शम्भु दाहालझापा । इँटा उद्योगको प्रदुषणका कारण जनजीवन कष्टकर बनेको भन्दैं झापाको मेचीनगर नगरपालिका–१४ का स्थानीय बासी आन्दोलित भएका छन् । स्थानीय बासी र बीबीसी इँटा उद्योग सञ्चालकबीच भएको सम्झौता कार्यान्वयन नगरेको भन्दै गोपीराज मैनालीको अध्यक्षतामा संघर्ष समिति गठन गरेर स्थानीय आन्दोलित भएका हुन् ।
शुरुमा उद्योग सञ्चालनका क्रममा स्थानीयबासी, तात्कालिन दुहागढी गाविस र उद्योग सञ्चालकबीच १० बुँदे सम्झौता भएको थियो । सम्झौताको १ नम्बर बुँदामै स्थानीयबासी, समाजसेवी लगायतले ईंटा उद्योगबाट वातावरण प्रदुषण भएको ठहर गरेमा जुनसुकै बेला पनि उद्योग बन्दका लागि कारवाही अघि बढाउन सकिने उल्लेख छ । सम्झौताको पहिलो बुँदामै यस्तो लेखिएको र यो बुँदामा तीनैपक्ष सहमत भएको तथा कार्यान्वयन नभएका कारण उद्योग बन्द गर्नुको विकल्प नरहेको संघर्ष समितिका अध्यक्ष गोपीराज मैनालीकोले बताउनुभयो ।
‘१० वर्ष अघि स्थानीयबासी, तात्कालिन दुहागढी गाविस र उद्योग सञ्चालकबीच सम्झौता र सहमतीमा इँटाभट्टा सञ्चालनमा आएको थियो’ संघर्ष समितिका अध्यक्ष मैनालीले भने । ‘तर, उद्योग सञ्चालकले तीनै पक्षबीच भएको सम्झौता सहमति कहिल्यै कार्यान्वयन गरेनन् । जसका कारण वरिपरिका जग्गा जमिन मरुभूमि भए, केही पनि उतपादन नहुने भयो जग्गा जमिन बाँझै भए अनि इँटाभटट बन्द गर्न माग गदैं आन्दोलित हुन बाध्य भयौं । ’
उद्योग सञ्चालकले सञ्चालन गर्नुपूर्व यहाँका स्थानीयसँग गरेको कुनै पनि सम्झौता पूरा नगरेका कारण बाध्य भएर संघर्षमा जानुपरेको स्थानीय बाल सुवोधिनी आधारभूत विद्यालयका प्रधानाध्यापक विश्व थापा बताउँछन् । उहाँका अनुसार एक सूत्रीय माग राखेर स्थानीयबासी आन्दोलित भएका छन् । आफ्ना माग पूरा नभएसम्म कुनै हालतमा आन्दोलनबाट पछि नहट्ने उहाँको भनाइ छ । तीन पक्षबीच भएको सहमतिमा उद्योगमा कार्यरत मजदूरहरुलाई शौचालय र खानेपानीको व्यवस्था गरी सरसफाइमा ध्यान दिनुपर्ने उल्लेख भए पनि व्यवस्थित शौचालय नहुँदा भट्टामा काम गर्ने मजदूरहरुले खुला ठाउँमा दिशा पिसाव गर्ने गरेका कारण वातावरण प्रदुषण भएको थापाको भनाइ छ ।
प्रदुषणका कारण श्वासप्रश्वास, मुटु क्यानसरजस्ता गम्भीर रोगबाट यस अवधिमा आधा दर्जन व्यक्तिहरुको ज्यान गएको छ भने सयौं व्यक्तिहरु यस्तो रोगबाट ग्रसित भएका छन् । तीन पक्षबीच भएको सम्झौतामा कम्तिमा वर्षमा एकपटक साविक दुहागढी ८ का स्थानीय बासीको निःशुल्क रुपमा स्वास्थ्य परीक्षण गर्नुपर्ने बुँदा समेटिएको छ । सम्बन्धित पक्षले कार्यान्वयनमा सक्रियता नदेखाएको र उसको लापरवाहीले माथिको समस्या आएको रेडक्रसकर्मी समेत रहेका प्रधानाध्यापक थापाले बताउनुभयो । ‘सम्झौतामा चाहिँ लेखियो’ थापाले भने ‘अहिलेसम्म स्थानीयले यो सुविधा पाएनन् ।’
अहिले उद्योग सञ्चालक को हुन् ? स्थानीयबासी बेखवर रहेको थापा बताउँछन् । २०६७ साल भदौ २१ गते वातावरण उपसमिति दुहागढीले आयोजना गरेको छलफलमा उद्योग प्रतिनिधिका रुपमा छिरिङ लामा र होमनाथ गौतमले हस्ताक्षर गरेका छन् । यसअघि भएको सम्झौता २०६६ साल बैशाख २५ गते भएको आगोलागीका कारण कागजात नष्ट भएको र यही बैठकले त्यही सम्झौता मान्य हुने नवीकरण गरेको थियो । यदि समयमै उद्योग सञ्चालक र स्थानीयबासीबीचको विवाद किनारा नलगाउने हो भने भविष्यमा यसले गम्भीर खतरा निम्त्याउन सक्ने स्थानीयको भनाई छ ।