३६ वर्षअघि कक्षा ९ मा पढथेँ । सहपाठी बिमललाई बाटो हिँड्दै गर्दा उनीभन्दा कम उमेरका एक भाइले चिठ्ठी थमाए । बिमल दिनैभर तनावमा थिए । चिठ्ठी कहाँ लुकाउँ र कसरी लुकाउँ भन्ने चिन्ता मुख्य थियो । दीपावलीको दिन थियो । साँझ जताततै झलमल दीयो बलिरहेका थिए । बिमलले बोलाए । दुई जना एउटा दीयो बोकेर बस्तीबाट टाढा पुग्यौँ । पेन्टको भित्री गोजीमा लुकाइएको प्रेम पत्र झिक्यो बिमलले । प्रेम पत्र पढ्यौँ । पछि प्रेम पत्र पठाउने कल्पनासँग बुझ्दा एक महिना अघिदेखि लेखेको चिठ्ठी गोप्य तरिकाले पठाउने माध्यम नपाएर उनले झन सास्ती खेप्नु परेको सुनाइन् ।
खैर, खुन, खाँसी, खुशी, वैर, प्रित मद्यपानलाख छुपाओ ना छुपे जानत सकल जहान
पान, हत्या, खोकीे, खुशी, शत्रुता, प्रेम र मादक पदार्थ सेवनका लक्षण लुकाउन सकिँदैन । जति नै लुकाए पनि दुनियाँले थाहा पाइहाल्छन् । अकबर राजाका नवरत्नमध्येका एक कवि रहिमनको यो पंक्ति बिमलका हकमा पनि लागू भयो । बिमल र कल्पनाको प्रेम प्रस्ताव र स्वीकारोक्ति अभिभावकले थाहा पाए । धेरै हप्कीदप्की खानु पर्यो ।
प्रेमपत्रमा एकले अर्कोलाई मुटु झिकेर कसरी पठाउँथे रु प्रेमपत्र लेखनको त्यो समयको कला अचेल लुप्त भयो । प्रेमपत्रको जवाफ कुर्दाको व्यग्रता र छटपटिको रोमाञ्च पनि गुमनाम भयो । एक अर्कालाई प्रत्यक्ष भेट्ने स्थान, समय र संयोग जुराउन कम कठिन हुन्थेन । आत्मिक अनुभूतिको भट्टीमा प्रेमाग्नि प्रज्वलित भएपछि एकअर्काप्रतिको समर्पणभाव शिलापत्र झैँ आत्मामा कुदिन्थ्यो । एक अर्काप्रति उत्सर्गको तत्परता हुन्थ्यो । प्रेम प्रसङ्गमा एक प्रकारको अनुभूतिको निजत्व हुन्थ्यो ।
मीरा र कबीरलाई पढ्दा प्रेम दर्शनको विषय बुझिन्छ । तर नौजवान मष्तिष्कले प्रेमलाई प्रदर्शनको विषय बनायो । प्रेम दर्शनको पूर्वीय धारामा संयोगान्त प्रेमको परिकल्पना गरिएको छ । शरीर नश्वर छ । जिन्दगी एउटा विन्दुमा पुगेर इतिश्री हुन्छ नै । तर पनि कालगतिले छुट्याउने बाहेक प्रेम वसन्ती रङ्ग बाँचुञ्जेल फिका नहोस् भन्ने चाहना सबैमा हुन्छ । न्यूनतम सप्तजन्मसम्म साथ रहने अभिप्षा राखिन्छ । वियोगान्त परिवेश बर्जित र निषिध छ । एक वचनवद्धता पूरा गर्न सारा जीवन प्रतीक्षामा बिताउने अनुशिक्षण छ । त्यसकारण प्रेम मुमुक्षाको प्यास बन्थ्यो । समाजमा विचार र दर्शनको प्रधानता थियो । त्यसकारण निर्माण हुन्थ्यो ‘पाल्पाको रानीमहल ।’ पारपाचुके विरलै सुनिन्थ्यो, अपवाद नै हुन्थ्यो, आठौँ आश्चर्य झैँ ।
मीरा र कबीरलाई पढ्दा प्रेम दर्शनको विषय बुझिन्छ , तर नौजवान मष्तिष्कले प्रेमलाई प्रदर्शनको विषय बनायो
पूर्वीय चिन्तक महात्मा गान्धीले भन्नुभयो, ‘समाजलाई रुपान्तर गर्ने विधा विचार हो । प्रविधि त साधन मात्र हुन् । साध्य होइन ।’ नयाँ दौड शुरु भएको छ । समाजमा विचार र दर्शनको प्रधानता सकियो । समाजमाथि प्रविधि हावी भयो । प्रविधिले रुपान्तरित युवापुस्तामा त्वरित उग्र रुझान भरियो । आतुरता बढ्यो । प्रतीक्षा सकियो । आजको पुस्तासँग हातहातमा मोबाइल छ । त्यसमा थपियो इन्टरनेट । प्रस्ताव राख्न चाहने युवा वा युवतीले निमेषमै भावना अर्कोलाई पठाउन सक्ने । जवाफ पनि निमेषमै पाउने । पहिलेजस्तो पत्रको जवाफ कहिले आउला भनेर निर्निमेष आँखा ओछ्याएर प्रतीक्षा गर्नु नपर्ने ।
शब्द पनि लेख्नु नपर्ने, बनिबनाउ इमोजी र स्टिकर छानेर छोइदिए पुग्ने । प्रविधिको सरलतासँगै प्रेम सम्बन्ध गाँसिने र टुट्ने प्रक्रिया नदीको छालजस्तै भयो । कुनै पनि बेला आउन सक्ने, टुट्न सक्ने । पश्चिमी समाजको प्रभावले प्रेम चुरोट र चियाको क्षणिक लत जस्तै भयो । भावनात्मक एकता मर्दै गयो । बासनायुक्त बन्यो । प्रेम दर्शनको विषय रहेन, बरु प्रदर्शनीको होर्डिङ बोर्ड पो बन्यो । त्यसकारण रवि लामिछानेले इशालाई भने, ‘अहिलेसम्मको साथका लागि धन्यवाद ।’ ओशो भन्छन्, घरहरु भत्किँदै छ, महलहरु ठडिँदै छन् । ५० वर्षपछि जन्मिने पुस्ताले त पारपाचुके नभएको जोडी भेट्दा अपवाद मान्लान् भन्ने अनुमान हुन थालिसक्यो ।