झापा । तोपगाछीस्थित रतुवामाईमा ३ हजार हेक्टरमा फलफूल खेती ‘एग्रो फरेष्ट’ अवधारणा अघि सारिएको छ । वृक्षरोपण आयोजनाअन्तर्गतको अवधारणा अघि सारिएको जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिनुभयो ।
रतुवामाई आयोजनालाई प्रदेश १ सरकार मातहतमा रहने गरी नयाँ योजना निर्माण भइरहेको उहाँले बताउनुभयो । ‘आयोजनाअन्तर्गतको जग्गामा एग्रो फरेष्ट निर्माणका लागि नयाँ प्रक्रिया शुरु गरिएको छ’, उहाँले भन्नुभयो, ‘आयोजनालाई प्रदेश सरकारमातहत ल्याउनुपर्छ, त्यसका लागि आवश्यक काम भइरहेको छ ।’
प्रदेश सरकारले आर्थिक वर्ष २०७५, ७६ को नीति तथा कार्यक्रममै एग्रो फरेष्ट निर्माण गर्ने योजनाका साथ बजेटसमेत विनियोजन गरेको जिसस प्रमुख पोर्तेलले बताउनुभयो । उहाँका आयोजनाले वार्षिक ४ करोड आम्दानी गर्दै आएको र १ करोड राजश्व बुझाउँदै आएको छ ।
एग्रो फरेष्टको अवधारणाअनुसार आँप, लिची, कटहर, कागतीलगायतका फलफूलका बिरुवा लगाइनेछ । एग्रो फरेष्टबाट अहिलेको तुलनामा आम्दानी वृद्धि हुनुका साथै फलफूलमा आत्मनिर्भर बन्न सकिने प्रमुख पोर्तेलले बताउनुभयो ।
वृक्षरोपण गरेर उत्पादित काठ दाउरा आपूर्ति गर्ने उद्देश्यले २०३३ सालमा आयोजना स्थापना भएको हो । आयोजनाको क्षेत्रफल २ हजार ९ सय ७२ हेक्टर छ । आयोजना क्षेत्रमा प्राकृतिक सालसँगै टिक, मसला, कदम लगायत जातका रुख, बिरुवा छन् ।