२२ औँ वसन्त पार गरेपछि पहिलोपटक पुख्र्यौली थलो बझाङ जाने अवसर जु¥यो । बाबा बयान गर्नुहुन्थ्यो र म सुन्थेँ । बाबा भन्नुहुन्थ्यो, ‘जन्मथलो बझाङ निकै सुन्दर छ ।’ सुनेजस्तै बझाङ सुन्दर नै रहेछ । धान फल्ने जिउला, मस्टो देउताप्रतिको आस्था, जाल्पा र सुर्मादेवी मन्दिर, साइपाल हिमाल, खप्तड पाटन, सेती नदीको सुसाई र जय पृथ्वीबहादुर सिंहको सुकीर्ति देख्दा सुन्दा भन्दा रमाइलो र चित्ताकर्षक धरोहर ठानियो ।
सदरमुकाम चैनपुरमै वादी महिलाको दारुण जीवनशैली देखेर भने मन पोल्यो । जीविकाका लागि शरीर बेच्नु पर्ने, पेशेवर यौनकर्मीका रुपमा समाजले चिन्ने र पितृत्वको ठेगान नलागेकाले वादीका सन्तानले नागरिकता नपाएको पीडादायी अवस्था नजिकबाट नियाल्ने मौका पाएँ । सुदूरपश्चिमको विकट हिमाली जिल्ला बझाङ प्रकृतिको सुन्दर सम्पदाले सजिसजाउ र झकिझकाउ त छ । तर सामाजिक कुरीति, अन्धविश्वास र अमानवीय प्रथाका कारण कुरुप देखिन्छ । अमानवीय जातीय विभेद (छोइछिटो) र छाउपडी प्रथा दलित र महिलाका लागि सामाजिक अपमान र यातनाको विषय हो ।
बझाङ पुगेको रात छुवाछुत र छाउपडी प्रथाको उत्पीडन देखेर निदाउन सकिनँ । गाउँको पानी पँधेरो छुन दलितलाई बर्जित छ । प्रख्यात सुर्मादेवी, मस्टो देउता र जाल्पादेवीका मन्दिरमा अझै पनि दलितले पूजा गर्न पाउँदा रहेनछन् । होटेलमा चिया खान दलितले छुट्टै गिलास प्रयोग गर्नु पर्ने र गिलास आफैँले माझ्नु पर्ने बाध्यता रहेछ । नेपाली सामाजिक संरचनामा लैङ्गिक असमानता छ । छोरी भएर जन्मिनु विभेदमा पर्नु हो । यति कुरा त बोध थियो । तर छोरी भएर बझाङमा जन्मिनु झन पीडाको विषय रहेछ । बझाङमा दलितकी छोरी भएर जन्मिँदा त झन् सास्ती खेप्नु पर्ने रहेछ ।
छोरीलाई हेर्ने बझाङी समाजको दृष्टिकोण अझै पुरानै रहेछ । एकै कोखबाट जन्मेका छोरा र छोरीमा विभेद देख्दा सपनाजस्तै लाग्यो । रजश्वला भएकी महिलाले त केही छुनै नपाउने । बाहुनका घरमा छोरीले पकाएको भान्सा पनि बिटुलो हुने । रजश्वला हुँदा महिलाले आफ्नै घरभित्र बास नपाउने । गोठ वा घरभन्दा टाढा बनाइएको छाउपडीमा रात बिताउनु पर्ने बाध्यता । एकान्त, सुनसान र रातको समय । दुव्र्यवहार र बलात्कारको त्रास । कतिपय महिलाले त्यस्ता पीडा खेपिसकेको कथा पनि सुनियो । महिलामाथि पाशविक व्यवहार हुने गरेको छ । अपमान र हिंसाजन्य पीडा खपिनसक्नु छ । र, बौद्धिक व्यक्तित्वले पनि सामाजिक चेतना कमी भन्दै प्रथा विस्तारै हट्ने वकालतमा अल्छी गरिरहेको देखियो ।
छाउपडी प्रथा महिलाका हकमा अमानवीय नै छ । तर विरोध गर्नेभन्दा सांस्कृतिक परम्परा भनेर संरक्षणको बहुमत छ । रजश्वला हुँदा घरमा बस्दा देवता रिसाउने, परिवारजनलाई विभिन्न्न रोग लाग्ने, अपाङ्ग हुने र कूल वंश नै नाससम्म हुने अन्धविश्वासमा समाज जकडिएको छ । बाबाको पुख्र्यौली थलो हेर्न बझाङ पुग्दा छाउघरमा रात बिताएँ । जति नै प्रतिकार गरे पनि घरपरिवार र समाजलाई बुझाउन सकिनँ । मेरो विद्रोहले समाजका अगाडि घुँडा टेक्यो । बझाङमा धामी सामाजिक रुपमा अरु मानव भन्दा बलशाली रहेछन् । धामीले समाजमा एक प्रकारको सत्ता जमाइरहेका छन् । रोग लाग्दा धामीझाँक्रीको शरणमा जाने र रोगीको अकालमा मृत्यु हुने घटना सामान्य देखिन्छ समाजमा । छाउपडी प्रथालाई पनि धामीझाँक्रीले नै संरक्षण गरेकामा दुई मत रहेन ।
देखिएका बुद्धिजीबीहरु भाषणमा मात्र चेतना बाँड्दारहेछन् । तर आफ्नो घरमा महिला रजश्वला हुँदा छाउगोठमै बस्न बाध्य बनाउनुमै पुण्य मान्दा रहेछन् । बाहिर छुवाछुत गर्न हुन्न भने पनि घरभित्र चैँ दलितलाई छोइछिटो मात्र होइन, छेउमै पर्न दिन हुन्न भनेर विभेद गर्दा रहेछन् । जनताबाट चुनिएका प्रजातान्त्रिक र क्रान्तिकारी जनप्रतिनिधिको पनि उस्तै व्यवहार देखियो । बझाङ प्राकृतिक रुपमा सुन्दर छ तर सामाजिक रुपमा कयौँ शताब्दी पछाडिको कुरुप आवरणमा गुज्रिरहेको छ । सत्य यही हो, सुन्दरताको बयानमा रमाउँदैमा विकृत पक्ष छोप्न सकिएन यसपटक बाबाको गाउँ घुमेर फर्किँदा ।