चितवन । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहमा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ । बाह्य पर्यटकको आवागमन हुन नसक्दा ‘प्रणय दिवश’को दिनपनि अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन् ।
चितवनकै स्थानीय पर्यटकीय गन्तव्यको प्रवद्र्धन हुन थालेपछि सौराहा रोजाइमा पर्न छाडेको छ । सौराहामा यस महीनामा विदेशी पर्यटक नगन्य मात्रामा भेटिएका छन् । स्वदेशी पर्यटक कार्यक्रममा सहभागिता जनाउन मात्रै आउने गरेको पाइन्छ । विगतमा ‘भ्यालेण्टाइन डे’ अर्थात प्रणय दिवसमा निकै खचाखच हुने सौराहा यसपालि भने शून्य प्राय भेटियो । युगल जोडी, परिवार र साथीभाइ मिलेर सौराहामा प्रणय दिवस मनाईरहेको लोभलाग्दा देखिएनन् ।
पर्यटकलाई आकर्षित गर्न भ्यालेण्टाइन डे को अवसर पारी रेष्टुरेण्ट एण्ड बार एशोसिएसन सौराहा (रेवान) ले खाना महोत्सव आयोजना गर्दै आएको छ । सौराहामा आयोजित खाना महोत्सवका संयोजक धु्रर्व गिरीले ‘भ्यालेन्टाइन डे’मा आयोजित सांस्कृतिक कार्यक्रम र खाना महोत्सवमा रमाउन आन्तरिक पर्यटक आए पनि बास बस्न आउने पर्यटक कम रहेको बताउनुभयो । ‘पर्यटक ल्याउन आयोजित कार्यक्रम पनि फलदायी हुन सकेनन्’, उहाँले भन्नुभयो, ‘दिनभरि खचाखच हुन्छ, साँझ परेपछि सुनसानजस्तै बन्छ ।’ सौराहा प्रणय दिवसलाई लक्षित गरी बेहुली जसरी सजाईएको सौराहमा प्रेमपत्र लेखन, भलिबल, पर्यटक दौड, बेलुन उडाउनेलगायतका प्रतियोगिता आयोजना गरिए । तर पनि पर्यटको माहोल भने देखिएन ।
क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले पर्यटकको चाप बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नभयो, ‘होटल बुकिङ्ग त्यति साह्रो छैन, बेलुकासम्म चहलपहल बढ्छ कि भन्ने आशा छ, फुड फेष्टिभलले केही सहयोग गर्छ भन्ने सोच हो तर बाह्य पर्यटक आकर्षित हुन सकेनन् ।’ उहाँले यो मौसम विदेशी पर्यटक नेपाल आउने ‘अफसिजन’ भएकाले त्यसको प्रभाव परेको हुन सक्ने बताउनुभयो । सौराहामा केही वर्षयता हात्ती महोत्सव, खाद्य महोत्सवलगायतका कार्यक्रम आयोजना गर्दै पर्यटक आवागमन बृद्धि गर्ने प्रयास भइरहेका छन् । अहिलेको भ्यालेन्टाइन डे बिदामा नपर्नु र अन्य ठाउँमा हिउँ परेकाले पनि आन्तरिक पर्यटक चारैतिर बाँडिएको हुन सक्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।
पर्यटनविद् विश्व सुवेदीका अनुसार पहिले पर्यटक सौराहा, मेघौली, पटिहानी र देवघाट पुग्ने गरे पनि अहिले त्यस्तो अवस्था छैन । उहाँले भन्नुभयो, ‘इको टुरिजम मन पराउनेहरु आजभोलि होमस्टेमा जान मन पराउँछन, चितवन भित्रिने पर्यटकमध्ये ३८ प्रतिशत पर्यटक दोहोरिएर सौराहा जाँदैनन् ।’ उहाँका अनुसार आन्तरिक पर्यटकसमेत चितवनका अन्य गन्तव्यतर्फ जाने क्रम बढेको छ । चितवनमा ५५ नयाँ पर्यटकीय गन्तव्य पहिचान भएर प्रवद्र्धनका कार्यक्रम शुरु गरिएका छन् । चितवनको सौराहामा ६० रेष्टुरेण्ट र ११० होटल सञ्चालनमा छन् । पर्यटकको आवागमन घट्दै जादा व्यावसायीहरु चिन्तित छन् ।