अस्मिता रिजालकाठमाडौं । आधुनिक मानवजगत्मा सुखको परिभाषा बदलिँदै छ । सामान्य जीवन उतिसारो रुचाउँदैनौँ हामी । तर, समाजमा यस्तो पात्र पनि छन्, जो सेलिब्रेटी जीवनबाट सामान्य जीवनमा फर्किएर सुखको बाटो खनिरहेका छन् ।
शंखमूलबाट तीनकुने जानो बागमती करिडोरको बायाँ किनारा । थोरै अगाडि बढेपछि बाटैमा भेटिन्छन् ‘चियावाला ।’ केही परम्परागतजस्ता कलायुक्त देखिने चियाघरको भित्तामा राखिएको एउटा तस्बिरमा लेखिएको छः ‘देयर इज नो सच थिङ एज सिम्पल, सिम्पल इज हार्ड ।’ अर्थात्, ‘साधारण बन्न गाह्रो छ ।’ वास्तवमै अमेरिकी फिल्म निर्माता मार्टिन चाल्र्स स्कोर्सले भनेजस्तै साधारण अनि सामान्य जीवन बिताउन कहाँ सजिलो छ र ? त्यसमा पनि आधुनिक समाजमा हुर्किएको सुखसयल भोगेको महत्वाकांक्षी मानिसका लागि । न हामी चाहन्छौँ नै साधारण जीवन बिताउन । तर कुनै समय फिल्म क्षेत्रमा लामो समय निर्देशकका रुपमा परिचय बनाएका स्थापित गणेशदेव पाण्डेका लागि यतिखेर सामान्य चियावालाको भूमिका जीवन जिउने सन्तुष्टीको बलियो आधार बनेको छ ।
खोलाछेउको समान्य चियापसलमा उनी आफैँ चिया बनाउँछन्, चियाका पारखीलाई सर्भ गर्छन् अनि सरसफाइमा पनि आफ्नै परिश्रम खर्चन्छन् । पाण्डेको पसलमा पाइने ६० थरीका चियामा नेपाली फूलदेखि जडिबुटीसम्मका स्वाद पाइन्छ । नेपालमै उत्पादन हुने चियाका प्रकारहरु पाक्छन् चियावालामा, नाम पनि नेपाली संस्कृतिसँगको सामिप्यता झल्काउने अनि चियाका लागि प्रयोग हुने ग्लास पनि नेपाली शैलीकै । त्यहाँ पुग्ने ग्राहकले पाउने फरकपना ।
भारतीय र नेपाली फिल्म क्षेत्रमा लामो समय काम गर्दा व्यक्तिगत अनि सामाजिक उचाइ कम थिएन गणेशको । व्यावसायिक रुपमा चिया बेचेर गुजारा गर्नुपर्ने बाध्यता पनि थिएन । तर, समाजका लागि प्रेरणापुञ्ज बन्ने अभिप्रायले बनायो चियावाला ।
कुनै समय फिल्म क्षेत्रलाई सर्वश्व मान्ने पाण्डे ‘चियावाला’ पेशामा पनि उत्तिकै रत्तिएका छन् र सम्भावना देख्छन् । घुलेका छन् यसैमा जसरी तातो चियामा फिका चियाको रंग घुल्दै गाढा हुन्छ, चिया गुलियो हुँदा चिनी त पग्लिसकेको हुन्छ । नेपाली चियाको रंग दुनियाँसामु गाढा बनाएर फैलाउने इच्छा छ गणेशको ।
पेशा बाध्यता ठान्ने अनि समीपमा भएको सुख नदेखी सन्तुष्टी खोजीमा कस्तुरीझैँ भौँतारिने महत्वाकांक्षी मानव समुदायका लागि गणेशको कार्य अनुकरणीय छ । जहाँ मानिस सन्तुष्ट रहन्छ, त्यहीँ उसले प्रगतिको भाका हालेर गीत गाउँछ, पखेटा हालेर उडान भर्छ र दुनियाँलाई पछि लाग्ने बनाउँछ । गणेश एउटा उदारहण हुन् ।
https://www.youtube.com/watch?v=XMjWL4x_sf4