हिमलाल पराजुली
स्याङ्जा । वालिङमा माघ १७ देखि जारी सातौँ वालिङ महोत्सव २०७५ एवं गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेलामा दर्शकको आकर्षण झन् बढ्दै गएको छ । बिहीबार समापन हुन लागेको महोत्सवमा मेलाका विभिन्न आकर्षणले गर्दा दर्शकको सहभागिता निकै बढेको छ ।
मेलामा आँधिखोला थुनेर निर्माण गरिएको कृत्रिम तालमा मेला भर्न आउने दर्शकले डुंगा सयर गरेर भरपुर आनन्द लिएका छन् भने अर्को आकर्षणकाे रुपमा रहेको छ, कृत्रिम चिडियाखाना । चिडियाखानाभित्र विभिन्न प्रकारका जनावरको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । यसभित्र हात्ती, बाघ, भालु, गैँडा लगायतका जंगली जनावरका साथै चराचुरुङगीको आवाजले दर्शकको ध्यान तानेको छ ।
महोत्सवमा दर्शकले आआफ्नो रुचि अनुसारको मनोरञ्जन लिइरहेका छन् । मेला भर्न आउनेहरु कोही विभिन्न खेल खेल्दै रमाइलो गरिरहेका छन् भने कोही आफुलाई चाहिने सरसामान किनमेलमा व्यस्त देखिन्छन् । मेलामा किचेनका सामान, लत्ताकपडा, विभिन्न कृषि औजार आदि वस्तुको किनमेल भइरहेको छ । कृषकले उत्पादन गरेका फलफूल र विभिन्न प्रकारका कृषि सामग्री प्रदर्शनीमा राखिएका छन् ।
राष्ट्रिय देखि स्थानीय कलाकारले आआफ्नो प्रस्तुतिमार्फत् दर्शकको ध्यान तानिरहेका छन् भने विद्यालयदेखि क्याम्पससम्मका विद्यार्थीहरुले नृत्यसहित आआफ्नो विद्यालयको शैक्षिक प्रदर्शनी गरेका छन् । मेलामा मुख्य आकर्षणको रुपमा रहेको घुमाउरो घरमा सेल्फी लिनेको पनि कमी छैन । घुमाउरो घरमा मुख्यतया युवायुवतीहरु सेल्फीमा रमाइरहेका छन् ।
वालिङ उद्योग वाणिज्य संघका महासचिव केशरबहादुर खाँणले महोत्सवको १३ दिनसम्म आइपुग्दा १३ करोडको कारोबार भएको र ३ लाख दर्शकले अवलोकन गरेको बताउनु भयो । माघ १७ देखि शुरु भएको महोत्सव मौसममा आएको परिवर्तनसँगै तीन दिन लम्बिएर फागुन २ गते समापन हुँदैछ । प्रत्येक दुई वर्षको अन्तरालमा वालिङ उद्योग वाणिज्य संघले आयोजना गर्दै आएकोमा यस पटकको सातौं महोत्सव भने वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा गरिएको हो ।