा पनि न्यायको आशामा पर्खिरहेका परेलाहरुले ओभानु भएको महसुस नगर्दा रहेछन् । विभिन्न बेलाका घटनाक्रमले देखाइरहेको छ । कञ्चनपुरमा गएको साउन १० गते भएको घटनाले यस्तै नतिजा दिएको छ । न्यायको आशामा लडिरहेको निर्मलाको परिवारले अहिलेसम्म छोरीको हत्यारा फेला पार्न सकेन । राज्यसंयन्त्रको ठूलो शक्तिले समेत हत्याराको सुइँको पाउन सकेको छैन ।
बालिका निर्मला पन्तको हत्यारा त्यति ठूलो गिरोहको होइन भनेर प्रहरीले भनिरहेको छ । पहिले सामुहिक बलात्कार भनिएको घटनाको प्रकृति फेरिएको छ । एकै जनाले बलात्कार गरेको हुनसक्ने प्रहरीको दाबी छ । ‘भेजिनल स्बाव’ मात्रै अपराधि पत्ता लगाउने गतिलो माध्यम नभएको समेत विभिन्न कालखण्डका घटनाक्रमले देखाएको छ । अहिले प्रहरी पुनः फर्केर नयाँ शैलीमा अनुसन्धानमा लागिरहेको छ । एक पटक अपराध स्वीकार गरिसकेकोे मानिसलाई जनबल र डिएनए रिपोर्टले छुट्कारा दिएको भन्दै पुनः बहस शुरु भएको छ । आपराधिक पृष्ठभुमी भएकै मानिसले अपराध स्वीकार गरेको खण्डमा सामान्यतया घटनाको किनार लाग्ने यसअघिको कसरत हो । तर, कुनै डर, धम्की, त्रासले कसैलाई अपराधि बनाउनु गलत हो ।
अब हत्यारा को त ? यो बिषय पेचिलो बन्दै गएको छ । निर्मलाको परिवार एकातिर आक्रान्त छ भने डलरको खेती गरिरहेको आरोप लागेको जथ्था एकातिर छ । निर्मलाको न्यायका लागि एकै साथ सामुहिक आन्दोलनमा हुमिएका मत बाँझिएका छन् । पहिलेका सम्बन्ध टुटेका छन् । आन्दोलनको स्वरुप कतातिर ढाल्ने भन्नेमा सहमति हुन सकेको छैन । एक गरिब परिवार, एक्ली निर्मलाकी आमा दुर्गादेवीमाथिको बज्रपातले पनि जटिल समस्या थपेको छ । आन्दोलनकारीको निर्देशनमा धर्नामा बसेका निर्मलाका बुवा यज्ञराज र दुर्गादेवीको कलहले निर्मलाले पाउने न्याय गुम्ने खतरा देखिएको छ । निर्मलाकी आमाले पाउने राहत रकममा समेत आन्दोलनको गन्ध देखिएको छ । हत्यारा पत्ता लाग्नु त परै जाओस् आन्दोलनलाई सक्रिय बनाएर रोजीरोटी गर्नेहरुको दिनचर्या नै बेहाल बनेको छ ।
गृहमन्त्री रामबहादुर थापाले निर्मलाको हत्यारा पत्ता लाग्नेमा कुनै शंका नरहेको बताउँदै आउनुभएको छ । आन्दोलन र हड्तालले नभइ सरकारलाई हत्यारा पत्ता लगाउनमा सहयोग गर्न उहाँको आग्रह छ । घटना लगत्तै कञ्चनपुर प्रहरीले गरेको भनिएको लापरवाही पनि अहिले आएर बहसको बिषय बन्न पुग्यो । राष्ट्रका विभिन्न अनुसन्धानमा सफलता हासिल गर्दै अगाडि बढेको अंगुर जिसी नेतृत्वको सीआईवीको टीमको मनोबल घटेको छ । तत्कालिन एसपी दिल्लीराज बिष्टलेपनि नियोजित तवरले आफूमाथि प्रहार भएको बताउँदै आउनुभएको छ । त्यतिबेला नगरपालिकाले बढाएको करको बिषयलाई लिएर कञ्चनपुर आन्दोलित थियो । त्यो भिडलाई नियन्त्रण गर्न खोज्दा आफू आँखाको तारो बनेको एसपी बिष्टको दाबी छ । घटनामा आफ्नो संयन्त्रबाट कुनै गलत नभएको उहाँको भनाइ छ । तर, सरकारले बिष्टलगायत प्रहरी टोलीलाई दोषी देखाउँदै निलम्बनपछि बर्खास्त गरेको छ ।
घटनामा प्रहरीको अनुसन्धानलाई ‘फेक’ भन्न सकिने अवस्था छैन । आफ्नो पुरै संयन्त्रले भ्याएसम्म नेपाल प्रहरीको अनुसन्धान सफल नै छ । तर हत्याराको पहिचान कसरी हुन्छ भन्ने बिषय पेचिलो छ । हत्याको स्वीकार गरेका व्यक्ति भन्दै एकपछि अर्को छोप्दै केरकार गर्ने प्रहरीको प्रवृत्तिले जनमानसमा शंका पक्कै उब्जाएको छ । यसको निराकरण निर्मलाको वास्तविक हत्यारा पत्ता लगाउनु नै हो । राजनीतिक रङ्ग दिइयो घटनाक्रमलाई भन्ने आवाज आए । पक्कै पनि पछिल्लो समयका गतिविधि हेर्दा त्यस्तै देखिएको छ । बम दिदीबहिनीहरु निर्मला हत्या घटनामा किन जोडिरहे भन्दा प्रधानमन्त्रीले उनीहरुमाथि देखाएको उदारता पनि हुनसक्छ ।