पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई गृहजिल्ला पर्वतमा नागरिक अभिनन्दन गरिएको छ ।
गण्डकी प्रदेशबाटै राज्यको विशिष्ट श्रेणीमा पुग्न सफल हुनुभएको भन्दै सम्मानस्वरुप उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । पर्वत सदरमुकाम कुश्माबजारमा आइतबारदेखि शुरु भएको गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको उद्घाटनका अवसरमा उहाँलाई सम्मानपत्र, दोसल्ला, फूलमाला र खादा लगाएर आयोजक तथा महोत्सवमा सहभागी अतिथि र दर्शकले अभिनन्दन गरेका हुन् ।
कार्यक्रममा सहभागी जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभाका सदस्य तथा मन्त्री, सरकारका सचिव र दर्शकले फूलमाला लगाएर अभिनन्दन गरेका थिए । उनीहरुले पर्वत जिल्लाकै इतिहासमा राज्यको सबैभन्दा ठूलो तहमा पुग्न सफल हुनुभएको भन्दै जिल्लाको विकास निर्माणले अझै फड्को मार्ने विश्वाससमेत व्यक्त गरेका छन् ।
सो अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले पञ्चायतविरुद्धको आन्दोलनमा पर्वतका प्रत्येक गाउँवासीले माया गरेको, आश्रय दिएको र आफूलाई बचाएका कारण नै आफू यो स्थानमा पुग्न सकेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै उहाँले लामो समय जेल जीवनसमेत बिताएको स्मरण पनि गर्नुभयो ।
“हुन त म अहिले स्रोतसाधन भएको निकायमा छैन, तर पनि बोली बिक्ने स्थानमा छु, मेरो प्राथमिकतामा मुलुकका ७७ वटै जिल्ला पर्छन् तर आफ्नो जन्मभूमिको माया छुट्टै हुँदोरहेछ”, उहाँले भन्नुभयो । उहाँले संयोगले आफ्नो कार्यकाल पनि छ वर्षको भएकाले कार्यकालभरि पर्वतवासीका आशा र अपेक्षा पूरा गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।