भरत अधिकारी
काठमाडौं । २०५२ देखि २०६२ सालसम्म भएकोे दशवर्षे सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षका १७ हजार २ सय ४६ जनाले ज्यान गुमाए । हजारौ अंगभंग भए । द्वन्द्वमा बेपत्ता भएकाहरु अझै एकीन हुन सकेको छैन । गृहमन्त्रालयको तथ्यांक अनुसार शान्ति सम्झौता हुनुअघिसम्म द्वन्द्वका कारण मुलुकमा ६० अर्ब रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । द्वन्द्वमा मारिएकाहरुको राहत तथा घाइतेको उपचारमा ७ अर्ब रुपैयाँ खर्च भएको छ ।
सशस्त्र द्वन्द्वको कारण मुलुकले ठूलो संकट व्यहोर्नु पर्यो । त्यसबेला भएको संकटबाट मुलुक अझै पूर्ण रुपमा मुक्त हुन सकेको छैन । समाजमा अहिलेपनि कुनै न कुनै रुपमा द्वन्द्वको पीडा र घाउ चहर्याइरहेको छ ।
मुलुक सशस्त्र द्वन्द्वमै रुमलिएरहेको बेला वासिन्दा लोकतान्त्रिक सत्ताको लागि आन्दोलनमा होमिए । २०६२/०६३ को जनआन्दोलनले मुलुकमा लोकतन्त्र स्थापना गर्यो । मुलुक लोकतन्त्र हुँदै गणतन्त्रमा पुग्यो तर लोकतन्त्र र गणतन्त्रको लागि जीवन होमेकाहरुमध्ये केही त्यही कारण जेलको चिसो छिँडीमा जीवन गुजार्न बाध्य छन् । केही युवा कष्टकर जीवन पार गरी जेलमुक्त भइसकेका छन् । त्यही मध्येका एक हुन्– अरुणकुमार साह । लोकतन्त्र र गणतन्त्रकै लागि संघर्ष गर्दा उनले ३ वर्ष जेल जीवन बिताउनु पर्यो ।
सप्तरीको रुपनी गाउँपालिका–२ का अरुणकुमार साह ‘अनिल’ ९ सय ६७ दिन जेलजीवन बिताएर करिब एक साताअघि मात्रै घर फर्किएका छन् । द्वन्द्वकालमा विद्रोही माओवादी पार्टीमा संलग्न भएर लडाईंको मोर्चामा होमिएका अनिल २०६१ सालमा रामेछापको लाप्चानेमा भएको भीडन्तमा घाइते भए । त्यतिबेला पाखुरामा लागेको इन्सास राईफलको गोली अझै उनको पाखुरामै छ । त्यसपछि कम्पनी कमान्डर छँदा दिक्तेल आक्रमणमा दोस्रोपटक उनी घाइते हुन पुगे । त्यतिबेला युद्धमोर्चामा उपचारका लागि संलग्न स्वास्थ्यकर्मी राजेश विद्रोहीले प्रारम्भिक उपचारपछि भारतसम्म लगेर उनको उपचारमा सहयोग गरेपछि अनिल नेपाल फर्किए र आफ्नो मिसनलाई निरन्तरता दिइरहे ।
२०६२/०६३ को दोस्रो जनआन्दोलनले सफलता प्राप्त गरेको थियो । देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको थियो । मधेशमा पनि स्वायत्तताको आवाज उठिरहेको थियो । मधेसवादी समुदाय आफ्नो अधिकारका लागि सडकमा आएको अवस्था थियो । यसै सन्दर्भमा चितवनमा जनमुक्ति सेनाद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी हुन जाँदै गर्दा २०६३ माघ ५ गते तत्कालीन बटालियन कमान्डर अनिलमाथि सिरहाको लहानमा सांघातिक आक्रमण भयो । अनिल भन्छन्, ‘लहानमा आन्दोलनकारी भेला भएका थिए । गाडी ठप्प पारिएको थियो । मैले चितवनमा हाम्रो कार्यक्रम छ, जान दिनुस् भन्दा पनि उनीहरुले मानेनन् । बरु मलाई ‘मधेसी भएर पनि दलाली गर्ने’ भन्दै टाउकोमा प्रहार गरियो र म त्यहीँ बेहोश भएर ढल्न पुगेँ । केही समयपछि आन्दोलन चर्कियो र त्यसै क्रममा आकस्मिक रुपमा रमेश महतोको गोली लागेर मृत्यु भयो । गोली चलाएको आरोपमा मसँग गएका साथी सियाराम ठाकुरलाई पक्राउ गरियो । मधेश आन्दोलन त्यसै घटनाक्रमपछि चर्कियो ।’
लहानमा निर्घात कुटपिटपछि अनिलको धरानमा उपचार भयो । एक महिनाको उपचारपछि उनलाई सिरहा सदरमुकाम ल्याइयो । तत्कालीन माओवादी जिल्ला संयोजक अजयशंकर नायकको पहलमा उनलाई जमानतमा रिहा गरियो । रमेश महतोको हत्या आरोप लागेका सियारामलाई अढाई वर्षपछि मात्र जेलमुक्त गरियो ।
पार्टीको अन्तर्विरोध, असन्तुष्टि, अविश्वास, मधेश मुद्दाप्रतिको बेवास्ता आदिका कारण असन्तुष्ट भइरहँदा अनिल २०७२ भदौमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा लागे । उनलाई पार्टीको सप्तरी जिल्ला संयोजक बनाइयो । पार्टीका तर्फबाट स्थानीय शान्ति समितिको प्रतिनिधित्व पनि गरे । तर २०७३ जेठ २३ गते षड्यन्त्रमूलक ढंगले जनयुद्धकालीन मुद्दामा उनलाई गिरफ्तार गरियो । २०५९ असार २४ गते स्वावलम्बन बैंक कब्जा गरी १९ हजार लुटेको अभियोगमा उनलाई पक्राउ गरेर भोलिपल्ट नै कारागार चलान गरियो । अनिल भन्छन्, ‘मैले व्यक्तिगत स्वार्थपूर्तिका लागि बैंक कब्जा गरेको थिइनँ, पार्टीले निर्देशन दिएको थियो । तर त्यही अभियोगमा १४ वर्षपछि मलाई फरार अभियुक्त भन्दै जेल हालियो, जबकि त्यसबेला म शान्ति समितिको प्रतिनिधि थिएँ र जिल्ला प्रशासन कार्यालयबाट जीवन निर्वाह भत्ता समेत खाइरहेको थिएँ ।’ त्यस मुद्दामा अनिललाई डेढ महिना कैद, ४९ हजार जरिवाना र जरिवानावापत चार वर्ष कैद थपको सजाय सुनाइयो । उनी जेल बसे ।
स्वावलम्बन बैंक कब्जा गर्दाका बखत परिवारलाई यातना दिइएको विषय सम्झँदै अनिल भन्छन्, ‘बैंक कब्जापश्चात् घरमा मेरा बुवाआमालाई यातना दिइयो । बुवालाई १ महिना र आमालाई डेढ महिना हिरासतमा राखियो । त्यसबेला मानसिक सन्तुलन गुमेदेखि हालसम्म आमालाई सञ्चो भएको छैन ।’ ९ सय ६७ दिन जेलमा बस्दा आफू र आफ्नो घरपरिवारको स्थिति निकै नाजुक बनेको भन्दै अनिलले आफ्ना दुई छोराको भविष्य बिग्रिएको बताए । गुल्मीकी कमला गौतमसँग उनको विवाह भएको थियो ।
उनी भन्छन्, ‘जेलमा अझै पनि ४० देखि ४५ प्रतिशत मान्छेहरु बिनाकसुर सजाय भोगिरहेको अवस्था छ । जेल पर्नुपर्ने कतिपय मान्छेहरु बाहिर छन् । अर्बाैंको ढुकुटी रित्याउँदै बसेको सत्य निरुपण तथा मेलमिलाप आयोग के गर्दैछ ? द्वन्द्वकालीन मुद्दामा जेलसजाय भोगिरहेका अन्यलाई पनि जेलमुक्त गरिनुपर्दछ । जसको त्यागमा अहिले पार्टी र सरकार चलिरहेको छ, उनीहरुलाई नै जेलमा हाल्ने, यो कस्तो न्याय ?’
अनिल जेल परेपछि उनलाई भेट्न पटक–पटक बाबुराम भट्टराई, हिसिला यमीलगायत नयाँ शक्ति पार्टीका नेताहरुसहित माओवादी पार्टीका नेताहरु पनि जेलमा पुग्ने गरेका थिए । उनलाई छुटाउन सबैले आश्वासन दिने गरेको भए पनि उनी सहजै छुट्न सकेनन् । तर २०७५ भदौदेखि देवानी संहिता लागू भएपछि त्यसअनुसार पुनरावेदन अदालतमा दिएको निवेदनअनुसार भएको फैसलाले उनलाई कैदमुक्त गरायो । २०७५ माघ १५ गते अनिल जेलबाट रिहा भए ।
उनी जेलमै रहेका बेला देवेन्द्र पौडेल, रामचन्द्र झालगायतका नेताहरु नयाँशक्ति छोडेर माओवादीमा प्रवेश गरे । प्रवेशीको सूचीमा अनिलको पनि नाम राखिएको उनी बताउँछन् । त्यसअनुसार हाल नेकपाको प्रदेश कमिटिमा उनको नाम छ तर हालका लागि आफू स्वतन्त्र हुन चाहेको र केही समयमै राजनीतिक अभियानमा सहभागी हुने उनले बताए ।